+
+

धरहरा चढ्नेको घुइँचो 

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १९:३३

३ असोज, काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुनर्निर्माण भएपछि बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

अर्को व्यवस्था नभएसम्म निःशुल्क प्रवेश दिइएकाले धरहरा चढ्नेको घुइँचो लागेको हो ।

सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन ५ सय जना अवलोकनकर्तालाई धरहरामा निःशुल्क चढ्न दिइने छ । यसमा ४ सय जना सवलाङ्ग र १ सय जना भिन्न क्षमता भएका हुनेछन् ।

विनाशकारी भूकम्पपछि ढलेको धरहरासँगै उस्तै नयाँ धरहरा निर्माण गरिएको हो । ढलेको पुरानो धरहराको भग्नावशेष भने सुरक्षित राखेर अवलोकन गर्न मिल्ने बनाइएको छ । धरहरा चढ्न परिचय खुल्ने नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमतिपत्र वा राहदानीको छायाप्रति भए पुग्छ ।

सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रूपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

२०७२ को भूकम्पले भत्किनुअघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धरहरा सञ्चालन तथा व्यवस्थापन जिम्मा दिएको थियो । महानगरले भने एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो ।

नयाँ धरहरा बनेपछि काठमाडौं महानगरले संघीय सरकारसँग धरहरा चलाउन ठेकेदारलाई जिम्मा दिनु सट्टा फेरि आफैंलाई जिम्मा दिन माग गरेको थियो ।

तर, संघीय सरकार अब महानगरलाई धरहरा चलाउन र व्यवस्थापन गर्न दिने पक्षमा देखिएको छैन । २७ भदौको मन्त्रिपरिषद् बैठकले धरहरा सञ्चालन सम्बन्धी यसअघिका सबै निर्णय खारेज गरिसकेको छ ।

बाहिरबाट हेर्दा पुरानै स्वरूपको ११ तला जस्तो देखिने धरहरामा अहिले भित्री संरचना २२ तलाको छ । धरहरामुनि तीन तले भूमिगत पार्किङ बनेको छ । यहाँ प्रशासनिक भवन र संग्रहालय तथा बगैंचा समेत बन्दैछ ।

अहिलेसम्म धरहरा निर्माणको ९५ प्रतिशत मात्रै काम सकिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख २०७८ मा आधा काम पनि नसकिँदै धरहराको उद्घाटन गरेका थिए ।

त्यसपछि पनि निर्माण चलिरहेकाले धरहरा चढ्न खुला गरिएको थिएन । फेरि, प्रधानमन्त्री भएपछि ओलीले काम नसकिए पनि धरहरा चढ्न पाउने प्रबन्ध मिलाउने गरी मन्त्रिपरिषद्‍बाट निर्णय गरेका हुन् ।

default
default
default

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?