+
+
टिप्पणी :

आचार्य कृष्ण दमाई र वर्ण विज्ञानको मनोदशा

आफूलाई दलित भन्ने, भनाउने र सधैं आरक्षणको भाग खोजिरहने मनोदशाबाट अबको दलित समुदाय माथि उठ्नु र निर्वाणको यात्रामा अगाडि बढ्नुपर्छ । अनि मात्रै यो विभेदको राजनीति अन्त्य गर्न सकिने सम्भावना देखिन्छ ।

अनुपम रोशी अनुपम रोशी
२०८१ असोज ६ गते ७:२९
कोटिहोममा आचार्य कृष्ण दमाई ।

धर्म अफिम हो । कार्ल माक्र्सले भनेका थिए भनेर मैले कतै पढेकी थिएँ । हुन पनि धर्मको अफिम पिएपछि मान्छे यसरी लट्ठिन थाल्छ कि मान्छेलाई नै उसले भगवान् देख्न थाल्छ । देख्ने मात्रै होइन पाउ पर्छ । पूजा गर्छ र जयगान गाउँदै हिंड्न थाल्छ ।

पछिल्लो समय कथावाचकका रूपमा उदाइरहेका महाराजजीहरू । कथावाचककै नाममा उभिएका चर्चित देवीहरू त्यसैको प्रारूप भन्दा हुन्छ । भगवानका नाममा कथा वाचन गरेकै भरमा उनीहरूले आफूलाई देवी वा देव नै सम्झिन थालेको अनुभव हुन्छ ।

यतिबेला मलाई चर्चित भागवत कथावाचक नारायण पोखरेलको सम्झना आउँछ । उनी मारिनु भन्दा अगाडिको उनको क्रेज कम्ता थिएन । सुनेकी थिएँ-उनको कथा वाचन सुनेर थुप्रै महिला उनको प्रेममा पागल भएका थिए रे !

कथा भनेकै भरमा उनले पनि आफूलाई भगवान् कृष्णकै स्वरुप हुँ भन्न थालेका थिए । जहाँ कथा वाचन गर्न गयो, त्यहीं दुई तीनवटी श्रीमती बनाउँथे भन्ने कुरा पनि सुन्न पाइन्थ्यो । पछि हाम्रै रूपन्देहीको रामापुर स्कूलमा भागवत कथा वाचन गर्दागर्दै उनी माओवादीको कारबाहीमा मारिए ।

जे नाममा मारिएको भए पनि त्यो अत्यन्त गलत र अपराधपूर्ण कार्य थियो । त्यसपछि पनि घरघरमा उनका प्रवचन एफएम रेडियोमा गुन्जिन छाडेन । मेरै घरमा पनि हजुरबा, बा, आमा सबैले बिहान खुब मन लगाएर उनको प्रवचन सुनिरहेको देख्थें ।

तर मलाई भने शास्त्रको नाम दिएर महिलालाई होच्याइएको कुरा पटक्कै मन पर्दैनथ्यो । महिलालाई होच्याइएका कथा र भजनमा सबैभन्दा बढी नाच्ने महिलाहरू देखेर दिक्क लाग्थ्यो । त्यसपछि दिनबन्धु पोखेरलको समय शुरू भयो । तर कथा भन्ने शैली परिवर्तन भएन ।

आफ्नै पिताको पथ समातेर उनले शास्त्रका नाममा महिलाद्वेषी उदाहरणहरू सुनाउँदै गए । महिलाले पति सम्हालेनन् भने घर बिग्रिन्छ । धर्ममा बसेनन् भने समाज बिग्रिन्छ । जतिसुकै निकृष्ट भए पनि पति भनेको परमेश्वर हुन् । पतिको गोडा ढोग्नु र खुट्टाको जल खाएर मात्रै स्त्री धर्म रक्षा गर्न सक्छे ।

