+
+

सरोकारवालाको बैठकले तोक्न सकेन अग्रिम टिकट खुलाउने मिति

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १८:०४

२ असोज, काठमाडौं । सरोकारवालाको बुधबार बसेको बैठकले समेत दशैं लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने मिति तोक्न सकेन ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको आह्वानमा मन्त्रालयमा बसेको बैठकमा सरकारी निकाय र यातायात व्यवसायीले आ–आफ्नो भनाइ राखे पनि मिति तय भने नभएको यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले जानकारी दिए ।

‘सबै पक्षले आफ्नो विषय राख्ने कुरा भयो, पक्ष तयारी अवस्थामा पनि हुनुहुन्छ, तर यही नै मितिबाट अग्रिम बुकिङ खोल्ने भन्ने मिति चाहिँ तय भएन,’ उनले भने, ‘पुनः अर्को बैठक राखेर यसबारे निर्णय लिइने कुरा भएको छ ।’

आजको बैठकमा यातायातमन्त्री दाहालले प्रत्येक यात्रुलाई सुरक्षित घर पुर्‍याउने व्यवस्था मिलाउन निर्देशन दिए । सुरक्षित यात्राका लागि सडक सुरक्षा तथा यात्रु सुविधामा ध्यान दिन उनले निर्देशन दिए ।

चाडपर्वलाई दुर्घटना रहित बनाउन सडक मर्मतलाई अहिले मुख्य प्राथमिकतामा राखिएको उनको दाबी छ । टिकट काउन्टर, बसपार्क, राजमार्ग तथा बस बिसौनीमा सुरक्षा प्रबन्ध बलियो बनाउन प्रहरी प्रशासनसँग समन्वय गरिएको भन्दै मन्त्री दाहालले भय, त्रास र ठगीरहित यात्रा प्रबन्ध मिलाउन सम्बद्ध सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिए ।

बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्माले हाल निर्माणाधीन सडकमा समेत खाल्डा पुर्ने, सम्याउने, सुरक्षा प्रबन्ध गर्ने लगायत काम भइरहेको बताए । विशेष परिस्थिति बाहेक दुई घण्टाभन्दा बढी सडक जाम हुन नदिइएको उनले दाबी गरे ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले सडक सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिइएको बताए ।

त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले चाडपर्व लक्षित गरी सुरक्षाकर्मी परिचालन सुदृढ पारिएको, आवश्यक स्थानमा जाँचको व्यवस्था मिलाइएको र यात्रु चाप बढी हुने ठाउँमा सुरक्षा प्रबन्ध समेत मिलाइएको बताए ।

त्यस्तै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ अध्यक्ष विजय स्वाँर लगायत व्यवसायीले भने सरकारसँग विगतमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?