+
+

‘एनसेल फाउन्डेसन’ घोषणा, सामाजिक काममा २० करोड खर्चने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते १८:२९

१ असोज, काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का परियोजना सञ्चालन गर्न ‘एनसेल फाउन्डेसन’ घोषणा गरेको छ ।

नेपाल र नेपालीलाई दूरसञ्चार सेवा मार्फत जोड्न थालेको एनसेलले मंगलबार नेपाल यात्राको १९औं वार्षिकोत्सव मनाउँदै उक्त फाउन्डेसन घोषणा गरेको हो ।

एनसेल फाउन्डेसनले आगामी पाँच वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ बराबर सामाजिक काममा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

‘१९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान गर्दै स्वास्थ्य, शिक्षा, वातावरण लगायत विभिन्न क्षेत्रमा सामाजिक काम गरी २ अर्ब (१ करोड ५० लाख अमेरिकी डलर) भन्दा बढीको योगदान गरेको छ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले मंगलबार आयोजित विशेष कार्यक्रममा भने, ‘हाम्रा सबै राम्रा कामलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्त्वपूर्ण छ भन्नेमा विश्वास गरेर एनसेल फाउन्डेसन स्थापना गरेका हौं ।’

कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान पुर्‍याउनु फाउन्डेसनको ‘भिजन’ रहेको बताएका छन् ।

फाउन्डेसनको उद्देश्यमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइड कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ ।

एनसेलले वृहत्तर हितका पक्षमा सामाजिक काम गरेको उल्लेखनीय ट्र्याक रेकर्ड छ । २०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको छ । त्यस्तै, आफ्ना परिवारजन तथा आफन्तसँग सम्पर्कमा रहिरहन कम्पनीले ग्राहकलाई १ अर्ब ६० करोड बराबर सेवा सुविधा निःशुल्क उपलब्ध गराएको थियो ।

कोभिड महामारीका बेला सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा १० करोड योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी थियो ।

गत वर्ष जाजरकोट भूकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख सहयोग उपलब्ध गराएको थियो र भूकम्प प्रभावित क्षेत्रका १० विद्यालयमा कक्षा कोठा बनाउन पनि सहयोग गरेको थियो ।

त्यसैगरी २०७१ सालमा देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गराएको थियो ।

‘एनसेलले टावरहरू राख्ने, मानिसलाई दूरसञ्चार सेवा प्रदान गर्ने र रोजगारी दिने काम मात्र गर्दैन, सीएसआरमा दिगो, प्रभावकारी र ‘हामी तपाईंकै लागि’ थिमअनुसार काम गर्दै नेपालमा एक उदाहरणीय कम्पनीका रूपमा स्थापित हुने लक्ष्य सहित अगाडि बढेको छ,’ सीईओ जाब्बोरले भने ।

कार्यक्रममा एनसेलले हालै मात्र ‘पेरिस पारालिम्पिक्स २०२४’ मा नेपालका लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्द्धनलाई सम्मान पनि गरेको छ । जाब्बोरले गत वर्ष एनसेलले कसरी पलेशालाई सहयोग गर्ने निर्णय लियो भन्नेबारे बताए ।

‘एक वर्षअघि एनसेलको वार्षिकोत्सवका अवसरमा हामीले पारालिम्पिक कमिटी नेपालसँग भेटेर हामी तपाईंहरूको संस्थामार्फत पारा खेलाडीहरूको विकासका लागि सहयोग गर्न चाहन्छौंभन्दा उहाँहरूले विश्वास नै गर्न सक्नुभएको थिएन,’ जाब्बोरले भने, ‘यो एक नितान्त सामाजिक पहल अन्तर्गत जहाँ सहयोग पुगेको छैन, त्यो क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्य अनुरूप गरिएको सहकार्य थियो ।’

आफ्नो ब्रान्ड वाचा ‘आज, भोलि सधैं सँगै’ र एनसेल फाउन्डेसन सुरुवातसँगै एनसेलले आफ्नो सामाजिक कार्यको धरातल अझै फराकिलो पार्दै समुदायको तल्लो स्तरमा सामाजिक पहलसाथ धेरैभन्दा धेरै मानिसलाई लाभान्वित गर्ने उद्देश्य लिएको छ ।

एनसेल फाउन्डेसनको सुरुवातसँगै १९औं वार्षिकोत्सवका अवसरमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजना पनि कम्पनीले घोषणा गरेको छ । यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ सामाजिक कार्य कार्यान्वयन गरिने छन् र प्रत्येक आयोजनाले १० लाख ‘सीड फन्ड’ का रूपमा सहयोग प्राप्त गर्नेछन् । गत वर्ष ‘एटिन फर एटिन’ अन्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयनमा छन् ।

१७ सेप्टेम्बर २००५ मा एनसेल (पहिले मेरो मोबाइल) ले सेवा सञ्चालनमा ल्याएको थियो । त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवा प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याएको छ र सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउन ठूलो योगदान दिएको छ ।

‘यो यात्रा हाम्रा ग्राहक, साझेदार, सरकारी निकाय तथा नियामक निकायको बलियो साथ र भरोसाविना सम्भव थिएन । यसै साथ र भरोसालाई आगामी दिनका लागि आत्मसाथ गर्दै नेपाललाई डिजिटल भविष्यतर्फ डोहोर्‍याउन हामी तत्पर छौं,’ एनसेल सीईओ जाब्बोरले भने ।

नेपालको एक ठूलो करदाताका रूपमा एनसेलले आफ्नो स्थापनादेखि हालसम्म ३ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी सरकारलाई कर तथा शुल्क बुझाइसकेको छ ।

सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवा टुजी, थ्रीजी हुँदै फोरजी सेवा, वायरलेस मोबाइल ब्रोडब्यान्डदेखि प्वाइन्ट टु प्वाइन्ट कनेक्टिभिटी र मोबिलिटी सेवादेखि क्लाउड र डेटा सेन्टर सेवा सहित नेपाली व्यवसायलाई उनीहरूका सञ्चार आवश्यकता पूरा गर्न नवीनतम सेवा प्रदान गरेर एनसेल नेपालको परिवर्तनको संवाहक बनेको जाब्बोरको भनाइ छ ।

१९औं वार्षिकोत्सवका अवसरमा एनसेल फाउन्डेसनले विभिन्न कार्यक्रम जस्तै, वृक्षारोपण, शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, रक्तदान कार्यक्रम, स्किल क्याम्प लगायतका कार्यक्रम आयोजना गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?