शास्त्रको हवाला दिएर सारमा यही कुरालाई नै उनले पनि स्थापित गर्न खोजे । हुँदाहुँदा हिजोआज देखापरेका देवी प्रतिभा र चन्द्रकला सखी जस्ता युवा महिला कथा वाचकहरू पनि त्यही स्त्रीद्वेषी भाष्यलाई बल पुर्‍याउने बाटोमै लागेको देख्दा मन कुँडिएर आउँछ ।

हामीले के सिकिरहेका छौं ? के सिकाइरहेका छौं ? धर्म र शास्त्रको नाममा किन अन्धभक्त बनिरहेका छौं ? बनाइरहेका छौं ? वास्तवमा धर्म के हो ? धार्मिकता अन्धभक्त हुनुमा छ कि समय अनुसार गलत भाष्य र व्यवहारहरूलाई सच्याउँदै जानुमा छ ?

यस्तै अपमानपूर्ण र विभेदी व्यवहारहरूको पक्षपोषण गर्ने भाष्यहरू कसरी धर्म हुन सक्छ ? अब शास्त्रहरूको पुनव्र्याख्या हुनुपर्छ कि पर्दैन ? अथवा केही धर्मभीरुहरूले यसको अपव्याख्या गरिरहेका हुन् कि ? जान्नेहरूले यसतर्फ बहस चलाउने जाँगर गरेको पनि देखिंदैन ।

हाम्रो समाज यसै पनि असहिष्णु बन्दै गएको छ । एकातिर धर्मको अफिममा लट्ठिएको भीड छ अर्कोतिर त्यसको विरुद्ध विषवमन गरिरहेको विशृंखलित जमात । जसले बजारमा धर्मको नाममा आउने पात्रहरूलाई कि असाध्यै चर्चाको शिखरमा पुर्‍याएको छ, कि असाध्यै नकारात्मक टिप्पणीको शिकार बनाउँदै लगेको छ ।

हामीले ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने आलोचक चेत गुमाएका छौं । के साँच्चिकै समाज अब अतिवादतर्फ उन्मुख भएको हो ? या निराशाले हाम्रो सोच्ने शैलीमाथि कब्जा गरेको हो ? कि जानाजान मानिसले राजनीतिको नयाँ च्याम्बर बनाउँदै गएका हुन् ? बेला-बेला म यस्ता प्रश्नहरू सोच्न बाध्य हुन्छु ।

जसरी आचार्य कृष्ण दमाईले त्यो यात्रामा आफूलाई हिंडाउन सफल भए । यसको मतलब संस्कृत पढ्नु, कथावाचक बन्नु मात्रै सफल हुनु हो भन्न पक्कै खोजिएको होइन, जुनसुकै क्षेत्रमा हात हालिन्छ त्यसमा लगनका साथ लाग्न जरूरी छ । र एउटा लक्ष्य तय गर्न जरूरी छ भन्न खोजिएको हो

जब समाजलाई चलायमान बनाउने कुनै घटना चर्चामा आउँछ तब त्यही कुरामा बौद्धिक र राजनैतिक मानिएका मानिसहरू पनि सामेल हुन्छन् । उनीहरूले पनि कि अति नकारात्मक प्रतिक्रिया दिन्छन् कि प्रशस्तिकै बाटो समाउँछन् ।

यसको एउटा ज्वलन्त उदाहरण हो केही समय अघि पशुपतिमा चलेको कोटिहोम महायज्ञ । त्यसले उत्पन्न गरेका चर्चा अझै सेलाएका छैनन् । देवी प्रतिभा, चन्द्रकला सखी हुँदै आचार्य कृष्ण दमाईसम्म आइपुग्दा केही दिन सामाजिक सञ्जाल मज्जैले तातेको थियो ।

जब कोटिहोमको व्यसासनमा आचार्य कृष्ण दमाई आसीन भए, मेरो हृदय पनि भावुकातावश फराकिलो भएर आयो । केही थोपा हर्षको आँशु नै खसे । किनकि जातीय छुवाछूत विरुद्धको ठूल-ठूला आन्दोलनले प्राप्त गर्न नसकेको एउटा सामाजिक रूपान्तरणको विम्ब आचार्य कृष्ण दमाई बने भन्ने अनुभव भयो ।

