+
+

सकिएको तीज, नसकिएको बहस

महिलाले ‘भड्किलो’ र खर्चिलो तीज मनाएर तीजको संस्कृति बिगार्दैछन् भन्नु महिलालाई उनीहरू बाँचिरहेको सामाजिक-आर्थिक परिवेशबाट अलग्याएर एक्लो जिम्मेवार ठहर्‍याई सीमान्तकृत गर्नु हो।

विभु थपलिया विभु थपलिया
२०८१ असोज २ गते ८:५२

तीज भर्खरै सकिएको छ। धेरै हिन्दु महिलाले मनाउने तीज दृश्यात्मक रूपमा जति जीवन्त छ, मनाइने तरिकामा यसको बदलिंदो स्वरूप र यसको अवधारणाको आधारमा त्यति नै विवादास्पद। हरेक वर्ष आलोचक, विश्लेषक र जनमानसले विभिन्न औपचारिक-अनौपचारिक प्लेटफर्ममा तीज र महिलाबारे आफ्ना विचार राख्ने गरेका छन्। ती विचारहरूमा तीज सकिसकेपछि पनि छलफल र वादविवाद भइरहेको हुन्छ। म यस लेखमा तीज र महिलालाई जोडेर व्यक्त गरिने दुई प्रचलित विचारहरूको चर्चा र केही विश्लेषण गर्नेछु।

पहिलो विचार होः “महिलाले तीज मर्यादामा रहेर मनाउनुपर्छ। धेरै जमघट, नाच-गान, लुगा-गहनाको प्रदर्शनमा प्रतिविम्बित आधुनिक महिलाको स्वतन्त्रता उपभोगले धर्म-संस्कृति, नियम-अनुशासन धरापमा पारेको छ।”

दोस्रो धेरै सुन्न, पढ्न पाइने कुरा हो- “तीजको अवधारणा महिला मुक्ति र महिला अधिकार विरोधी छ। त्यसैले महिलाहरूले नै तीजलाई संयुक्त रूपमा बहिष्कार गर्नुपर्छ। तीज बहिष्कार नगर्ने महिला या त पितृसत्ताको हिमायती हो, या त आफ्नै अधिकारको चेत नभएको कमजोर महिला हो।”

पहिलो विचार आम जनमानस, अझ पुरुष समुदायमा बढी देखिन्छ। दोस्रो विचार महिलाको अधिकारका लागि काम गर्ने वा महिलाका लागि बोलीदिने तप्काबाट बढी आउने गरेको छ। यी दुई विचार पछाडिका भाव, उद्देश्य र आशय एकअर्काबाट बिल्कुलै फरक छन्। एउटाले महिलाको आत्मअभिव्यक्तिलाई मर्यादासँग जोडेर उनीहरूको स्वतन्त्रताको पहरेदारी गर्न खोजेको छ। बिल्कुलै विपरित- अर्कोले भने महिलाको स्वतन्त्रताको लागि वकालत गरेको छ। यद्यपि, समान कुरा चाहिं- दुवै विचारमा महिलाको अस्तित्व खुम्चिएर प्रस्तुत भएको छ र हरेक सामाजिक जिम्मेवारी महिलाको मात्रै हो भन्ने भाष्य सुदृढीकरण भएको छ।

तीजको बारेमा हुने हरेक कुराकानीको केन्द्रमा रहने महिलाको अस्तित्व र जिम्मेवारी वास्तवमा के हो त? ‘महिला’ वर्ग कुनै कारखानाबाट उत्पादित सामानको बाकस त पक्कै होइन जुन खोलेर हेर्दा सबै सामान उस्तै, एकरूपका हुन्छन्। जसरी महिला विभिन्न समुदायका हुन्छन्, त्यसैगरी उनीहरूका इच्छा, संघर्ष, सिकाइ, दृष्टिकोण र भोगाइ पनि फरक-फरक हुन्छन्। ती सिकाइ, भोगाइ र दृष्टिकोण फेरि जीवनको विभिन्न चरणमा परिवर्तन भइरहन पनि सक्छन्। यस अर्थमा ‘महिला’ गतिशील अस्तित्व हो।

