
४ असोज, काठमाडौं। सूर्य दर्शन बचत तथा सहकारी संस्थाका पूर्व सञ्चालक सदस्य भविश्वर अर्यालले उक्त संस्थाबाट रवि लामिछाने नाममा जारी भएको ऋण पूर्व गृहमन्त्री रवि लामिछाने हुनसक्ने संसदीय छानबिन समितिलाई बयान दिएका छन् ।
संसदीय छानबिन समितिको सोधपुछका क्रममा अर्यालले ५०-५० लाख दुई पटक पेश्किका रुपमा गोर्खा मिडिया प्रालिको बैंक खातामा जम्मा भएको उनले बताएका छन् । रकम जम्मा गर्ने क्रममा लामिछानेको नागरिकता र अरु प्रमाण नभेटिएपनि गोर्खा मिडियामा पैसा गएकाले पूर्व गृहमन्त्री लामिछाने नै हुनसक्ने अर्यालले बताएका छन् ।
‘कुमारीपाटी ललितपुरमा रहेको जीबी ग्रुप अफ कम्पनीज्मा म आफ्नो नियमित कामको लागि जाँदा निज रवि लामिछाने र दिपेश पुनसँगै म पनि थिएँ,’ अर्यालले सोधपुछका क्रममा भनेका छन्,‘रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिबाट राजीनामा दिएर छोडेपछि सोही रकम गोर्खा मिडियामा नेटवर्क प्रालिमा सारिनुले उक्त रवि लामिछाने भन्ने व्यक्ति पूर्व उपप्रधान तथा गृहमन्त्री र प्रतिनिधि सभाका माननीय सदस्य हुन् कि भन्न सकिन्छ ।’
कास्की कारागारमा थुनामा रहेका अर्याल गितेन्द्रबाबु राईले सञ्चालन गरेको गोर्खा बेवलिङ प्रालिमा सिनिय सफ्टवेयर निर्माणकर्ताको रुपमा १६ मे २०१५ देखि नोभेम्बर २०२२ सम्म कार्यरत थिए । राईले सञ्चालन गरेका ६ वटा सहकारीको जिसीएम बैकिङ सफ्टवेयरका लागि उनले काम गरेका थिए ।
समितिले अर्यालसँग २९ साउनमा पोखरा कारागारबाट झिकाएर सोधपुछ गरेको थियो ।
प्रतिक्रिया 4