जसको लागि उनले कुनै बाहुनको घरमा जबरजस्ती छिर्नु परेको थिएन । या कुनै मन्दिरमा पिसाब फेर्नुपर्छ भनेर उद्दण्ड क्रान्तिको नारा लगाएका थिएनन् । उनको चेतनाको उज्यालोले उनलाई त्यहाँ पुर्‍याएको थियो । हुनत उनको यो कदमले केही लछारपाटो लगाउँदैन भन्नेहरू पनि छन् । एउटा दमाईले वेद पढ्दैमा ऊ ब्राह्मण बन्न सक्दैन भन्नेहरू पनि छन् ।

समाजमा जातीय विभेदको गहिरो खाडल नभएको पनि होइन । तर के विरोध मात्रै यसको समाधान हो त ? जे कुरामा पनि नकारात्मक भइदिनु नै क्रान्तिकारिता हो त ? मानें, त्यो घटना कोटिहोम सञ्चालकको स्टन्टबाजी होला । पपुलारिटीको लागि उनीहरूले अपनाएको राजनीति नै होला । तर जातीय छुवाछूतलाई मान्यता दिने मानिसहरूलाई त यसले ठूलो धक्का दियो नि !

पशुपति प्राङ्गणमा भएको धार्मिक अनुष्ठान त्यो पनि भागवत पुराणको व्यासासनमा कृष्ण दमाई बसेर हजारौं धार्मिक जनहरूले उनको प्रवचन सुनेको कुरा त देशभर फैलियो नै यसले सामाजिक स्वीकार्यतालाई मनोवैज्ञानिक रूपमा केही बल त अवश्य नै पुर्‍याएको छ ।

यसो भन्दैमा अब सबै बराबर भए, छुवाछूतका डरलाग्दा दुष्कृति सकियो भनेकै होइन । तर, पशुपति प्राङ्गणको कोटिहोममा कृष्ण दमाई पुग्नुले सामाजिक मनोविज्ञानलाई सूक्ष्म तरिकाले फरक चैं पक्कै पार्नेछ । समय र सामाजिक व्यवहारलाई भिन्न तरिकाले सोच्न बाध्य बनाउने छ ।

फेरि भनिएला के हो त्यो भिन्न तरिका वा मनोविज्ञान ? त्यसको लागि शास्त्रले भन्ने गरेको वर्ण विज्ञान कसरी जातीय विभेदमा परिणत भयो ? यसको मुख्य कारक के हो ? सबैभन्दा पहिले यो कुरा बुझ्न जरूरी छ । र यसको लागि हामी महाभारतकालीन समयतिर फर्किनुपर्ने हुन्छ ।

त्यो बेलाको वर्ण विज्ञान र जातीय छुवाछूतको प्रारुपलाई जान्नुपर्ने हुन्छ । महाभारतकालीन समयमा जातीय विभेदको कुरा आउँदा महाभारत कथाका एक शक्तिशाली योद्धा कर्णको जीवन कथालाई पढ्नुपर्छ, कथामा ऊबेला उनलाई एक शूद्र भनेर शिक्षा ग्रहण गर्न रोक लगाइएको छ । उनको शक्ति प्रदर्शित हुने सबै ठाउँमा उनलाई शूद्र भनेर विभेदपूर्ण व्यवहार गरिएको पढ्न पाइन्छ ।

यो केवल ब्राह्मण क्षेत्री, वैश्य या शूद्रको जात व्यवस्थाको कुरा होइन । यो त समय र मानव सभ्यताको कालखण्डले निर्माण गर्ने मनोवैज्ञानिक प्रवृत्तिको कुरा हो । जसलाई मान्न हामीले सधैं अस्वीकार गरिरह्यौं । इतिहासदेखि नै शासन पद्धति र शासकहरू त्यसमा लचिलो हुन कहिल्यै सकेनन्

