+
+

साउदीमा पहिलोपटक नेपाली फिल्म, ‘छक्कापञ्जा ५’ कात्तिक १ मा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ५ गते २०:३७

काठमाडौं । मध्यपूर्वमा नेपाली फिल्मको बजार विस्तार हुने क्रममा छ । नेपाली श्रमिकको प्रमुख गन्तव्य बजार साउदी अरबमा पहिलोपटक नेपाली फिल्म रिलिज हुने भएको छ ।

मध्यपूर्वमा नेपाली फिल्मको नियमित प्रदर्शन गर्दै आएको वितरण कम्पनी नेप-फिल्म्सले ‘छक्कापञ्जा ५’लाई कात्तिक १ गते (१७ अक्टोबर)मा साउदीमा रिलिज गर्न लागेको हो ।

‘साउदीमा रिलिजको टुंगो लागेको छ । नेपाली फिल्मले प्रदर्शनको इतिहास रच्दैछ’ नेप-फिल्म्सका प्रमुख रमेश ढकालले दुबईबाट अनलाइनखबरसँग भने, ‘हामीले साउदीका हलहरुमा देशब्यापी फिल्मलाई रिलिजको तयारी गर्दैछौं ।’

साउदीबाहेक ‘छक्कापञ्जा ५’ युएई, कतार, बहराइन र ओमानमा प्रदर्शन हुँदैछ । नेपाल रिलिजको एकसातापछि मध्यपूर्वका दर्शकले यो फिल्म हेर्न पाउने भएका हुन् ।

वितरण कम्पनी नेप-फिल्म्सका प्रमुख रमेश ढकाल : फाइल तस्वीर

‘साउदी अरब नेपाली फिल्मका लागि ठूलो गन्तव्य बन्न सक्छ’ ढकालले भने, ‘हामी नयाँ बजारको खोजीमा जुटिरहेका छौं, वर्षेनी नयाँ बजार खोज्ने हाम्रो लक्ष्य छ ।’ सन् २०२३ को अक्टोबरसम्मको एक तथ्यांकअनुसार साउदीमा नेपाली श्रमिकको संख्या २ लाख १५ हजारभन्दा बढी छ । त्यसयता नेपालीको संख्या दोब्बर भएको अनुमान छ ।

सन् २०१८ को अप्रिलमा साउदी सरकारले विदेशी फिल्मको प्रदर्शनमा लगाएको रोक हटाएको थियो । युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानले उदार अर्थनीतिको योजनाअघि सार्दै ३५ वर्षपछि फिल्मलाई प्रदर्शनको अनुमति दिएका थिए ।

साउदीको घोषणा लगत्तै हलिउड सुपरहिरो फिल्म मार्वल स्टुडियोको ‘ब्ल्याक प्यान्थर’ रिलिज भएको थियो । सन् २०३० सम्म ३५० हलमा २५०० पर्दा बनाउने साउदी सरकारको तयारी छ ।

नेपाली फिल्मलाई खाडीमा रिलिज गर्दै आएका ढकालले ‘छक्कापञ्जा ५’लाई मलेसिया र माल्दिभ्समा पनि प्रदर्शन गर्दैछन् । कात्तिक १ मै माल्दिभ्सको माले र हलह्युमेल टापुमा यो फिल्मको टुंगो यसअघि नै लागिसकेको छ ।

दीपकराज गिरी, केदार घिमिरे र वर्षा सिवाकोटी स्टारर ‘छक्कापञ्जा’को ५ औं श्रृंखला नेपालकै मितिमा अमेरिकामा समेत रिलिज हुँदैछ, जहाँ प्याट्रिक सुवेदीले रिलिज गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?