+
+
अन्तर्वार्ता : नूतन थपलिया :

‘राज्यको चरित्र नै आफ्नालाई सम्पत्ति बाँड्ने भयो’

राणाशाही र पञ्चायतकालमा राजनीतिमा ‘बकस प्रणाली’ हाबी थियो, अहिले ‘ठेक्कापट्टा प्रणाली’ मा राजनीति चलिरहेछ । पुरानो ‘बकस पद्धति’को राजनीतिक संस्कारको ठाउँमा अहिले ‘ठेक्का पद्धति’ फस्टाएको छ । यसले राजनीतिलाई भ्रष्ट बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते २१:१४

नूतन थपलिया नेपालमा प्रजातन्त्र चाहियो भनेर २००७ सालमा क्रान्तिको झन्डा उठाउने मध्येका एक हुन् । राणा शासनविरुद्ध जनतामा चेतना फैलाउन विद्यालय नै चाहिन्छ  भन्दै कन्या विद्यालय खोल्न माग गर्दै २००३ सालमा भएको आन्दोलनको अगुवाइ गरेका उनी १९९७ सालको काण्डले तताएको काठमाडौंमा हुर्किएका थिए । बाबुबाजे राणा शासकका सेवामा लागेका भए पनि शुक्रराजको उपदेशले आफू सानैमा विद्रोही बनेको उनी सम्झन्छन् ।

पञ्चायत व्यवस्था गएयताका ३५ वर्षको राज्य सञ्चालन शैली कस्तो देख्नुहुन्छ ? हामीले प्रजातन्त्र सेनानी, वरिष्ठ अधिवक्ता तथा ९५ वर्षीय मानवअधिकारवादी नेता नूतन थपलियालाई यस्तो प्रश्न सोधेका छौं । उनी भन्छन्, ‘व्यवस्था खराब होइन, सुशासन र डेलिभरी नहुनुचाहिं समस्या हो ।’

तपाइँ राणाशासन र पञ्चायतकाल गरी जम्मा कति समय जेल पर्नुभयो ?

२००४ सालमा थुनिएर छुटेपछि मैले घरबार, जायजेथा सबै त्यागिदिएँ । बुबाको एकसुको पनि सम्पत्ति लिइनँ । २००७ सालमा म केन्द्रीय कारागारको कालकोठरीमै थिएँ । तीनपटक गरेर त्यसबेला ३ वर्ष जेल परें । पञ्चायत कालमा २०१७ देखि २०३३ सालसम्म आइपुग्दा तीनपटक जेल जानुपर्‍यो । त्यसबखत सात वर्ष जति जेल परें ।

तपाइँले चारवटा राजनीतिक व्यवस्था भोगिसक्नुभयो । राणाशाही, निर्दलीय पञ्चायत, बहुदल र गणतान्त्रिक कालका भोगाइहरूबारे बताइदिनु न ?

मेरो कुनै पनि क्षेत्रमा निरन्तरता भएन । राजनीति, शिक्षण, वकालत र मानवअधिकार क्षेत्रमा लागें तर कुनैमा पनि निरन्तरता भएन । अहिले पनि कहीं कतै मानवअधिकारको कुरा आयो भने म आफ्नो विचार राख्छु ।

एउटै काममा मेरो निरन्तरता नभए पनि विचारमा भने म अविचलित छु । मलाई प्रजातन्त्र र स्वतन्त्रता सबैभन्दा प्यारो लाग्छ । राणाशाही र पञ्चायतले मलाई थुन्यो, मेरो स्वतन्त्रता हनन् गर्‍यो । बहुदलले मलाई स्वतन्त्रतासँगै खोसिएको जागीर पनि दियो । गणतन्त्रमा त म मज्जाले बाँचिरहेको छु ।

मानिस उसले पढे, लेखेको आधारमा मात्रै दौडिंदैन । उसको सानो छँदादेखि साथीभाइ, स्कुल, कलेज आदिमा कस्तो संगत गर्‍यो त्यसले नै उसको बाँकी जीवनलाई प्रभावित पार्ने रहेछ । पुराना सम्बन्धहरूले नै प्रभाव पर्ने रहेछ । जतिसुकै प्रगतिशील लक्ष्य राखे पनि पुराना सम्बन्धहरूले प्रभाव पारिरहेका हुन्छन् । यो राजनीतिक संस्कारको कुरा हो ।

