+
+
ब्लग :

भगवानकै वरिपरि कालोबजारी !

आस्थाले चढाएको भेटीलाई ढोकामा बसेका ठेकेदारले फिर्ता पठाइदिए । यो दृश्य देख्दा भगवान्ले पनि के भने होलान् ? कलियुगका पण्डा कस्ता कस्ता !

हरि अधिकारी हरि अधिकारी
२०८१ असोज ६ गते ८:२५
भारतको जगन्थानपुरी मन्दिर । यहाँ पण्डाहरूबाट दर्शनार्थीले हैरानी खेप्न बाध्य छन् ।

पण्डा अर्थात् तीर्थपुरोहित । कमिज, धोती र एकहाते झोला भिरेका मानिस गाउँका घरघर पुगेर चिनजान गर्न खोज्थे, नजिक भएर भविष्य बताइदिने चेष्टा गर्थे । थोरै भए पनि भविष्यको डर देखाएर आफ्नो आम्दानी बढाउँथे । थोरबहुत शास्त्रीय ज्ञान प्रस्तुत गर्थे । हाम्रो डरसँग खेल्न रुचाउँथे, सायद त्यो गर्जाे टार्ने उनीहरूको सीप थियो ।

घरको स्कुलिङ अलिक कडा थियो, पण्डाको छेउछाउ नपर्नु, भविष्य खोसिदिन्छन् । थोरै भए पनि मिथ्यामा रमेको सामाजिक सोचले प्रभाव राम्रो पारेको थियो । त्यसैले होला बाटोमा पण्डा देख्दा तर्किएर हिंड्ने बानी पर्‍यो । उनीहरूले इशारा गर्दा नदेखे झैं गरी आफ्नो बाटो हिंड्ने रफ्तार बढाइयो । गाउँदेखि शहरसम्म भ्याएसम्म इग्नोर गरियो । तर केहीदिन अघि भारत जाँदा उनीहरूकै परिबन्धमा परियो ।

हिजो गाउँमा देखेका र भोगेका पण्डा अलिक सरल र मृदुभाषी नै थिए । छिमेकी देशका तीर्थस्थलमा खटिएका पण्डाको स्वभाव, व्यवहार अलिक रुखो । धर्मका नाममा दलालीदेखि धन कमाउने साधन यात्रुलाई बनाउँदा रहेछन् ।

तीर्थपुरोहित शब्दकै हुर्मत लिंदा रहेछन् । भारतीय प्रहरी पनि उनीहरूसँग निरीह जस्तै देखिंदा रहेछन् । साउनको पहिलो साता संयोगले जगन्नाथपुरीको यात्रा बन्यो । त्यसअघि कोलकाताको कालीघाट । यी दुई धार्मिक स्थलका हर्ताकर्ता पण्डाहरू थिए ।

नेपालमा पनि धर्मको नाममा व्यापार भएका छन् । तर पण्डाले गर्ने जस्तो व्यवहार देखे-भोगेको छैन । दुई स्थानको यात्रा र आसपासका व्यापारीसँग गफगाफ गर्दा थाहा भयो पण्डाको व्यवहारबाट सबै आजित रहेछन् । सायद भगवान्ले पनि दिक्क मानिसके होला । तर राज्यसत्तालाई दिक्क लागेको देखिएन

जगन्थानपुरीमा दर्शनका लागि लाइन लागेका बेला पण्डा आए, पाँच सय रुपैयाँ गोटामा सीधै मन्दिर पुर्‍याउने आश्वासन दिए । प्रस्ताव मान्नेलाई साथमा लिएर गए, नमान्ने लाइनमै बसे ।

लाइनमा हुँदाको प्रभाव र प्रस्ताव सामान्य थियो, मन्दिर परिसरमा पुगेपछि पण्डाको प्रस्ताव र प्रभाव झन बढ्दो रहेछ । भिजिटिङ कार्ड बोकेर बसेका पण्डा मान्छे हेरेर व्यवहार गर्थे, पूजाका नाममा पैसाको बार्गेनिङ गर्थे । हातबाट सामग्री खोसेर जबरजस्ती गर्थे ।

मन्दिर परिसरमा मात्रै होइन, मूर्तिको अगाडि पनि पण्डाकै हालीमुहाली थियो । तीर्थयात्रीका लागि एउटा बिन्दुमा बार लगाइएको छ, बारको भित्रपट्टि अर्थात् मुख्य मूर्ति अगाडि उभिएर पण्डाहरूको व्यापार गर्थे । लामो यात्रा र ठेलमठेल गरी मुख्य मूर्तिसम्म पुगेका यात्रीका लागि पण्डाले तोक्ने मूल्य फरक–फरक थियो ।

अर्काे शब्दमा मन्दिर भित्र पूजा सामग्री र प्रसादीमा कालोबजारी चलिरहेको थियो । मुख्य मन्दिरभित्र पण्डाले एउटा डोरो धागोको १०० रुपैयाँ भारुमा बिक्री गर्थे । एउटा खादाको मूल्य एक हजार । छेउमा प्रहरीको उपस्थिति थियो । ती प्रहरी पण्डाको व्यापारलाई मौन समर्थन गर्थे । राज्यको प्रतिनिधि प्रहरी मौन बसेपछि पण्डाको कर्म निर्धक्क चल्थ्यो ।

