+
+
सिक्स लेन सडकमा सास्ती :

टिपरको बदमासीमा प्रहरीको अनदेखा

गिट्टी-बालुवा ढुवानीकर्ताको बदमासी र ट्राफिक प्रहरीको बेवास्ता जनकपुर-ढल्केबर ६ लेन सडकमा स्पष्ट देख्न सकिन्छ । तर नियम उल्लंघन गर्नेलाई कारबाही बिरलै हुँदा प्रहरीमाथि अवैध असुलीको आरोप लाग्ने गरेको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ असोज ६ गते ८:२६

६ असोज, जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-२ सोहनीका किसान मिथुन यादव दूध बेच्न दिनहुँ जनकपुर आउ-जाउ गर्छन् । करिब पाँच किलोमिटर यात्रा गर्दा ६ लेन सडकमा उड्ने धुलो र असरल्ल छरिएका गिट्टीले वाक्कदिक्क छन् मिथुन ।

‘सिक्स लेनमा चल्ने धेरैजसो टिपर र ट्याक्टरमा गिट्टी, बालुवा ओभरलोड हुन्छ । त्रिपालले छोपे पनि पछाडिबाट खस्ने बालुवा आँखामा पर्छ । गिट्टी बाटोभरि छरिन्छ । साइकल चलाउँदा दुर्घटना हुने खतरा रहन्छ,’ मिथुन गुनासो गर्छन् ।

जनकपुर-ढल्केवर ६ लेन सडकमा मिथुन यादवकै जस्तो सास्ती भोग्न बाध्य छन् धनुषाको बटेश्वर गाउँपालिका ३ का विनोद महतो पनि । उच्च अदालत जनकपुरका नायब सुब्बा महतो अदालत आउजाउ गर्दा बालुवा उडेर कहिले आँखामा र कहिले लुगामा पर्ने गरेको बताउँछन् ।

‘भिजेको बालुवाबाट चुहिरहेको पानीको छिटा परेर परेर लुगा नै फोहोर हुन्छ । सुक्खा बालुवा आँखामा परेर बिझाउँछ,’ महतो भन्छन् ‘बदमासी बढेकोबढ्यै छ तर ट्राफिक प्रहरीले वास्तै गर्दैनन् ।’

जनकपुर-ढल्केबर सडक खण्डमा मिथुन र विनोदजस्ता हजारौं सर्वसाधारण दिनहुँ टिपर र ट्याक्टरबाट उड्ने धुलो र खस्ने गिट्टी बालुवाबाट सास्ती व्यहोरिरहेका छन् । ढल्केबरदेखि जनकपुरसम्म चार ठाउँ (ढल्केबर, सखुवा महेन्द्रनगर, लक्ष्मीनिया, मुजेलिया) मा ट्राफिक प्रहरी चेकपोस्ट छ । दर्जनौं टिपर र ट्याक्टर ट्राफिक प्रहरीकै अगाडिबाट बालुवा उडाउँदै, पानी चुहाउँदै जनकपुरधाम बजार प्रवेश गर्छन् । तर प्रहरीले तिनका चालकलाई रोक्न त परैजावस्, सम्झाइ बुझाइ समेत गर्दैन ।

बिहीबार अपराह्न ५ बजेदेखि ५ः३० बजेको बीचमा ट्राफिक चेकपोस्ट मुजेलियाका इञ्चार्ज (सई) दिनेशकुमार दासको नेतृत्वमा ट्राफिक प्रहरीहरु जाँचमा खटिएका थिए । जनकपुर आउने प्रायः मोटरसाइकललाई रोकेर सोधपुछ गरेका उनीहरुले एउटा टिपर र दुईवटा ट्याक्टरलाई रोकेनन् । म.प्र.०३.००१ ख ८५४५ नम्बरको टिपरलाई मात्र रोके, जुन टिपरबाट भिजेको बालुवाबाट धाराझैँ पानी चुहिरहेको थियो । करिब पाँच मिनेट रोकेर ट्राफिक प्रहरीले चालकबाट एउटा कागज लिएर छाडे । उक्त टिपर उसैगरी पानी चुहाउँदै, बालुवा उडाउँदै गन्तव्यतिर लाग्यो ।

त्यो आधा घण्टाको दृष्यपछि मुजेलिया ट्राफिक प्रहरीका इञ्चार्ज दिनेशकुमार दासलाई अनलाइनखबरले प्रश्न गर्दा उनले सबैलाई चेकिङ गर्न नभ्याउने जवाफ दिए । ‘सबैलाई चेकजाँच गर्न भ्याइँदैन । पानी चुहाइरहेको त्यो टिपरको कागजात राखेको छु । उसलाई पछि कारबाही गर्छु’ उनले भने ।

७ भदौको दिन बिहान साढे ९ बजेतिर ट्राफिक प्रहरी चेकपोस्ट सखुवा महेन्द्रनगरका प्रहरीहरु महेन्द्रनगर भन्दा तीन किलोमिटर दक्षिणमा चेकिङमा व्यस्त थिए । त्यसक्रममा पत्रकारको परिचय नदिइ ट्राफिक प्रहरी जवान रजनिश मिश्रालाई ‘टिपरलाई किन चेकिङ गर्नुहुन्न ?’ भनेर प्रश्न गर्दा उनी झर्किए । ‘हामीलाई किन सोध्नु हुन्छ ? हाकिमलाई गएर सोध्नुस् न’ उनले भने ।