नेपाली कांग्रेसमा पनि विकृति त आएको छ तर कम्युनिस्टहरूमा बढी विकृति आइरहेको देख्छु । किन विकृति आयो त भन्दा उनीहरूको लक्ष्य त वर्गविहीन राज्य स्थापना गर्ने हो । तर त्यसमा पुग्न सकेनन्

अहिले म मानिसको राजनीतिक संस्कारबारे अध्ययन गरिरहेको छु । बचपन अवस्थामा कस्तो ‘ओरियन्टेसन’ पायो त्यसैले उसको भावी जीवनमा प्रभाव पार्दो रहेछ । पृथ्वीनारायण शाहले जग्गा बाँडे, राणा शासक, राजा त्रिभुवन, महेन्द्रले जे जसरी जग्गाजमीन, राजनीतिक तथा प्रशासनिक पदहरू आफ्नाहरूलाई बाँडे त्यस्तो शैलीको म विरोधी हुँ । किनभने त्यस्ता गतिविधिहरूबाट हाम्रो आजसम्मको राजनीतिक संस्कारमा प्रभाव पर्दै आएको छ ।

आफ्नालाई कानुन नलाग्ने, कानुनले छूट दिने तर अन्यलाई त्यही कानुन लाग्ने जुन संस्कार र संस्कृति विकसित हुँदै आयो त्यसले आजसम्म पनि हाम्रो राज्य सञ्चालन र राजनीतिलाई प्रभावित गरिरहेको छ । सत्ताधारीहरूका निकट पुगेकाहरू जसरी हुन्छ जग्गाजमीन वा व्यापार हात पार्न लालायित देखिन्छन् । विगतदेखिको यस्तो मनोविज्ञान अहिलेसम्म कायम छ । हाम्रो राज्यको चरित्र नै आफ्नालाई सम्पत्ति बाँड्ने रहँदै आयो । यो ठीक होइन ।

पञ्चायत व्यवस्था गएयताका ३३/३४ वर्षको राज्य सञ्चालन शैली कस्तो देख्नुहुन्छ ?

तुलनात्मक रूपमा म अहिलेको व्यवस्था राम्रो देखिरहेको छु । राम्रो हुँदै गइरहेको छ । पहिले गाउँ र शहरमा विभेद थियो, अहिले त्यस्तो विभेद स्वात्तै घटेर गएको छ । पहिले, पहिले राजाहरूले उद्घाटन गर्ने विकास निर्माणका कामहरू होस् या प्रदर्शनीहरू आजभोलि वडाअध्यक्षहरूले उद्घाटन गर्छन् । अधिकार यसरी तल्लो तहसम्म पुग्नु राम्रो हो ।

त्यसोभए आम मानिस किन सरकारसित यति सारो असन्तुष्ट बन्दैछन् त ?

विकास एउटा कुरा हो, सन्तुष्टि अर्को कुरा । देशमा विकासका क्रियाकलाप भएका भए पनि आम मानिस असन्तुष्ट हुनुको मुख्य कारण सुशासन र डेलिभरी हुन नसक्नाले हो भन्ने लाग्छ । अहिलेको प्रमुख समस्या भनेकै सुशासन र जनतालाई डेलिभरी दिने कुरामा रहेको छ । व्यवस्था खराब होइन, सुशासन र डेलिभरी नहुनुचाहिं समस्या हो ।

तपाइँको बुझाइमा सुशासन र डेलिभरी भनेको के हो ?