मूर्तिसम्म पुग्ने अनुमति पाएका उनीहरू तीर्थालुको पूजा सामग्रीसँगै पैसा माग्थे, मागेजति पैसा नदिनेको पूजा सामग्री फिर्ता गर्न मान्दैनथे । मागेजति पैसा नदिंदा मेरो सामग्री फिर्ता गरेनन्, भीडले ठेलेर किनारामा पुर्‍यायो । खैर ठिकै छ, दर्शन त गरियो, एउटा डोरो धागो सय रुपैयाँ भारु लिने पण्डाले अर्का साथीलाई खादा लगाइदिए, त्यसपछि एक हजार मागे, नदिंदा गलाबाट खादा फिर्ता लगे । यो क्रम निरन्तर चलिरह्यो, मागेको पैसा दिनेले लगाए, नदिनेको गलाबाट फिर्ता लगियो । छेउमा सुरक्षाका लागि प्रहरी थिए, पण्डाको काममा प्रहरीको मौन स्वीकृति थियो ।

हाम्रो टोलीका सदस्य उद्धव सापकोटाले थोरै विद्रोह गर्नुभयो । ढाका टोपी लगाएका कारण पण्डाले बढी पैसा मागे, थोरै पैसा दिंदा पूजा सामग्री फिर्ता नगरी पठाए । मन्दिरमै रहेका प्रहरीलाई उहाँले ‘हामीले के सन्देश लिएर नेपाल जाने’ भन्दै प्रश्न गर्दा प्रहरी आफ्नो जिम्मेवारीमा उत्रिए, पण्डालाई बोलाएर राज्यको उपस्थिति देखाए । पण्डाले गुनासो सहित प्रसादी थमाइदिए । उहाँ खुसी हुँदै फर्कनुभयो ।

आदरणीय मोदीज्यू, ‘बजारको कालोबजारी मात्रै अपराध होइन, आस्थाको केन्द्रमा बसेर कालोबजारी गर्नु पनि अपराध हो, त्यस्ता अपराध गर्नेलाई एक पटकलाई नसिहत दिएर सुधारको अभियान चाल्नुहोस् !

मन्दिर प्रवेश गर्दैगर्दा लाइनमा भेटिएका पण्डाले नेपाली पण्डा लेखिएको भिजिटिङ कार्ड दिएका थिए । मुख्य मन्दिरबाट बाहिर निस्कँदा उनी पर्खिरहेका रहेछन् । त्यसपछि प्रसादीका लागि उनले थप शुल्क लिए । थोरै नेपाली बोल्ने र नेपाली पण्डाको भिजिटिङ कार्ड बनाएका पण्डाले थोरै भए पनि राम्रो व्यवहार देखाए ।

पण्डाको व्यापार जगन्नाथपुरीको भन्दा फरक थियो, कोलकाताको कालीघाटमा । नजिकबाट मन्दिर दर्शनका पण्डाले तोकेको शुुल्क पाँच सय रुपैयाँ भारु थियो । पाँच सय रुपैयाँ तिरे सिधै दर्शन गर्न पाउने, नत्र हुलमुलबाट गर्नुपर्ने । मन्दिरमा चढाउनका लागि अनिवार्य भारु चाहिने रहेछ ।

कालीघाटमा पण्डा हर्ताकर्ता थिए । ढोकामा बसेका उनीहरूले भारतीय नोट भन्दा अरू नोट चिन्दैनथे । विदेशी मुद्रा चढाउँदा चल्दैन भन्दै फिर्ता गर्थे । आस्थाले चढाएको भेटीलाई ढोकामा बसेका ठेकेदारले फिर्ता पठाइदिए । यो दृश्य देख्दा भगवान्ले पनि के भने होलान् ? कलियुगका पण्डा कस्ता कस्ता !

पण्डा धार्मिक कृत्य गराउने ब्राह्मण हुन्, अर्काे भाषामा तीर्थपुरोहित । यति राम्रो जिम्मेवारी पाएका पण्डाले धर्मको नाममा ठगी धन्दा चलाइरहेका रहेछन् । यात्राका क्रममा पण्डाको व्यवहारबाट कोही सन्तुष्ट थिएनन् । मन्दिर बाहिरका व्यापारी पण्डा यस्तै हुन् भनेर चित्त बुझाउँदा रहेछन् ।

नेपालमा पनि धर्मको नाममा व्यापार भएका छन् । तर पण्डाले गर्ने जस्तो व्यवहार देखे-भोगेको छैन । दुई स्थानको यात्रा र आसपासका व्यापारीसँग गफगाफ गर्दा थाहा भयो पण्डाको व्यवहारबाट सबै आजित रहेछन् । सायद भगवान्ले पनि दिक्क मानिसके होला । तर राज्यसत्तालाई दिक्क लागेको देखिएन ।

तीर्थालुले आस्थामाथि पण्डाको हालीमुहाली राम्रो होइन, धार्मिक पृष्ठभूमिका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले यसबारे केही सोचेको देखिएन । धर्मका नाममा पण्डाले गर्ने कालोबजारीका बारेमा उनी पनि जानकार होलान्, नभए यो खबर कसैले पुर्‍याइदिए हुने ।

आदरणीय मोदीज्यू, ‘बजारको कालोबजारी मात्रै अपराध होइन, आस्थाको केन्द्रमा बसेर कालोबजारी गर्नु पनि अपराध हो, त्यस्ता अपराध गर्नेलाई एक पटकलाई नसिहत दिएर सुधारको अभियान चाल्नुहोस् ! एक रुपैयाँमा पाउने डोरोलाई १०० रुपैयाँमा बिक्री गर्ने दोकान बन्द होस् !’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?