+
+

भरतपुर क्यान्सर अस्पतालले थप २ फार्मेसी थप्ने, डेन्टल सेवा चलाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते २०:००

४ असोज, चितवन। चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले चालु आर्थिक वर्षमा नै अस्पतालमा थप २ वटा फार्मेसी थपेर सेवालाई थप सुधार गर्ने जनाएको छ । यस्तैं, बिरामीहरुको सुविधाका लागि डेन्टल सेवा पनि सुरु गरिने अस्पतालले जनाएको छ ।

अस्पतालको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा.विजय न्यौपानेले अस्पतालले चालु आर्थिक वर्ष भित्र नै यी दुईवटा महत्वपूर्ण कामहरु गर्ने बताए। ‘अहिले भैरहेको फार्मेसीमा मात्रै बिरामीको चाप देखियो, थप सुविधाका लागि दुईवटा अरु फार्मेसी थप्ने योजनाका साथ तयारी भइरहेको छ, अर्को डेन्टलको क्यान्सर भएका बिरामीलाई उपचार दिन डेन्टल सेवा चलाउने काम अगाडि बढेको छ,’ अध्यक्ष न्यौपानेले भने, ‘हरेक वर्ष बिरामीको चाप बढ्दै गएकोले सेवा पनि विस्तार गर्नुपर्ने दायित्व हामीहरुको छ ।’

अस्पतालमा गत आर्थिक वर्ष २०८०÷०८१ मा बहिरंग विभागमा मात्रै १ लाख ८८ हजार ५ सय १४ बिरामीले सेवा लिएका थिए । यस्तो संख्या अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा १ लाख ६६ हजार २ सय रहेको थियो । तीमध्ये गत वर्ष ६ हजार ७ सय ९५ जनामा क्यान्सर रोग लागेको पत्ता लागेको थियो ।

अघिल्लो वर्ष ६ हजार ४ सय ८० मा जनामा क्यान्सर लागेको पुष्टि भएको थियो । अस्पतालका ८ वटा मोडुलर ओटीमा दैनिक २० वटा ठूला अप्रेशन हुने गरेको छ । अहिले अप्रेशनको पालो कुर्नपर्ने अवस्थामा धेरै नै कमी आएको अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले बताए ।

उनका अनुसार मेजर बायोप्सी परीक्षणमा लाग्ने समय घटाई एक महिना भित्र र माइनर बायोप्सीको एक हप्तामा नै रिर्पोट दिने व्यवस्था गरिएको छ । यसअघि मेजर बायोप्सीको रिर्पोट आउन ३ महिना लाग्ने गरेको थियो । तीन महिनासम्म बिरामीमा क्यान्सर फैलिने समस्या थियो ।

कार्यकारी निर्देशक पौडेलले चाडै नै माइनर बायोप्सीको रिर्पोट ३ दिनमा र मेजरको २ हप्ता भित्रै दिने व्यवस्थाका लागि काम भैरहेको बताए । प्याथोलोजी सेवालाई थप प्रभावकारी बनाउन मोलिक्यूलर ल्याव सञ्चालनको तयारी गरिएको डा. पौडेलले जानकारी दिए ।

अस्पतालले उपचारका साथसाथै क्यान्सर सचेतना, स्क्रीनिङ्ग तथा खोप सम्बन्धी विभिन्न कामहरुसमेत गर्दै आएको छ । गत वर्ष १२ सय डोज एचपीभी खोप निशुल्क लगाइएको छ । ५ हजा ६ सय ९२ नना महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण, ६ हजार ४५ जनाको स्तन क्यान्सर परीक्षण लगायतका क्यान्सर सचेतना सम्बन्धी विभिन्न कार्यक्रम गरिएको डा. पौडेलले जानकारी दिए ।

सर्जिकल अंकोलोजी (गाइने, जिआई, वेष्ट, थोरासिक, इएनटी,यूरो, न्यूरो अर्थो) मेडिकल अंकोलोजी, रेडियसन अंकोलोजी, प्याथोलोजी, रेडियोडायग्नोसिस एण्ड इमेजिङ्ग, न्यूक्लियर मेडिसिन,एनेस्थेसियोलोजी, प्यालिएटिभ केयर तथा हस्पीस, डेकेयर, इकोकार्डियोलोजी सेवा दिँर्द आएको अस्पतालले बोनम्यारो प्रत्यारोपण, टोमोथेरापी, साईक्लोट्रोनसहितको पेट सि.टी.स्क्यान सेवा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?