वास्तवमा नेपालमा सुशासन र डेलिभरीको व्यवस्थापन कसरी गर्न सकिएला ? कहाँबाट थालनी गर्ने ? यस विषयमा म आफैं अलमलमा छु । राणा शासनमा शान्ति सुरक्षा कायम गर्नु र न्याय दिनुलाई सुशासन र डेलिभरी दिएको मानिन्थ्यो ।

अहिले सुशासन र डेलिभरीको पुरानो परिभाषा फेरिएको छ । अहिले सुशासन र डेलिभरी भन्नाले आम मानिसलाई सजिलोसित स्वास्थ्य, शिक्षा, बाटोघाटो, बिजुली लगायत विकास निर्माणको सुविधा उपलब्ध गराउनु हो । महँगी बढ्नाले सर्वसाधारणको ढाड सेकिएको छ । त्यसैले महँगी नियन्त्रण गर्नु पर्‍यो । रोजगारीको प्रत्याभूति दिनुपर्‍यो ।

सुशासनको लागि सर्वसाधारणले मात्र कानुन मानेर हुँदैन, वडादेखि सिंहदरबारसम्म सत्तामा बसेका राजनीतिक र प्रशासनिक व्यक्तिहरूले सबैभन्दा धेरै कानुन पालना गर्नुपर्‍यो । अहिले नेपालमा ओहोदाधारीहरूले कानुन नमान्दा सुशासनको सट्टा कुशासन बढ्दो छ । गणतन्त्र आए पनि नेता र प्रशासकहरूले पृथ्वीनारायण शाह, जंगबहादुर, त्रिभुवन, महेन्द्रकालीन जुन राजनीतिक संस्कार थियो त्यसैलाई निरन्तरता दिएकाले कुशासन बढेको हो ।

राणा र राजा दुवैको कष्टसाध्य जेल सजाय भोगेको नूतन थपलियालाई, के अब राजतन्त्र फर्केला भन्ने लाग्छ ?

अपवाद बाहेक संसारभरि नै राजतन्त्र एकचोटि गइसकेपछि फर्केर आएका छैनन् । पहिले काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, फर्पिङ, पनौती, साँखु, देउपाटन सबैतिर राजा नै राजा थिए । जुन–जुन टोलमा ‘लायकु’ छ त्यहाँ विगतमा राजा थिए । ‘लायकु’ भनेको नेपाल भाषामा दरबार हो । दरबार भएपछि त्यहाँ पक्कै पनि राजाहरू थिए । तिनीहरू कहाँ गए ? फर्के त ? त्यसैले नेपालीहरूले आन्दोलन गरेर राजा फर्काउलान् भन्ने लाग्दैन ।

राजनीति सही ढंगले अगाडि बढिरहे जस्तो लाग्छ ?

राणाशाही र पञ्चायतकालमा राजनीतिमा ‘बकस प्रणाली’ हाबी थियो, अहिले ‘ठेक्कापट्टा प्रणाली’ मा राजनीति चलिरहेछ । पुरानो ‘बकस पद्धति’को राजनीतिक संस्कारको ठाउँमा अहिले ‘ठेक्का पद्धति’ फस्टाएको छ । यसले राजनीतिलाई भ्रष्ट बनाएको छ । अहिलेको खाँचो राजनीतिक संस्कार र क्रियाकलापमा सुधारको हो, गणतान्त्रिक शासन व्यवस्था उल्ट्याएर पुरानो पद्धतितिर फर्कन भन्दै बरालिने बेला होइन ।

तपाइँ २००४ सालदेखि आजसम्म कांग्रेस र कम्युनिस्ट पार्टीका क्रियाकलाप नियालिरहनुभएको छ । कस्तो लाग्छ तपाइँलाई यी दुई पार्टीहरू ?

नेपाली कांग्रेसमा पनि विकृति त आएको छ तर कम्युनिस्टहरूमा बढी विकृति आइरहेको देख्छु । किन विकृति आयो त भन्दा उनीहरूको लक्ष्य त वर्गविहीन राज्य स्थापना गर्ने हो । तर त्यसमा पुग्न सकेनन् । प्रजातन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यताहरूलाई मान्नुपर्ने भयो । उनीहरूले वर्गविहीन राज्य स्थापना गर्न पनि सकेनन्, लोकतन्त्रका आधारभूत मान्यताहरूलाई पूर्ण रूपमा आत्मसात् गर्न पनि सकेनन् । यसले उनीहरूमा बढी विकृति सिर्जना गर्‍यो ।

प्रस्तुति : ध्रुव सिम्खडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?