+
+

लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनमा संसदीय समिति

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते ७:२९

२ असोज, बुटवल । संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययन शुरु गरेको छ । संसदीय समितिका १० जनाको टोलीले विश्वविद्यालयको विभिन्न निकायहरुको अध्ययन गरेको हो ।

२०८१ असोज १ गते देवदहस्थित डिन कार्यालय तथा देवदह शिक्षा विकास परियोजना र बुटवल नयाँगाउँस्थित सिटी क्याम्पसको स्थलगत अध्ययन गरेको छ ।

सो अवसरमा देवदहमा आयोजना गरिएको परियोजना परिचयात्मक कार्यक्रममा बोल्दै संसदीय समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा विकास परियोजना निकै महत्वपूर्ण रहेकाले यसको कार्यान्वयनमा सघाउने प्रतिबद्धता जनाए ।

लुम्बिनी बौद्ध विश्वविद्यालय स्थानीयस्तरदेखि अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्ने क्षमताको रहेको भन्दै उनले प्रवद्र्धनमा सरकारले नै काम गर्नुपर्ने बताए । नेपालका विश्वविद्यालयमध्ये अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिने क्षमता लुम्बिनी बौद्ध विश्वविद्यालयसँग रहेको भन्दै उनले आफूहरुले समितिमा छलफल गरेर यसको विकासमा ठोस निर्देशन सरकारलाई गर्ने बताए ।

विश्वविद्यालयहरु पठनपाठनमा केन्द्रित नभएर अनुसन्धानमा केन्द्रित हुनुपर्ने उनको सुझाव थियो । विश्वविद्यालयले अनुसन्धान गरेर सो अनुसन्धान कार्यान्वयनका लागि सरकारलाई प्रतिवेदन दिनुपर्ने उनले बताए ।

समितिका सदस्य छविलाल विश्वकर्माले देवदहमा विश्वविद्यालयका लागि निकै प्रयासपछि जग्गा प्राप्त भएको भन्दै त्यसको बहुउपयोग गर्नुपर्ने बताए । स्थानीय उपभोक्ताका आवश्यकता जोड्दै विश्वविद्यालय अगाडि बढिरहेको भन्दै उनले देवदहको परियोजनालाई सफल बनाउने जिम्मेवारी सबैले लिनुपर्ने बताए ।

अर्का सदस्य देवेन्द्र पौडेलले बौद्ध दर्शन र शिक्षा अध्ययन गर्न बौद्ध राष्ट्रमात्रै नभई विश्वसमुदाय नै लुम्बिनी आउन लालायित भएको भन्दै त्यसलाई उपयोग गर्ने दायित्व सरकार र विश्वविद्यालयको रहेको औंल्याए ।

त्यस्तै अर्का सदस्य डिकबहादुर लिम्बुले बौद्ध विश्वविद्यालयले अगाडि बढाएको परियोजना कार्यान्वयनमा समितिले सघाउने बताउँदै समुदायलाई जोडेर जान सुझाव दिए ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुबर्णलाल बज्राचार्यले विश्वविद्यालयले देवदहमा शिक्षा विकास परियोजना सुरुआत गरेको जानकारी गराए । प्राज्ञिक विकासका लागि अनुमानित ८ सय करोडको गुरुयोजना तयार भएको भन्दै उनले परियोजना अन्तर्गतका पूर्वाधार निर्माणका लागि दातृ निकायको खोजी भइरहेको बताए ।

चीन, थाइल्याण्ड, कोरिया, जापान, श्रीलंका, म्यानमारसहितका राष्ट्रहरुबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको भन्दै उपकुलपति बज्राचार्यले बोर्ड ट्रष्टमार्फत दान संकलन गरिने बताए ।

विश्वविद्यालयका रजिष्ट्रर डा. तिलकराम आचार्यले ६ वर्षको प्रयासपछि देवदहमा विश्वविद्यालयले जग्गा प्राप्त गरेको भन्दै त्यही जग्गामा शिक्षा विकास परियोजनाको काम शुरुआत भएको बताए । उनले विश्वविद्यालयका समस्या समाधानमा संसदीय समितिले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

संसदीय समितिले बुटवलको सिटी क्याम्पसको पनि स्थलगत अध्ययन गरेको छ । समितिसँग शिक्षा दिवसका अवसरमा केन्द्रीय कार्यालयमा अन्तरक्रिया कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?