तर, फेरि पनि उनी योद्धा बनेका छन् । राजा बनेका छन् । यसले दुईवटा कुरा भन्न खोजेको प्रस्ट हुन्छ । पहिलो त शक्तिको प्रयोगले सामाजिक र राजनैतिक रूपमा विभेदको शुरुआत कसरी गर्छ भन्ने देखाउँछ । अर्को, मानिसको कर्मले नै उसको धर्म र जातिको अवधारणा विकास गरेको हो भन्ने पनि बुझाउँछ ।

त्यस कुरालाई गीता र महाभारतका विभिन्न खण्डहरूमा पनि पढ्न सकिन्छ । जहाँ श्रीकृष्णले भनेका छन् भन्दै यस ढंगको व्याख्या भेटिन्छ-यदि सबै मानिस विकसित भएका भए संसारमा मात्रै दुई वटा वर्ण रहने थियो । जुन बहिर्मुखी (क्षेत्रीय) र अन्तर्मुखी (ब्राह्मण) हो ।

तर केही मानिसहरू विकसित हुन सकेनन् र तिनले अरू दुई वर्ण निर्माण गरे । जसले चार वटा वर्णको विकास गर्‍यो । जहाँ क्षेत्रीयहरूको आकांक्षा शक्तिको आकांक्षा हो । र, ब्राह्मणहरूको आकांक्षा शान्तिको आकांक्षा हो । पछि क्षेत्रीय हुन नसकेकाहरू वैश्य भए । अझ भनिएको छ कायर क्षेत्रीहरू वैश्य भए ।

वैश्यको बीउ क्षेत्री नै भए पनि उनीहरू युद्धको मैदानमा जान सकेनन् । लडाईं गर्न सकेनन् । तर धन कमाउने जुक्ति निकाले र धनबाट शक्तिलाई खरिद गर्ने कोशिश गरे । सम्पत्तिले ढुकुटी भरे र तरबारको ताकतलाई किन्न खोजे । परोक्ष रूपमा उनीहरूको धनको आकांक्षा पनि शक्तिकै आकांक्षा हो ।

अर्कोतिर ब्राह्मण हुन नसकेकाहरू शूद्र भए । उनीहरू अन्तर्मुखी यात्रामा निस्किन सकेनन् । उनीहरूको व्यक्तित्व आलस्यमय भयो । आलस्य, तामस र प्रासाद उनीहरूको जिन्दगीको बाटो बन्न थाल्यो । बाहिरको यात्रामा जान पनि सकेनन् । भित्रको यात्रामा जान सक्ने भएर पनि उनीहरू त्यता गएनन् ।

त्यसपछि उनीहरूको दुईवटै यात्रा अवरुद्ध भयो र अँध्यारोमा सुत्ने वर्णमा विभाजित भए । तर ब्राह्मण बन्ने आकांक्षा शूद्रमा पनि उत्तिकै भेटिन्छ । त्यसैले शूद्रले सधैं आफूलाई ब्राह्मण विरुद्ध उभ्याउँछ । र उभ्याउँदै आएको छ । त्यो नै विभेदको प्रमुख कारक हो ।

शूद्रले ब्राह्मण विरुद्ध गएर होइन ब्राह्मण बन्ने यात्रातर्फ अग्रसर भएर देखाउनुपर्ने थियो र पर्नेछ । जुन आन्तरिक यात्रा हो । आध्यात्मिक मात्रै होइन एउटा गहन मनोवैज्ञानिक साधना हो । त्यसैले वर्ण विज्ञान एउटा सामाजिक व्यवस्था मात्रै हुँदै होइन । शूद्रले ब्राह्मणहरूको भान्सा छुँदैमा, मन्दिर चढ्दैमा पनि यो दूरी मेटिंदैन ।

