+
+

हेली एम्बुलेन्सका लागि आमरण अनसन

विकास रोकामगर विकास रोकामगर
२०८१ असोज ३ गते १९:१९

३ असोज, काठमाडौं । तेह्रथुमका ४२ वर्षीय दीपक सिलवाल २ हप्तादेखि रत्नपार्क शान्तिवाटिकामा अनसन बसिरहेका छन् । उनको एउटौ माग छ, ग्रामीण क्षेत्रका सुत्केरी महिला ता विपद्मा परेकाहरुको सहज उद्धारका लागि २ वटा हेली एम्बुलेन्स व्यवस्था गर्नुपर्‍यो ।

सिलवालले पछिल्लो समय ग्रामीण भेगका सुत्केरीहरुको उद्धार कार्यमा सहजीकरण गर्दै आएका आएका थिए । ‘६ वर्षअगाडितिर कामको सिलसिलामा डा. भोला रिजालसँग भेट भएको थियो । उहाँसँगै सहकार्य गरेर अलिअलि सुत्केरी उद्धार गर्न थालेको हुँ’, उनले अनलाइनखबरसँग भने ।

उनले हालसम्म आफ्नै खर्चमा १३ जना सुत्केरी उद्धार गरिसकेका छन् । आफूले धाडिङ, जाजरकोट, ओखलढुंगा, सोलुखुम्बुलगायत जिल्लाबाट सुत्केरी महिलाको उद्धार गरेको उनले सुनाए ।

सामाजिक सञ्जालले सिलवाललाई ग्रामीण भेगका सुत्केरी तथा विपद्मा परेका नागरिकको उद्धारकका रुपमा चिनाएको छ । उनका अनुसार अप्ठ्यारो परेका मानिसहरु उनकै सम्पर्कमा आइरहँन्छन् ।

तर उनी त्यसका लागि चाहिने खर्च व्यहोर्न सक्ने अवस्थामा छैनन् । हेली उद्धार निकै खर्चिलो हुने हुँदा आफूसँग भएको सबै सम्पत्ति सकिइसकेको उनी बताउँछन् । उनका अनुसार हेलिकप्टर कम्पनीलाई अझै ९/१० लाख रुपैयाँ तिर्नै बाँकी छ । आर्थिक अभावकै कारण समयमा उद्दार गर्न नपाउँदा आफ्नो सम्पर्कमा आएका १० जना सुत्केरीको मृत्यु भएको उनी बताउँछन् ।

सिलवालका अनुसार यसरी फोन आएपछि उनी पहिलो खबर ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मा गर्छन् । तर कहिले कार्यविधि अनुसारको क्षेत्रमै नपर्ने त कहिले हेली व्यस्त भएको खबर आउने गरेको उनी बताउँछन् ।

‘२ वर्षअघि पहिले पनि धाडिङ सदरमुकाम बेंसीसहरबाट एकजना महिलाको उद्धार गर्न खबर आएको थियो । उहाँहरुले खबर गरिसकेपछि मैले राष्ट्रपति महिला उत्थान महिला उत्थान कार्यक्रमलाई खबर पनि गरें’, उनी भन्छन्, ‘तर, उहाँहरुले उक्त ठाउँ कार्यविधिअनुसार नपर्ने भनेर उद्धार गर्न मान्नु भएन ।’

एम्बुलेन्समै राखेर उद्धार गर्न पनि असम्भव भएपछि सिलवालकै खर्चमा धाडिङ गजुरीबाट हेली उद्धार गरेर टिचिङ अस्पताल ल्याइयो । ‘त्यहाँ ल्याएको ५/६ मिनेटमै उहाँको डेथ भयो । डाक्टरले पनि बेलैमा ल्याउन पाएको भए बचाउन सकिन्थ्यो भन्नुभयो । त्यसबेला कस्तो लाग्छ होला ?’ उनी भन्छन् ।

त्यसैले उनले आफ्नो अनको माग नै राष्ट्रपति महिला उत्थान महिला उत्थान कार्यक्रमको कार्यविधिमा भएको त्रुटिपूर्ण व्यवस्था हटाउनुपर्ने र सबै ग्रामीण भेगका महिला तथा विपद्मा परेका नागरिकका लागि हवाई उद्धार खुला हुनुपर्ने राखेका छन् । उनी भन्छन्, ‘त्यसका लागि २ वटा हेली एम्बुलेन्स डेडिकेटेड रुपमा तयारी अवस्थामा राख्नुपर्छ, एउटा काठमाडौं र अर्को कर्णाली प्रदेशमा ।’

के छ कार्यविधिमा ?