पहिलो विचारले महिलालाई धर्म-संस्कृति र मर्यादाको वाहक बनाएको छ। तीजमा खुल्ला रूपले आफूलाई अभिव्यक्त गर्ने, धेरै नाच्ने-गाउने, धेरै लुगा-गहना किन्ने, साथीसङ्गीसँग धेरै भेटघाट गर्ने महिला जिम्मेवार र आदर्श महिला होइनन् भन्ने भाष्यको निर्माण गरेको छ। यस अर्थले महिलाको सम्मान उसले पितृसत्ताको अपेक्षा पूरा गरेको छ कि छैन भन्नेमा निर्भर हुनेभयो, नकि उनको गतिशील अस्तित्वमा।

महिलालाई गरिने न्याय, विवेक र सम्मान पितृसत्तात्मक समाजले बनाएका विभेदपूर्ण नियम मानेको छ कि छैनमा निर्भर हुनु भनेको महिलाको अस्तित्व पितृसत्तामा विलय हुनुमा मात्रै छ भन्ने जनाउँछ। हिंसा र दुर्व्यवहारमा परेका धेरै महिलाका लागि न्याय सजिलो नहुनु, सामाजिक सञ्जालमा देखिने महिलाको चरित्र हत्या यस्तै भाष्यका नतिजा हुन्।

अहिले हामी बाँचिरहेको चरम पूँजीवादी व्यवस्थामा महिला पनि व्यावसायिक बजारको नाफाकेन्द्रित इकोसिस्टमका उपभोक्ता वर्ग हुन्। त्यसैले उनीहरूले तीज मनाउने तरिकालाई बुझ्न तीज-बजारको बदलिंदो मागलाई पनि केलाउनुपर्ने हुन्छ। महिलाले ‘भड्किलो’ र खर्चिलो तीज मनाएर तीजको संस्कृति बिगार्दैछन् भन्नु महिलालाई उनीहरू बाँचिरहेको सामाजिक-आर्थिक परिवेशबाट अलग्याएर एक्लो जिम्मेवार ठहर्‍याई सीमान्तकृत गर्नु हो।

दोस्रो विचारमा महिला पितृसत्ताको सचेत विरोधी हुनुपर्छ भन्ने आशय छ। त्यसो गर्न नसक्ने महिलाहरू या त कमजोर पीडित पात्र हुन् वा पितृसत्तात्मक हुन् भन्ने अर्थ पनि बोकेको छ। यसले पितृसत्ताको प्रतिरोध गरी महिलामैत्री समाज बनाउने जिम्मा महिलाकै हो भन्ने भाष्य निर्माण गर्छ।

तीज र महिलाका विषयमा औपचारिक वा अनौपचारिक प्लेटफर्ममा हुने कुराकानी, विचार सम्प्रेषण र छलफलको व्याख्या र विश्लेषण हुनुपर्छ। किनकि तिनले महिलाको अस्तित्व, जिम्मेवारी र समस्याहरूका बारेमा केही भाष्य निर्माण गरिरहेका हुन्छन्

के पितृसत्ताको प्रतिरोध गर्ने जिम्मा महिलाको मात्रै हो त? के सबै महिलामा प्रतिरोधात्मक चेत हुन्छ वा हुन अनिवार्य छ? छ भने त्यो हुन कसरी सम्भव छ? ‘महिला’ वर्गमा विविधता छ भने उनीहरूले महसुस गरेका आवश्यकता, उनीहरूका प्राथमिकता, स्रोत-साधनमा पहुँचको स्तर पनि त भिन्न-भिन्न होलान्! त्यसैगरी उनीहरूका लागि तीजको सांकेतिक अर्थ र तीज मान्ने तरिका पनि त भिन्न-भिन्न होलान्!

