+
+

जनमोर्चाले चैत २४ गते संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १०:०८

६ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले संघीयताविरुद्ध जनआन्दोलन दिवस अर्थात चैत २४ गते राजधानी केन्द्रित आन्दोलन भएको छ । ४ र ५ गते बुटवलमा बसेको केन्द्रीय पार्षद् बैठकले संघीयताविरुद्ध आन्दोलन गर्ने निणर्य गरेको हो ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले राजधानी केन्द्रीत आन्दोलनलाई सप्ताहव्यापीरुपमा सञ्चालन गर्ने निणर्य गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनका अनुसार मंसिर महिनाभरि देशव्यापी रुपमा प्रदेशदेखि स्थानीय तहसम्मका बैठकहरू गरिने छन् ।

पुस महिनाभरि देशव्यापी रुपमा जिल्लाजिल्लामा राजनीतिक प्रशिक्षणहरू सञ्चालन गरिने जनमोर्चाले जनाएको छ । माघ १ गतेदेखि फागुनको १० गतेसम्म सदस्यता राष्ट्रिय अभियान सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ ।

‘गणतन्त्र तथा राष्ट्रियता लागि संघीयता घातक छ । हाम्रो जस्तो मुलुकमा कुनै पनि दृष्टिकोणले संघीयता उपयुक्त छैन’, विज्ञप्तिले भनेको छ, ‘संघीयताका कारण मुलुकमाथि अनावश्यक आर्थिक बोझ थपिएको छ । त्यसैले संघीयताको मुख्य पक्ष प्रदेशको शासकीय स्वरुपलाई खारेज गरिनु पर्दछ ।’

त्यस्तै बैठकले अध्यक्ष चित्रबहादुर केसीले प्रस्तुत राजनीतिक प्रतिवेदन पनि सर्वसम्मत पारित गरेको छ । ‘पारित राजनीतिक प्रतिवेदनले मुलुकमा प्रतिगमनको खतरा गम्भीररुपमा देखापरेको तर गणतन्त्रवादी शक्तिहरूले प्रतिगमनको खतरालाई उपेक्षा गरेको वा त्यस विरुद्ध कुनै गम्भीरता नदेखाएको विषयलाई स्पष्टताका साथ किटान गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

राजमोर्चाले राजनीतिक अस्थिरता र राष्ट्रियतामाथिको गम्भीर खतरा, जनजिवीकाको प्रश्न गम्भीर हुँदा जनतामा चरम असन्तुष्टि र आक्रोस बढिरहेको जनाएको छ । ‘प्रतिगामी शक्तिहरूले आफ्नो प्रतिगामी राजनीतिक उद्देश्यका लागि जनतामा व्याप्त आक्रोस असन्तुष्टिलाई उपयोग गरिरहेको परिणाम प्रतिगमनको खतरा बढेर गएको छ’, विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?