+
+

लघुकथा : खल्ती ज्वरो

रामकृष्ण ढकाल रामकृष्ण ढकाल
२०८१ असोज ५ गते १२:४२

प्रथम श्रेणीका अधिकृत कृपणराज शर्मालाई साँझपखदेखि नै अलि असजिलो भयो । छातीमा बेस्सरी चिलायो, पेट बटारियो, केही खान मन लागेन । कोहीसँग केही बोल्ने रुचि भएन ।

उनी चारतले, पन्ध्र कोठे घरको माथिल्लो तलाको कोठा बाहिर झोक्राएर धुम्धुम्ती बसिरहे । घरकी सेविकाले ल्याएको नास्ता खान्नँ भने । काखमा एउटा झोला थियो जुन झोला उनले सधैं कार्यालय जाँदा बोकेरै जान्थे ।

घरका जहान परिवारले सोधखोज गरे, सकेसम्म नम्र भएर कुरा गरे तर कृपणराजले आफ्नो ब्यथा खोलेनन् । फोनबाट डाक्टर बोलाइयो । डाक्टरले ज्वरो नाप्ने, रक्तचाप नाप्ने, अक्सिजन नाप्ने आदि यन्त्रहरूको उपयोग गरे । तर केही खुटिएन ।

अन्त्यमा कृपणराजको छोरो हजमकुमारले एउटा उपाय सोचे । त्यसै अनुसार कृपणराजको कार्यालयमा कार्यरत सहायकलाई बोलाएर दिउँसो कार्यालयमा के भएको थियो भनेर सोध्ने बुझ्ने निर्णय गरे ।

जब कार्यालयमा कृपणराजका सहायक अगस्तिराज आए र दिउँसोको कार्यालयको घटनाका बारेमा कुरा गर्न थाले तब घर परिवारका सबैजना अचम्मित भए । किनभने कृपणराजको बिसन्चो धेरै दिन पछि कार्यालयमा दिनभरि कोशिस गर्दा पनि एक रुपैयाँ पनि खल्तीमा हाल्न नपाएकाले उत्पन्न भएको रहेछ ।

उनको छाती होइन सर्टको खल्ती चिलाएको रहेछ । कार्यालय जाँदा बोक्ने झोला रित्तै फर्काउनुपरेको पीडा रहेछ । अनि प्रत्येक दिन घुस नपाए दालभात, खाजा- नास्ता केही हेर्नै मन नलाग्ने रोग नै भएको रहेछ ।

कृपणराज र अगस्तिराजको कार्यालयमा घुसको राज नचलेको दिनमा प्रथम श्रेणीका अधिकृतलाई यस्तो बिसन्चोको जग बसेको १५ वर्षअघि खरिदार हुँदादेखि नै रहेछ । अनि उनीहरुको कार्यालयमा यस्तो समस्याको नाम रहेछ पकेट फिभर अर्थात् खल्ती ज्वरो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?