+
+

प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने बाटोमा छौं : मुख्यमन्त्री आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १०:००

३ असोज,बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरुमा बढ्दो आकांक्षालाई सम्बोधन गर्न राजनीतिक दलहरुमा दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् ।

संविधान तथा राष्ट्रिय दिवस २०८१ को मुल समारोह कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन सबै सरोकारवाला निकायको जिम्मेवारीपूर्ण भूमिका रहने बताए ।

उनले योजना निर्माण र कार्यान्वयनको तहमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा रहेको दावी गर्दै दिर्घकालीन लक्ष्य निर्धारण गरेर योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेको बताए । ‘आर्थिक सुचकका हिसाबले कुल ग्राहस्थ उत्पादन बढेर गएको छ,प्रतिव्यक्ति आय, बहुआयमिक गरिबीको दर, बालमुत्युदर, मातृमृत्युदर घटेको छ’, मुख्यमन्त्रीले भने, ‘शिक्षा, स्वास्थ्य, सडक लगायत विकास पूर्वाधारहरुमा समेत नागरिकको पहुँचहरु वृद्धि भएको छ र सुशासन सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई नागरिक समक्ष पुर्‍याउने गरी हाम्रा कार्यक्रमहरु लक्षित छन् ।’

साझा अधिकार सूचीका कानुनहरु सबै नबन्दा केही कठिनाइ महसुस भएको मुख्यमन्त्री आचार्यले बताए । कानुनहरू संघीय सरकारबाट द्रुत गतिमा निर्माण गर्न प्रदेश सरकारले समन्वय र सहकार्य गर्न तत्पर रहेको उल्लेख गरे ।

न्युन जनशक्ति, नयाँ स्थानमा प्रदेश राजधानीको व्यवस्थापन, प्रदेश गौरवका आयोजनाको सम्पन्नता तथा न्यून जनशक्तिको व्यवस्थापनका लागि आवश्यक कानुन तर्जुमा तथा परिमार्जन गर्ने गरी सरकार अघि बढेको स्पष्ट पारे । ‘प्रदेशलाई सुशासनयुक्त, प्रविधिमैत्री बनाई नागरिकलाई पुर्‍याउने सेवामा थप प्रभावकारी बनाउने गरी समेत कार्य भइरहेका छ,’ उनले भने, ‘प्रदेशलाई भ्रष्टाचार मुक्त बनाउन र खर्चमा मितव्ययीता तथा सदाचारी शैलीको विकास गर्दै नागरिकका गुनासाहरुलाई समयमै सम्बोधन गर्ने बाटोमा छौं ।’

कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरले संविधानमा उल्लेखित अधिकारहरु कार्यान्वयन गर्न तीन तहका सरकारको विचमा समन्वय, सहकार्य र सहअस्तित्वको मुल मर्मलाइ आत्मसात् गरेर अघि बढ्न जरुरी रहेको बताए । संविधानलाई इमानदारीपूर्वक कार्यान्वयन र सबै दलको बीचमा सद्भावपूर्ण एकता कायम गरेर अघि बढ्नुपर्ने उनले सुझाए ।

निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता जोखबहादुर महराले समतामूलक समाज निर्माण गर्न, समृद्धि हाँसिल गर्ने आकांक्षा बोकेको संविधानको पूर्ण कार्यान्वयनमा सबै एक ठाउँमा उभिनु पर्ने बताए । राजनीतिक स्थायित्वको लागि जनताबाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रमुख छान्नेगरी संविधान संशोधन गरेर जान सकिने उनले बताए ।

अहिलेको संविधानको मुख्य उपलब्धी समानुपातिक र समावेशी प्रतिनिधित्व भएकाले यसलाई संशोधन गर्न नमिल्ने बताए ।
पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका दल नेता डिल्लीबहादुर चौधरीले विनाप्रहरीको प्रदेश सरकार हुन सक्दैन भन्दै संविधान दिवस मनाउदै गर्ने तर, संविधान लागू गर्न नसक्ने अवस्था रहेको बताए । प्रदेशको अधिकार लिन दवाव दिनुपर्नेमा उनले जोड दिए ।

संविधान दिवसका अवसरमा राजधानी राप्ती उपत्यकामा विभिन्न समुदायको कला संस्कृति झल्किने झाँकी प्रदर्शनी गरिएको छ ।

मगर, थारु, नेवार, ब्राहमण लगायतका समुदायले आ-आफ्नो समुदायको कला संस्कृतिसहितको झाँकी प्रदर्शन गरेका हुन । राप्ती नेवारी समाजले परम्परागत रोपाइ जात्रा, थारु समुदायको झाँकी, राप्ती स्काउट समूहले स्काउट झाँकी, राप्तीको नौमती बाजासहितको झाँकी प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?