प्रहरीमाथि अवैध असुलीको आरोप

टिपर/ट्याक्टरको बदमासी र ट्राफिक प्रहरीको बेवास्ता ६ लेन सडकमा स्पष्ट देख्न सकिन्छ । ६ लेन सडकको पूर्वतर्फको तीन लेनमध्ये एक लेनको सडक गिट्टी बालुवाले ढाकेको छ । जुन टिपर र ट्याक्टरबाट झरेको गिट्टी बालुवा हो । वर्षाको भेलले बगाउँदा पनि धेरै परिमाण अहिले पनि सडकमा छरपष्ट देख्न सकिन्छ । त्यही गिट्टीमा परेर अनियन्त्रित हुँदा मोटरसाइकल बेलाबेला दुर्घटना भइरन्छन् ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीलाई पटक पटक भेटघाटमा पत्रकारहरुले ध्यानाकर्षण गराउने गरेका छन् । तर, त्यसको सामान्य असर पनि सडकमा गुड्ने टिपर तथा ट्याक्टरमा देखिन्न ।

ओभरलोड टिपर हेरिरहेका ट्राफिक प्रहरी ।

टिपर र ट्याक्टर सञ्चालकबाट प्रहरीहरुले अवैध रुपमा रकम असुली गर्ने गरेको आरोप लाग्ने गरेको छ । ‘जुन रुटमा जहाँसम्म टिपर चल्छ । त्यहाँसम्मको प्रत्येक ट्राफिक चेक पोस्टलाई टिपरको नम्बर लेखाएर मासिक कम्तिमा एक हजार रुपैयाँ दिनुपर्छ । त्यसपछि जसरी चलाए पनि, ओभरलोड गरेपनि कुनै टेन्सन रहन्न,’ एक टिपर व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा अनलाइनखबरसँग भने, ‘मेलै आफ्ना दुईवटा टिपरको दुई हजार रुपैयाँ प्रत्येक चेकपोस्टमा मासिक तिर्ने गरेको छु । कहिलेकाहीँ रेकर्डका लागि मात्र जरिवाना काटिदिन्छन् ।’

अर्का एक ट्याक्टर चालकले ट्राफिक प्रहरी चेकपोस्टलाई मासिक पाँच सयदेखि एक हजार रुपैयाँ बुझाउने गरेको बताए । ‘कतै पाँच सय, कतै हजार रुपैयाँ मासिक दिनुपर्छ । त्यसपछि जति लोड गरे पनि रोक्दैनन् । नत्र दैनिक चलान भर्नुपर्छ । तनाव झेल्नुपर्छ’ ती ट्याक्टर चालकले भने ।

अझै कडाइपूर्वक नियन्त्रण गर्छौं : ट्राफिक प्रहरी प्रमुख ओली

दैनिक ६ लेनमा दैनिक एक सय बढी टिपर र ट्याक्टरले ट्राफिक नियम उल्लंघन गरे पनि कारबाही भने न्युन संख्यामा मात्र हुने गरेको देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको तथ्यांकमा साउन महिनाभर ट्रक र टिपर गरी ३३८ वटालाई कारबाही गरिएको छ ।

यसैगरी ११८ वटा ट्याक्टर कारबाहीमा परेका छन् । यस्तै मोटरसाइकल १ हजार ७५० वटा, कार, जीप र भ्यान ४०३ वटा, बस ८५ वटा र अन्य २ हजार ७७८ सवारी साधनलाई कारबाही गरेको धनुषाका ट्राफिक प्रहरी प्रमुख हरिबहादुर ओली जानकारी दिए ।

आफू आएदेखि ट्राफिक व्यवस्थापन, कारबाही र दुर्घटना न्यूनीकरणमा उल्लेख्य प्रगति गरेको ट्राफिक प्रहरी प्रमुख ओली दावी गर्छन् । जनशक्ति अभाव र कार्यव्यस्तताको कारण सबैलाई कारबाहीको दायरामा ल्याउन नसकेको बताउँदै उनी कारबाहीमा परेका टिपरले पनि मनोमानी गर्न नछाडेको तर्क गर्छन् ।

‘तथ्यांकले मोटरसाइकल दुर्घटना बढी र चोरीको घटना बढ्दा चेकजाँचमा जोड दिएका छौं । टिपरलाई पनि कारबाही गरिएकै छ । तर, एक ठाउँमा कारबाही गर्दा उसले त्यही चिटले २४ घण्टासम्म त्यसैगरी चलाउँछ । किनभने त्यो अवधिमा अर्को चिट पनि काट्न मिल्दैन,’ उनले भने, ‘अब अझै कडाइपूर्वक नियन्त्रण गर्छौं ।’

ट्राफिक प्रहरीले टिपर र ट्याक्टर व्यवसायीसँग साँठगाँठ गरी उन्मुक्ति दिने गरेको आरोपमा उनले भने, ‘म आएको चार महिना भयो, कुनै पनि टिपर तथा ट्याक्टर व्यवसायीसँग चिनजान छैन ।’

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?