+
+

दुई महिनामै थपियो करिब १ खर्ब सार्वजनिक ऋण

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार भदौ मसान्तसम्म ९४ अर्ब ५२ करोड बराबर ऋण थपिएको हो । असार २०८१ सम्म २४ खर्ब ३४ अर्ब रहेको सार्वजनिक ऋण दुई महिनामै २५ खर्ब २८ अर्ब नाघेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ असोज ३ गते १९:४१

३ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा झन्डै १ खर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार भदौ मसान्तसम्म ९४ अर्ब ५२ करोड बराबर ऋण थपिएको हो । असार २०८१ सम्म २४ खर्ब ३४ अर्ब रहेको सार्वजनिक ऋण दुई महिनामै २५ खर्ब २८ अर्ब नाघेको छ ।

योसँगै कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सार्वजनिक ऋण अनुपात समेत ४४.३२ प्रतिशत हाराहारी पुगेको छ । कार्यालयका अनुसार यसरी दोस्रो महिनामै ह्वात्तै सार्वजनिक ऋण उचालिनुमा एकातर्फ आन्तरिक ऋण परिचालन दोस्रो महिनामै ९० अर्ब रुपैयाँ हाराहारी हुनु र दोस्रो विनियम दर अनुसार अमेरिकी डलरको मूल्य बढ्दा नेपाली रुपैयाँमा सरकारले तिर्ने ऋणको हिस्सा बढ्न पुगेको देखिन्छ ।

कार्यालयका अनुसार भदौ मसान्तसम्म कुल सार्वजनिक ऋणमा आन्तरिक ऋण हिस्सा १२ खर्ब ३५ अर्ब ९० करोड रहेको छ । यो जीडीपीको २१.६६ प्रतिशतजति हो । वाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । यो जीडीपीको २२.६६ प्रतिशत हुन आउँछ ।

यो महिनासम्म सरकारले कुल सार्वजनिक ऋण १ खर्ब ४ अर्ब उठाएको छ । जसमध्ये आन्तरिक ऋण ९० अर्ब लिइएको छ भने वाह्य ऋण १४ अर्ब ५ करोड लिइएको छ ।

पछिल्लो दुई महिनामा विनिमय दरमा आएको परिवर्तनका कारण वाह्य ऋणमा ३० अर्ब १४ करोड ऋणभार थपिएको छ । उता, दुई महिना अवधिमा कुल ३९ अर्ब ६७ करोड रुपैयाँ सार्वजनिक ऋण भुक्तानीमा खर्च भएको छ ।

यसरी दुई महिनामा १ खर्ब रुपैयाँ हाराहारी खुद सार्वजनिक ऋण बढ्न पुगेको हो । सार्वजनिक ऋण प्राप्ति गर्नु बाध्यता भए पनि यसको सही सदुपयोग गर्नुपर्ने विज्ञले बताउँदै आएका छन् ।

कार्यालयले भने विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको पछिल्लो ऋणको दिगोपना विश्लेषणमा नेपालको सार्वजनिक ऋणमा वैदेशिक तथा कुल सार्वजनिक ऋण परिमाण जोखिम रहित देखाएको छ ।

यो विश्लेषण असार मसान्तसम्मको तथ्यांकमा आधारित छ । उक्त तथ्यांक अनुसार जीडीपीको ४२.६७ प्रतिशत सार्वजनिक ऋण थियो । तर, दुई महिनामै बढेको ऋणले भने पुनः जोखिम उन्मुख संकेत गरेको छ ।

दुई महिनामै उठाइयो लक्ष्यको १८.६६ प्रतिशत ऋण

चालु आव सरकारले कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन लक्ष्य राखेको छ । भदौसम्म उठाइएको सार्वजनिक ऋण लक्ष्यको १८.६६ प्रतिशत हो ।

यो वर्ष सरकारले दुई महिनामा आन्तरिक ऋणतर्फ लक्ष्यको २७.२७ प्रतिशत उठाइसकेको छ । यस वर्ष ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ ।

वाह्य ऋण लक्ष्य २ खर्ब १७ अर्ब रुपैयाँ छ । भदौसम्म १४ खर्ब ५ अर्ब रुपैयाँ उठाइएको छ । जुन लक्ष्यको ६.४८ प्रतिशतमात्र हो । वाह्य ऋण भने विकास निर्माण गतिमा समेत निहित रहन्छ । विकास निर्माणको सुस्त गतिका कारण सरकारले लक्ष्य अनुसार प्राप्ति गर्न सकिरहेको छैन ।

भुक्तानी पुग्यो १२ प्रतिशत

यस वर्ष लक्ष्यको ११.८४ प्रतिशत रकम भुक्तानी भइसकेको छ । कार्यालयका अनुसार भदौसम्म सरकारले ४७ अर्ब ७१ करोड रुपैयाँ बजेट ऋण भुक्तानीमा खर्च गरेको छ । यो लक्ष्यको ११.८४ प्रतिशत हो । यस वर्ष सरकारले ऋण तिर्न ४ खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । जुन पूँजीगत खर्चभन्दा धेरै हो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?