ग्रामीण भेगका महिला उत्थानका लागि ०७३ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको जोडबलमामा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ ल्याइएको थियो । सुरुमा विभिन्न ३५ जिल्लामा महिलाले उत्पादन गरेका सामग्री मेला तथा प्रदर्शनी गरेर कार्यक्रम सुरु गरिएको थियो ।

पछि आर्थिक वर्ष ०७५/०७६ मा सोही कार्यक्रमअन्तर्गत दुर्गम हिमाली तथा पहाडी भेगका सुत्केरी तथा गर्भवती महिलाको उद्धारका लागि कार्यविधि बनाएर हेली उद्धार गर्ने योजना ल्याइयो ।

त्यतिबेला आफूलाई राष्ट्रपति कार्यालयबाटै फोन आएको उनी सम्झन्छन् । ‘अब तपाईंले उद्धार गर्नुपर्दैन, तपाईंलाई आएको सूचना हामीलाई दिनुहोस्, हामी उद्धार गर्छौं भन्नुभएको थियो’, अनसनरत सिलवाल भन्छन्, ‘तर सोचेभन्दा विल्कुल फरक बन्यो । एउटै जिल्लामा कुनैमा उद्धार हुने, कुनैमा नहुने भयो ।’

०७७ असोज ११ गतेदेखि कार्यान्वयनमा आएको उक्त कार्यविधिले १८ वटा जिल्लालाई हवाई सुविधा पूर्ण रुपमा पाउने र २९ वटा जिल्लाका विभिन्न पालिका तोकेर आंशिक सुविधा पाउने व्यवस्था गरेको छ ।

उक्त कार्यविधिका अनुसार पूर्ण रूपमा हवाइ लागू भएको १८ जिल्लामा ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा,  कालिकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दार्चुला छन् ।

तर, ती जिल्लामा हवाई उद्धारका लागि कार्यालयमा खबर गर्दा पनि सकारात्मक प्रतिक्रिया नपाएको सिलवालको भनाइ छ ।

‘पूर्ण रुपमा सुविधा पाउने भनिएको जिल्लामै त्यस्तो अनुभव कैयौं पटक भोगेको छु । त्यसमाथि आंशिक जिल्लामा अर्को समस्या छ’, उनी भन्छन्, ‘सिन्धुपाल्चोकमै जुगल गाउँपालिकाको महिलाको उद्धार हुँदा अर्को पालिकाको महिलाको मृत्यु हुँदा पनि सरकारले कार्यविधि देखाएर उद्धार गर्दैन ।’

अनसनरत सिलवालका अनुसार हेलीमार्फत उद्धारको काम सरकारले गरिरहेको छ भन्ने सन्देश लिएर ५ दिन अगाडि जिल्ला प्रशासन कार्यालयबाट टोली आएको थियो । तर आफूले त्यसमा भएको समस्यालाई लिएर अनसन बसेको बताएपछि फेरि आउँछौं टोली फर्कियो ।

त्यसयता सरकारले कुनै सम्वाद गरेको छैन । २१ भदौदेखि अनरनरत सिलवालको स्वास्थ्य अवस्था भने बिग्रिँदै गएको छ । बुधबार अनसन स्थलमा पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोलीले उनको स्वास्थ्य परीक्षणका साथै जीवन रक्षाका लागि पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

‘मैले यही कामका लागि सम्पत्ति, परिवार सबथोक गुमाएँ । यसलाई पार नलगाए अहिलेसम्मको मेरो प्रयास पनि खेर जान्छ’, सिलवाल भन्छन्, ‘अब माग पूरा नभएसम्म अनसन जारी राख्छु । मेरो प्रयास सुत्केरी महिलाहरुका मात्रै हैन, सबै नागरिकको जीवन रक्षाका लागि हो ।’

तस्वीरहरु: चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?