+
+

‘बलिदान’बारे हरिवंश : ‘कम्युनिस्ट सरकारले फिल्म बनाएको भनेर हल्ला चलाइयो’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १३:४२
तस्वीर सौजन्य : कर्ली म्यान फिल्म्स

काठमाडौं । अभिनेता हरिवंश आचार्यले आफू अभिनित फिल्म ‘बलिदान’ देशका लागि सुन्दर उपहार भएको बताएका छन् । चलचित्र विकास बोर्डले प्रदान गरेको सांस्कृतिक रुपान्तरण पुरस्कार-२०८१ ग्रहण गर्दै उनले यो फिल्मलाई लिएर त्यतिबेला कम्युनिस्ट सरकारले फिल्म बनाएको भन्ने हल्ला चलेको बताए ।

‘त्यतिबेला यो फिल्मले पैसा कमाएन । निर्माता पनि आर्थिक रुपमा घाइते हुनुभो । तर यो फिल्म देशका लागि उपहार हो’ हरिवंशले भने, ‘यसमा निर्माताको योगदान खेर जाँदैन ।’

फिल्ममा समावेश संवाद भविष्यवाणी जस्तै रहेको उनको भनाइ छ । ‘हामीले बलिदानमा राखेका संवाद अहिले सुन्दा भविष्यवाणी जस्तै लाग्छ । ती डायलगअनुसार नेताले काम गरेको भए, यो स्थिति हुने थिएन ।’

‘देश अहिले पनि सम्मानित हुनसकेको छैन । हामी मात्र सम्मानित भएर भएन, संविधान र देश पनि सम्मानित हुनुपर्‍यो’ हरिवंशले भने । सरकार पनि फिल्म जस्तै रहेको भन्दै हरिवंशले कटाक्ष गरे ।

‘सरकार पनि चलचित्र जस्तो हो कि जस्तो लाग्छ । जनताले स्थायित्व र समृद्धि खोजेका छन् । सरकार बदलिएको बदलियै छ’ उनले भने, ‘अब राजनीतिले होइन, समृद्धिले जनता पाल्नुपर्छ ।’ अहिले चर्चामा रहेजस्तो संविधान पुनरावलोकनको कुरा पनि हरिवंशले गरे । ‘संविधान यसरी संशोधन हुनुपर्छ जहाँ सबै जातजाति र भाषाभाषीका नागरिकले शिर उँचो पार्न सकुन्’ उनले भने ।

आफू अभिनित फिल्म ‘बलिदान’बाट हरिवंशले उत्कृष्ट अभिनेताको पुरस्कार पाएका हुन् । चलचित्र विकास बोर्डले संविधान दिवसको अवसरमा शुक्रबार बिहान सांस्कृतिक रुपान्तरणमा योगदान पुर्‍याएको भन्दै सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१ प्रदान गरेको छ । कुनैबेलाको लोकप्रिय फिल्म ‘बलिदान’का निर्माता, निर्देशक, अभिनेता र संगीतकारलाई पनि पुरस्कार प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?