आफूलाई कति बहिर्मुखी बनाउने या अन्तर्मुखी बनाउने ? सबैभन्दा पहिले उसले सोच्नुपर्ने हुन्छ र त्यो व्यक्ति स्वयम्को हातमा हुन्छ । पूर्ण बहिर्मुखी वा पूर्ण अन्तर्मुखी यात्रामा निस्कन सक्ने व्यक्ति अबको समयमा मात्रै दलित रहँदैन ।

जसरी आचार्य कृष्ण दमाईले त्यो यात्रामा आफूलाई हिंडाउन सफल भए । यसको मतलब संस्कृत पढ्नु, कथावाचक बन्नु मात्रै सफल हुनु हो भन्न पक्कै खोजिएको होइन, जुनसुकै क्षेत्रमा हात हालिन्छ त्यसमा लगनका साथ लाग्न जरूरी छ । र एउटा लक्ष्य तय गर्न जरूरी छ भन्न खोजिएको हो ।

गीताको दोस्रो अध्यायको अन्तिम श्लोकतिर ब्रह्म अर्थात् निर्वाणमा पुग्न दुई वटा बाटा छन् भनिएको छ । एउटा अन्तर्मुखी अर्थात् ज्ञानबाट शून्यता र निर्वाणको बाटो हो । अर्को बहिर्मुखी अर्थात् साधनाबाट पूर्णत्व र ब्रह्म प्राप्तिको बाटो हो ।

यसले के देखाउँछ भने कर्म र लगनले नै मान्छेको वर्ण विज्ञान तय भएको हो जात र धर्मले होइन । जसको ज्वलन्त उदाहरण इतिहासतिरै फर्केर कर्णलाई लिन सकिन्छ । कर्ण क्षेत्रीय कुलमा जन्मिए तर एउटा शूद्रको घरमा शूद्र भएर हुर्किए । उनको कर्म पूर्णतया क्षेत्रीय थियो ।

त्यो बेलाको समाजले उनलाई शूद्र भनिरह्यो । भलै उनलाई पूरै द्वापर युगले सूत पुत्र भन्यो । तर उनी क्षेत्रीय थिए । उनको कर्म पूर्णतया बहिर्मुखी थियो । जसले उनलाई राजा बनायो । विशाल योद्धा बनायो । फेरि पनि समाज र समाजकोे शासन पद्धति नै विभेदको मूल कारक हो भन्ने त यसबाट पनि प्रस्ट हुन्छ ।

यो केवल ब्राह्मण क्षेत्री, वैश्य या शूद्रको जात व्यवस्थाको कुरा होइन । यो त समय र मानव सभ्यताको कालखण्डले निर्माण गर्ने मनोवैज्ञानिक प्रवृत्तिको कुरा हो । जसलाई मान्न हामीले सधैं अस्वीकार गरिरह्यौं । इतिहासदेखि नै शासन पद्धति र शासकहरू त्यसमा लचिलो हुन कहिल्यै सकेनन् ।

एक प्रकारको दासतालाई जोगाइरहन आजसम्मको सभ्यता सफल भयो । र त त्यसरी विकास भएको वर्ण विज्ञानलाई आज पनि हामीले जातिवादको अँगालो हालिरहेका छौं । त्यसैमाथि राजनीति गरिरहेका छौं । जसले न सामाजिक परिवर्तन ल्याउन सकेको छ न मनोवैज्ञानिक क्रान्ति ।

आफूलाई दलित भन्ने, भनाउने र सधैं निरीहता र राजनैतिक आरक्षणको भाग खोजिरहने मनोदशाबाट अबको दलित समुदाय माथि उठ्नैपर्छ र लगनका साथ निर्वाणको यात्रामा अगाडि बढ्नुपर्छ । र, मात्रै यो विभेदको राजनीतिलाई अन्त्य गर्न सकिने सम्भावना देखिन्छ ।

लेखकको बारेमा
अनुपम रोशी

लेखकका ‘कालो छाया’ ‘कुमारी आमा’ लगायत उपन्यास र केही कथा प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?