+
+

सूचीकृत १३ कम्पनीले घोषणा गरे लाभांश, कसको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते ९:०५

२ असोज, काठमाडौं । १३ सूचीकृत कम्पनीहरुले सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । हालसम्म लाभांश घोषणा गरेका कम्पनीमा एक वाणिज्य बैंक, एक विकास बैंक, दुई लगानी कम्पनी, दुई जीवन बीमा कम्पनी, एक उत्पादन कम्पनी, एक होटल, एक लघुवित्त र चार हाइड्रोपावर कम्पनी छन् ।

हालसम्म लाभांश घोषणा गरेकामध्ये अधिकांश कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिएका छन् । लगानीकर्तालाई छुट्याइएको बोनस सेयरमा कर लाग्ने भएकाले केहीले कर प्रयोजनका लागि मात्रै नगद लाभांश घोषणा गरेका छन् ।

बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् भने अन्य कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गरेपछि कम्पनीहरुले साधारणसभामार्फत पारित गर्छन् । साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले बोनस सेयर डिम्याट खातामा र नगद लाभांश बैंक खातामा पाउने गरेका छन् । कम्पनीले करका लागि छुट्टै व्यवस्था नगरेमा लगानीकर्ताले नै तिर्नुपर्ने हुन्छ ।

कम्पनी ऐनअनुसार साधारणसभा हुनुभन्दा कम्तीमा २१ दिन पहिले सेयरधनीलाई साधारणभा हुने स्थान तथा समयबारे सार्वजनिक सूचनामार्फत जानकारी दिनुपर्ने व्यवस्था छ । यो व्यवस्थाअनुसार अहिलेसम्म सूचना जारी नगरेका कम्पनीले दसैंअघि साधारणसभा गर्न सक्दैनन् ।

लाभांश घोषणा गरे पनि साधारणसभा नगरेका कम्पनीले दसैंअघि लाभांश दिने छैनन् । साधारणसभा बोलाउँदा सोही सूचनामा कम्पनीहरूले ‘बुक क्लोज’को मिति तोक्ने गरेका छन् ।

बुक क्लोजको अघिल्लो दिनसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ता मात्रै साधारणसभामा भाग लिन तथा लाभांशका लागि योग्य हुनेछन् । लाभांश घोषणा गरेका तर बुक क्लोज मिति तय नगरेका ४ कम्पनी छन् ।

लाभांश घोषणा गरेका कम्पनी

कम्पनी नगद लाभांश सेयर बोनस बुक क्लोज
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स १८.३८ असोज ११
सीईडीबी हाइड्रोपावर ११.०० असोज ७
ओरियन्टल होटल ०.२६ (कर) ५.०० असोज ७
हाथवे इन्भेस्टमेन्ट ०.५२ (कर) १०
कामना सेवा विकास बैंक ५.०० ७.००
नेपाल ल्युब आयल ५.०० २०.०० असोज ४
गुराँस लघुवित्त ०.७५ (कर) १४.२५
भगवती हाइड्रोपावर १०.७३ ४.०० असोज २
माण्डु हाइड्रोपावर १२.०० क्लोज्ड
एभरेष्ट बैंक ५.५३ १० असोज ८
सुपरमाइ हाइड्रोपावर ५.६३ ७.००
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ०.५२ (कर) १० असोज १६
अपी पावर ०.४७ (कर) असोज १६

बोनस सेयरको लाभ हर्ष न विस्मात् 

बोनस सेयर वास्तवमा लगानीकर्ताका लागि भन्दा पनि कम्पनीकै लाभका लागि हुने गरेको छ । बोनस सेयरले कम्पनीको चुक्ता पूँजी वृद्धि हुन्छ । लगानीकर्ताका लागि सेयर संख्या बढेको देखिए पनि त्यसले लगानीकर्ताको वास्तविक कुल मूल्यलाई कत्ति पनि फाइदा हुँदैन ।

मानौं कसैले एबीसी कम्पनीको १५० कित्ता सेयर होल्ड गरेको छ । बुक क्लोजको अघिल्लो दिन कम्पनीको मूल्य प्रतिकित्ता ३ सय रूपैयाँ छ । उसको कुल सेयर मूल्य ४५ हजार रुपैयाँ हुन्छ । अब सो कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर घोषणा गर्‍यो । बुक क्लोजपछि मूल्य समायोजन हुँदा प्रतिकित्ता २७२.७ (३००÷१+०.१०) रुपैयाँ हुन आउँछ ।

अब लगानीकर्ताको सेयर संख्या बढेर १६५ कित्ता त भयो, तर सोको मूल्य बोनस नदिँदा जति थियो त्यति नै (४५ हजार) हुन्छ । तर नगदका हकमा भने यस्तो समस्या हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?