+

राखेप बोर्ड सदस्य नियुक्तिलाई लिएर खेलकुदमन्त्री विवादमा

२०८१ असोज  २ गते २०:२८ २०८१ असोज २ गते २०:२८
राखेप बोर्ड सदस्य नियुक्तिलाई लिएर खेलकुदमन्त्री विवादमा

२ असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का रिक्त ७ बोर्ड सदस्य नियुक्तिको विषयलाई लिएर युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी विवादमा परेका छन् ।

बोर्ड सदस्यमा उनले आफ्नो सचिवालयमा कार्यरत लालबहादुर जीसी, रञ्जना प्रधान, दिनेश व्यञ्जनकार, रामचन्द्र श्रेष्ठ, प्रतिमा चौधरी, विनोद चन्द र चन्द्रप्रसाद चौधरीको नाम सिफारिस गरेको सार्वजनिक भएको छ ।

यीमध्ये केही व्यक्ति खेलकुद क्षेत्रकै हुन् भने केही राजनीतिक निकटताका कारण सिफारिसमा परेका हुन् । व्‍यञ्जनकार ‘बी’ डिभिजन क्लब च्यासल युथका पूर्वअध्यक्ष हुन्, श्रेष्ठ भने होटल व्यवसायी हुन् । प्रधान भने मन्त्री चौधरी अध्यक्ष रहेको नाइटिङ्गेल स्कुलकी प्रधानाध्यापक हुन् ।

मन्त्री चौधरी भने बाहिर आएका नाम आफूले सिफारिस नगरेको जिकिर गर्छन् । ‘बाहिर बाहिरबाट साथीहरुले नाम भन्नु भएको होला तर मैले आफैंले भने कुनैपनि नाम सिफारिस गरेको छैन’, उनले अनलाइनखबरसँग भने ।

मन्त्रीले यसो भने पनि यी ७ जनाको नाम मन्त्रिपरिषदबाट अनुमोदनको तयारी भएको खेलकुद मन्त्रालय स्रोतको दाबी छ ।

नाइटिङ्गेल स्कुलकी प्रधानाध्यापक प्रधान यसअघि मन्त्री चौधरीसँगै ओलम्पिक खेलकुदका लागि फ्रान्सको पेरिस गएकी थिइन् । नेपाल ओलम्पिक कमिटीको स्पोर्टस फर अल (खेलकुद सबैका लागि) कमिसनको सदस्य रहेकी उनी मन्त्रालयको कोटामा ओलम्पिकमा गएकामा प्रश्न उठेको थियो ।

२६ जुलाई देखि १९ अगष्टसम्म भएको पेरिस ओलम्पिकमा ७ खेलाडी र उनका प्रशिक्षक भन्दा बढी ३९ जना पदाधिकारी विभिन्न कोटामा पेरिस पुगेका थिए । यसको चर्को विरोध भएको थियो ।

प्रसाईंको नियुक्ति पनि विवादमा

गत हप्ता भएको राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण शाखाको निर्देशकमा सोभितराज प्रसाईको नियुक्ति पनि विवादमा परेको थियो ।

वरियतामा आफू अगाडि हुँदा पनि प्रसाईंलाई निर्देशन नियुक्ति गरेको भन्दै वैद्यले राजीनामा दिएकी थिइन् । संगीनाभन्दा एक महिना ढिलो नियुक्त भएका प्रसाईं कांग्रेस निकट व्यक्ति हुन् ।

राखेपको अध्यक्षको हैसियतमा मन्त्री चौधरीले राखेप बोर्ड बैठक राख्नुपर्ने थियो । बोर्ड बैठक बस्न नसक्दा १० औं राष्ट्रिय खेलकुदको कार्यविधि पनि पारित हुन सकेको छैन । त्यस्तै आगामी मंसिरमा सुर्खेतमा हुने तय भएको १० औं राष्ट्रिय खेलकुद पनि समयमा हुने नहुने अन्योल छ ।

तेजुलाल चौधरी राखेप बोर्ड सदस्य
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय