+
+

इन्द्रजात्रामा किन देखिएनन् बालेन ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते २२:२६

१ असोज, काठमाडौं । दुई वर्षअघि इन्द्रजात्रामा सहभागी हुन वसन्तपुर पुग्दा काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)को पक्षमा चर्को हुटिङ लागेको थियो ।

बालेनप्रति सर्वसाधारणको त्यो तहको क्रेजसामु इन्द्रजात्रा हेर्न पुगेका राष्ट्रपति, प्रधानमन्त्रीदेखि राजनीतिक दलका उच्च पदस्थहरु ओझेलमा परेका थिए ।

यो वर्ष मंगलबार भएको इन्द्रजात्रा समारोहमा भने काठमाडौं महानगरका मेयर बालेन शाह देखिएनन् । बरु बालेनको तस्वीर अंकित टिसर्ट लगाएका केही युवालाई काठमाडौं प्रहरीले झण्डै ३ घण्टा नियन्त्रणमा लिएर छाड्यो ।

उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेका अनुसार, स्थानीयसँग झडप हुनसक्ने स्थिति देखेपछि विवाद नहोस् भन्ने उद्देश्यले १४ जनालाई नियन्त्रणमा लिएर पछि छाडिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतका विशिष्ट अतिथिलाई महानगरकी उपमेयर सुनिता डंगोलले स्वागत गरिन् । अघिल्लो वर्षहरुमा काठमाडौंका मेयरकै नेतृत्वमा विशिष्ट पाहुनालाई स्वागत गर्ने चलन थियो ।

यसपटक मेयर बालेन किन अनुपस्थित भए ? उनको सचिवालयका एक सदस्यले बालेन भारत भ्रमणमा रहेकाले उपस्थित हुन नसकेको जिकिर गरे ।

‘उहाँ पढ्नु भएको युनिभर्सिटीमा पूर्वविद्यार्थीहरुको भेला भएकाले सहभागी हुन जानुभएको हो’, उनले भने, ‘त्यहीकारण कार्यक्रममा सहभागी हुन नसक्नु भएको हो ।’

बालेनले भारतको कर्नाटकमा रहेको विश्वेश्वरय्या प्रौदोगिकी विश्वविद्यालयबाट ‘स्ट्रक्चरल इञ्जिनियरिङ’मा स्नातकोत्तर गरेका हुन् । त्यहीं पूर्वविद्यार्थीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी गएकाले बालेन इन्द्रजात्रामा सहभागी हुन नसकेको सचिवालयका ती सदस्यले जिकिर गरे ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने इन्द्रजात्रामा मेयर शाह नआउने भन्ने विषय आफ्नो जानकारीमा नभएको बताए । ‘आज नआउने भन्ने थाहा थिएन, बिहान उहाँलाई नदेखेपछि मात्र थाहा पाएँ’, उनले भने, ‘मैले उहाँलाई फोन गरेको थिएँ, फोन पनि स्वीच अफ थियो ।’

यस्तोमा मेयर शाहको सचिवालयका अर्का सदस्यले भने बालेनले मंगलबार बिहान आउने तयारी गरेपनि सम्भव नभएको जिकिर गरे । उनले भने, ‘मंगलबार बिहान आउने भन्ने कुरा थियो, किन आउनुभएन थाहा भएन ।’

ओली–बालेन मनमुटाव

तर, महानगरकै अर्को स्रोतले भने शाह प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको मतभेदका कारणका इन्द्रजात्रामा सहभागी नभएको दाबी गर्‍यो ।

नेकपा एमालेबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित एमाले सांसद् रेखाकुमारी शर्माको घरबाट उद्धार गरिएकी बालिकाको विषयलाई लिएर उनले प्रधानमन्त्री ओलीविरुद्ध सामाजिक सञ्जालमा खरो टिप्पणी गरिरहेका छन् । १४ जेठमा उद्धार गरिएकी बालिकाको बयानका आधारमा शर्मालाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने शाहको माग छ ।

महानगरले शर्माविरुद्ध कारबाही गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा निवेदन पनि दिएको छ । तर, उद्धार गरिएकी बालिकाकी बुबाआमाले आफ्नो छोरीलाई महानगरले अपहरण गरेको भन्दै अदालतमा मुद्दा समेत दायर गरेका छन् ।

सांसद् शर्मा प्रकरण चलिरहेका बेला मेयर शाहका समर्थकहरुले प्रधानमन्त्री ओलीको फेसबुक पेजमा ‘अनफलो’ अभियान पनि चलाएका थिए । यसअघि बालेनले गिरिबन्धु टी स्टेट प्रकरणलाई जोडेर समेत सामाजिक सञ्जालमा ओलीको आलोचना गरेका थिए ।

ओलीले ‘भैंसीको ढाडमा झिंगा बस्यो कि के बस्यो, भैंसीले थाहा पनि पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ, चार लात हानें भनेर । म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ’ भन्दै उनलाई जवाफ समेत दिएका थिए ।

यसैगरी काठमाडौंका नदी किनारको मापदण्डबारे सर्वोच्चले गरेको फैसला कार्यान्वयका लागि बालेनले गरेको मेयरस्तरीय निर्णयको पनि एमालेले आलोचना गर्दै आएको छ ।

यस्तोमा ओलीसँग आमनेसामने हुनै नचाहेर बालेन भारतमै बसेको कतिपयको आशंका छ । तर, महानगरका प्रवक्ता मानन्धर भन्छन्, ‘उहाँले देश छाडेकै चार/पाँच दिन भइसक्यो, त्यसैले यत्तिकै मानिसहरुले प्रधानमन्त्रीज्यूसँग यो विषयलाई जोडेको हुनसक्छ ।’

महानगर स्रोतका अनुसार, बालेन मंगलबार राति १० बजे काठमाडौं फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?