+
+

‘ज्वाइँ साब’मा चल्ला जितु र नीतिको जोडीको जादू ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १७:२४

काठमाडौं । असोज २४ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’ यतिबेला स्टारकास्टको कारणले पनि चर्चामा छ । एकातिर यो फिल्ममा ब्युटी पेजेन्टको पृष्ठभूमिबाट आएकी सुन्दरी नीति शाह लिड रोलमा छिन्, अर्कोतिर हाँस्य कलाकारिताको पृष्ठभूमिबाट आएका जितु नेपाल ।

यी दुई कलाकारले शीर्ष भूमिकामा अभिनय गरेका छन् । फिल्ममा साइन गरेदेखि प्रवर्धन सामग्रीमा यी दुई चर्चाको केन्द्रमा छन् । सामाजिक संजालमा समेत यी दुईको जोडीको चर्चा छ ।

साइन गरेदेखि नै धेरैले यी दुईको अनस्क्रिन जोडी कस्तो देखिएला भनेर कौतुहलता दर्शाइरहेका थिए । यस्तोमा फिल्मको पोस्टर, टिजर र गीत ‘कसम बत्ती’को रिलिजले फिल्मप्रति फिल्मकर्मी र दर्शकको कौतुहलतालाई एक हदसम्म मेटाइसकेको छ ।

अभिनयमा दुई दशक बिताइसकेका जितु र फिल्मवृत्तमा नयाँ अनुहारका रुपमा उदाएकी नीतिको रसायन फिल्मको पछिल्लो गीत ‘कसम बत्तीको’मा देख्न सकिन्छ । टिकटकमा यो गीतको चर्चा अहिले छ । प्रेमभाव दर्शाउने गीतमा सबैखाले उमेर समूहका दर्शकले टिकटक बनाइरहेका छन् ।

जितु र नीतिलाई बेहुला बेहुलीको गेटअपमा प्रस्तुत गर्दा पोस्टरले राम्रै चर्चा पाएको थियो । पोस्टरमा जितुलाई डोलीमा राखेर कलाकारद्वय हिमेश पन्त र बुद्धि तामाङले बोकेको र जितुको अगाडि नीति बेहुली रुपमा उभिएकी छिन् । यो पोस्टरले पनि फिल्मको कथावस्तु कस्तो होला भन्ने चासो र कौतुहलता फिल्मकर्मीसँगै दर्शकमा व्याप्त छ ।

सामान्यतयाः विवाहमा बेहुलीलाई डोलीमा चढाईन्छ । तर यो फिल्मको पोस्टर, टिजर र गीतमा भने बेहुलालाई डोलीमा चढाईएको छ । निर्देशक वसन्त निरौला नेपाली फिल्ममा देखिइरहने कथाभन्दा ‘ज्वाइँसाब’मा फरक कथा दर्शकले हेर्न पाउने बताउँछन् ।

‘पोस्टर, टिजर र गीत रिलिज पछि फिल्मले राम्रो हाइप पाएको छ । प्रमुख कलाकार जितु नेपाल र नीति शाहको गेटअपले पनि फिल्मप्रति चासो बढाइदिएको छ’, वसन्त भन्छन्, ‘दुवै कलाकारले फिल्ममा चरित्र अनुसार न्याय दिनुभएको छ ।’ राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल लगायतको अभिनय छ

विजय बस्याल कार्यकारी निर्माता रहेको यो फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । रेडआई फिल्मस्को प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा यो फिल्म निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?