+
+

उत्तरी गोरखाबासीको माग : हेलिकप्टर चार्टर्ड सजिलो बनाइदेऊ

विकास मरहट्टा विकास मरहट्टा
२०८१ असोज ५ गते १७:२७

५ असोज, गोरखा । उत्तरी गोरखाका बासिन्दाले हेलिकप्टर उडानको प्रक्रिया सहज बनाउन सरकारसँग माग गरेका छन् ।

सडक सुविधा नपुगेको त्यस क्षेत्रमा हेलिकप्टर चार्टर्डका लागि अनुमति लिने प्रक्रिया झञ्झटिलो रहेको भन्दै सहज बनाउन उनीहरुले माग गरेका हुन् ।

हेलिकप्टर उडानको बिषयमा छलफल गर्न शुक्रबार चुमनुब्री गाउँपालिका–१ सामागाउँमा स्थानीय बासिन्दाको भेला थियो । भेलाले कुनै एक सरकारी कार्यालयको अनुमति लिई हेलिकप्टर चार्टर्ड गर्ने व्यवस्था मिलाइदिन माग गरेको छ । बिरामीबाहेकका अन्य प्रयोजनका लागि हेलिकप्टर उडानको अनुमति दिन ढिलासुस्ती हुने गरेको उनीहरुको गुनासो छ ।

‘यस क्षेत्रमा बिरामी पर्ने पर्यटक तथा स्थानीय, सुत्केरी महिला र दैनिक आवश्यकीय प्रयोजनका लागि हेलि उडान गर्न चार्टर्डवालाले सरकारको विभिन्न चरणहरु पार गर्दै अनुमति लिनुपर्छ’, स्थानीय मिङमार लामाले भने, ‘बिरामीलाई बाहेक अन्य चार्टर्डका लागि अनुमति दिन करिव एक हप्ता लगाइदिन्छ ।’

अनुमतिमा ढिलाइ भएकै कारण आपतकालीन कामका हेलिकप्टर चार्टर्ड सफल नहुने भन्दै कुनै एक सरकारी निकायबाट मात्र अनुमति दिने व्यवस्था मिलाउन माग गरिएको उनले बताए ।

आपतकालीन उडान गर्नुपर्ने अवस्थामा सम्बन्धित क्षेत्रको स्थानीय प्रहरीको सिफारिसमा चेकजाँच गरी तत्काल उद्धार हुनुपर्ने स्थानीयको माग छ ।

उत्तरी क्षेत्र आउजाउ गर्ने हेलिकप्टरमा सिट रहेको खण्डमा न्यूनतम महशुल तिरी सम्बन्धित प्रहरी तथा नेपाल सरकारको सरोकारवालाको सिफारिसमा स्थानीयवासी हेलिकप्टर चढ्न पाउने व्यवस्थाका लागि सहजीकरण गरिदिन समेत उनीहरुले आग्रह गरेका छन् ।

मनास्लु संरक्षण क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर पर्यटकसँग विभिन्न शुल्क लिँदै आएपनि पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण नभएको उनीहरुको गुनासो छ ।

पर्यटकलाई अनावश्यक रुपमा विभिन्न दुख दिने गरेको भन्दै यस क्षेत्रलाई खुल्ला पर्यटन व्यवस्थापनका लागि आवश्यक निर्णय गर्न सम्बन्धित निकायसँग स्थानीयले माग गरेका छन् । पाँच दिनभित्र माग पूरा नभए सो क्षेत्रमा हेलिकप्टर उडान गर्न नदिने उनीहरुले चेतावनी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले उद्धारको हकमा बिरामीको गम्भीरता हेरेर बढीमा आधाघण्टा भित्र हेलिकप्टर उडानका लागि सिफारिस गर्ने गरेको बताए । चार्टर्डको हकमा भने विस्तृत रुपमा बुझेर आवश्यकताको पहिचानको आधारमा सिफारिस गर्ने गरेको उनले जानकारी दिए ।

निषेधित क्षेत्र भएकाले सो क्षेत्रमा हेलिकप्टर उडानका लागि जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य छ । आवश्यकताको आधारमा प्रशासनले सिफारिस गरेपछि मात्र हेलिकप्टर उडानको स्वीकृति प्राप्त हुन्छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?