+
+

अमेरिकी प्राध्यापकको नाममा भक्तपुरमा पुस्तकालय कक्ष

लिच्छविकाल दर्शाउने ५ हजार पुस्तक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते १९:५३
अमेरिकी प्राध्यापक टेड रिकार्डीको नाममा स्थापित पुस्तकालय कक्ष शुभारम्भ गर्दै अमेरिकी राजदूत डीन आर थम्पसन (दायाँ) ।

काठमाडौं । लिच्छविकालिन नेपाली इतिहासको सोध अनुसन्धानमा सक्रिय अमेरिकी प्राध्यापक टेड रिकार्डीले संकलन गरेका ५ हजारभन्दा बढी पुस्तकलाई सर्वसाधारणले अध्ययन गर्न पाउने भएका छन् ।

भक्तपुरको कमलविनायकस्थित नेपाल भोकेसनल एकेडेमीमा टेडकै नाममा पुस्तकालय कक्ष स्थापना गरिएको छ । ‘प्रोफेसर टेड रिकार्डी मेमोरियल रिडिङ रुम’को मंगलबार नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले उद्घाटन गरे ।

४ वर्षअघि निधन भएका रिकार्डीले संकलन गरेका विभिन्न भाषाका ती पुस्तक अमेरिकाको न्युयोर्क, न्यू मेक्सिको र नेपालका केही पुस्तक भण्डारमा राखिएका थिए । नेपाली र संस्कृतसहित जर्मन, फ्रेन्च, इटालियन भाषामा लेखिएका ती पुस्तकलाई अहिले टेडकी श्रीमती एलेन कुन र सम्पदाविद् रविन्द्र पुरीको पहलमा पुस्तकालयमा राखिएको छ ।

पुस्तकालय कक्षको उद्घाटन गर्दै राजदूत थम्पसनले नेपालको ऐतिहासिक र गौरवमय इतिहास र संस्कृति बुझ्न प्राध्यापक रिकार्डीका पुस्तक महत्वपूर्ण स्रोत हुने बताए । उनले यी पुस्तकबाट लाभ लिन समेत आग्रह गरे । राजदूत थम्पसनसहित उक्त अवसरमा अन्य अतिथिले पुस्तकालय कक्ष र एकेडेमीको अवलोकन गरे ।

सम्पदाविद् पुरीले पुस्तकालय कक्ष स्वदेशी र विदेशी सबैका लागि खुला गरिएको बताए । पुस्तकालय कक्षको तयारीका लागि आवश्यक सहयोग काठमाडौंस्थित अमेरिकी दूतावासले गरेको छ ।

टेडले संग्रह गरेका ती पुस्तकले पश्चिमा समुदायमा नेपाल चिनाउन महत्वपूर्ण योगदान दिएका थिए । प्राचिन नेपाली समाज, हिमाली समुदाय लगायत दक्षिण एसियाको गहिरो चित्रण पुस्तकमा गरिएका छन् ।

उक्त समयको जर्मनी, युरोपसहित बेलायती साम्राज्य तथा अवस्थाको जानकारी पनि पुस्तकमार्फत प्राप्त गर्न सकिनेछ । यी दुर्लभ पुस्तक अब भने पाठकको पहुँचमा आएको उक्त अवसरमा बताइयो ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्राध्यापक रिकार्डीले जीवनको ५० वर्षभन्दा लामो समय नेपाल चिनाउने सोधमा बिताएका थिए । उक्त युनिभर्सिटीको दक्षिण एसिया अध्ययन विभाग प्रमुख छँदैदेखि टेडले ५ हजारभन्दा बढी पुस्तक संग्रह गरेका थिए ।

उनले अंग्रेजी लेखक सर अर्थर कोनन डोयलको जासुसी पात्र सर्लक होम्सलाई लिएर ल्हासादेखि कोदारी राजमार्ग हुँदै काठमाडौंको असन र मधेशको जनकपुर हुँदै भारतीय सहरमा पुगेको वृत्तान्त छ ।

सन् ८० को दशकमा लिच्छविकालिन सभ्यता अन्वेषण गर्ने क्रममा मनोहरा नदी किनाराको दुमाखाल, चाँगुनारायणमा समेत रिकार्डीले केही समय बिताएका थिए । त्यतिबेला भेटिएको मानदेव अभिलेखक (सम्वत ५२५)लाई टेडले अंग्रेजीमा अनुवाद गरेका छन्, जुन अमेरिकी ओरिन्टल सोसाइटी जर्नलमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?