आफ्नो बुझाइको आधारमा तीज मनाउने वा नमनाउने महिलाहरूको रोजाइ हो। तर मानिसको रोजाइ र निर्णय ऊ बाँचिरहेको समय, सामाजिक नियम र जटिल सामाजिक-राजनीतिक परिस्थितिले निर्धारण गरिरहेका हुन्छन्। यस अर्थमा पूँजीवादी पितृसत्तात्मक व्यवस्थामा महिलाका रोजाइ पनि स्वतन्त्र होइनन्। फेरि आफ्नो अधिकारको लडाइँका लागि चाहिं उनीहरू कसरी स्वतन्त्र छन्? यो विरोधाभासको जालोमा महिला अधिकारका कतिपय बहस र प्रयासहरू रुमलिएको देखिन्छ।

तैपनि हामी महिलालाई भन्न छाड्दैनौं- ‘यो तिम्रै जिम्मेवारी हो, पितृसत्ताको भोक्ता तिमी हौ- सचेत कर्ता पनि तिमी नै हुनुपर्छ।’ भान्साको जिम्मेवारी, करिअरको जिम्मेवारी, मर्यादाको बोझ, घरको हेरचाह, अनि त्यसमा थपियो अधिकारको लागि लडाइँको जिम्मेवारी! अर्कोतिर महिलाले प्रतिरोधको मूल्य पनि चुकाउनुपर्ने हुन्छ- समुदाय-समाजले जनाउने अस्वीकृति, दिने मानसिक तनाव, इत्यादिका रूपमा।

त्यसैले महिला आफैंले पितृसत्तात्मक संस्कृतिका विरुद्ध लाग्नुपर्छ भन्ने भाष्य पछाडिको उद्देश्य र भावना सही छ तर यसले महिलालाई नै थप सीमान्तकृत गर्छ। बरू महिला स्वतन्त्रता र अधिकार विरोधी सामाजिक-राजनीतिक परिस्थिति र तत्त्वहरूलाई प्रश्न गरेर कसरी महिलामुखी बनाउने भन्नेतिर लाग्नु जरूरी देखिन्छ। यसको अर्थ अधिकारको लागि लड्ने महिलाहरू गलत हुन् वा उनीहरूले गरिरहेको काम गर्न जरूरी छैन भन्ने बिल्कुलै होइन। यसको अर्थ सबै महिलालाई एउटै लेन्सबाट नहेरौं, र सबै महिलाको परिस्थिति र संघर्ष बेग्ला-बेग्लै हुन्छन् भन्ने चाहिं हो।

अन्त्यमा, तीज र महिलाका विषयमा औपचारिक वा अनौपचारिक प्लेटफर्ममा हुने कुराकानी, विचार सम्प्रेषण र छलफलको व्याख्या र विश्लेषण हुनुपर्छ। किनकि तिनले महिलाको अस्तित्व, जिम्मेवारी र समस्याहरूका बारेमा केही भाष्य निर्माण गरिरहेका हुन्छन्। ती भाष्यहरू तीजसँग मात्रै सम्बन्धित नभई तिनले जनमानसको महिलाप्रतिको सोच, विवेक र न्यायको चेतलाई आकार दिने काम गरिरहेका हुन्छन्।

धेरै मानिस आफ्नो जीवनको भोगाइ र पितृसत्तात्मक आग्रह-पूर्वाग्रहसँग मेल खाने भाष्यलाई नै विश्वास गरेर व्यवहारमा अपनाउँछन्। महिलाका बारेमा निर्माण हुने संयुक्त भाष्यले घरदेखि न्यायालयसम्म महिलाहरूको अधिकार र न्यायका विषय कसरी सम्बोधन भइरहेका छन् भन्ने कुरालाई प्रभाव पार्दछ।

थपलिया लैङ्गिकता र सामाजिक विकास अनुसन्धानकर्ता हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?