+

युवामा हृदयघातको समस्या बढ्दो, जोगिन के गर्ने ?

२०८१ असोज  ६ गते १२:५३ २०८१ असोज ६ गते १२:५३
युवामा हृदयघातको समस्या बढ्दो, जोगिन के गर्ने ?

काठमाडौं । बर्दियाका २४ वर्षीय सुवास कार्की (नाम परिवर्तन) दुई दिनअघि पाटन अस्पतालमा छाती दुखेर इमरजेन्सीमा भर्ना भए । मुटुरोग विशेषज्ञ डा. आनन्द जिसी, डा. अशोक अधिकारी र डा. पविन्द्रको  लगायतको टिमले उनलाई हृदयघात भएको पत्ता लगायो ।

देब्रेपट्टिको एउटा नसा पूरै ब्लक भएको रहेछ । त्यसैले तत्काल उनको मुटुको खुम्चिएको नसाको एन्जियोप्लास्टी सर्जरी गरियो । उनी अहिले पाटन अस्पतालमा सीसीयूमा नै छन् ।

सुवासको बुबाको निधन पनि हृदयघातकै कारण भएको रहेछ । यस्तोमा उसमा पनि हृदयघातको जोखिम हुने भयो । त्यसमा पनि उनले १३ वर्षको उमेरदेखि नै चुरोट खाँदो रहेछ । यस्तै कारक तत्त्वले गर्दा उसमा हृदयघातको समस्या देखा परेको देखियो ।

दुई महिनाअघि ललितपुरका ३२ वर्षीय सरोज तामाङ (नाम परिवर्तन) पनि हृदयघात भएर अस्पताल भर्ना भएका थिए । उनको तीनवटा रक्तनली बन्द भएका थिए । त्यसैले तत्काल शल्यक्रिया गरियो । समयमै अस्पताल पुगेको कारण उनको पनि सफल उपचार भयो ।

पाटन अस्पतालमा मात्र पछिल्लो पाँच महिनाको अवधिमा लगभग १० जना ४० वर्षभन्दा मुनिका युवामा हृदयघातको समस्या देखिएको मुटुरोग विशेषज्ञ डा. आनन्द जिसी बताउँछन् ।

पछिल्लो समय युवामा हृदयघातको जोखिम बढ्नुको एउटा प्रमुख कारण जीवनशैली परिवर्तन नै पाइएको छ । जीवनशैलीमा पनि चुरोट, रक्सीको सेवनको लत, धेरै चिल्लो खानपान, मोटोपन, व्यायाम नगर्ने र तनाव लिने लगायत कारणले समस्या देखिएको डा. जिसीले बताए ।

उनी भन्छन्, ‘पहिले हृदयघात त बुढापाकालाई हुन्छ भनिन्थ्यो । तर पछिल्लो समय युवा पनि हृदयघातको जोखिम बढेको छ । साउथ एसियाको भारत र नेपाल जस्ता देशमा ३० वर्षअघि नै धेरै युवामा हृदयघातको समस्या देखिएको छ ।’

मुटु शरीरको यस्तो अङ्ग हो, जसले हाम्रो शरीरमा निरन्तर रक्तप्रवाह गर्दै अक्सिजन, ग्लुकोज लगायत आपूर्ति गर्छ । मुटुमा मुख्य तीनवटा नसा हुन्छ । रक्त प्रवाह हुने ती नसामा केही गरी बोसो तथा रगत जमेर रक्तनली साँघुरो भएमा त्यसलाई हामी हृदयघात भनिन्छ ।

हृदयघात हुने कारण

प्रायजसो लामो समयसम्म उच्च रक्तचाप, मधुमेहको सुगर लेबल नियन्त्रण नभएमा, मधुमेहको औषधि छुटाएका बिरामी, शरीरमा खराब कोलेस्ट्रोल बढेमा (एलएडी), शारीरिक व्यायामको कमी, असन्तुलित खानपान, जंकफुड धेरै सेवन, धुम्रपान र मद्यपान धेरै गर्ने व्यक्तिमा हृदयघात हुने जोखिम बढी हुन्छ । परिवारमा कसैलाई हृदयघात भएको छ भने अरूलाई पनि हृदयघातको जोखिम हुनसक्ने डा. जिसी बताउँछन् ।

युवाहरूले गर्ने गल्ती

हृदयघातको समस्या ४० वर्षपछि देखा पर्छ भन्ने धारणाको कारणले युवाहरूमा छाती दुखाइको समस्या देखा परे बेवास्ता गर्ने गर्छन् । ग्यास्ट्रिकको समस्या भयो कि भनेर घरमै बस्ने गरेको डा. जिसी बताउँछन् । ‘छाती दुखाइलाई बेवास्ता गर्नु हुँदैन । समयमै उपचार भयो भने हृदयघातको कारण हुने जोखिमलाई कम गर्न सकिन्छ’ उनी भन्छन् ।

युवावस्थामा जे गरे पनि स्वास्थ्य समस्या निम्तिंदैन भनेर चुरोट रक्सी खाने, धेरै चिल्लो खानेकुरा खाने र व्यायाम नगर्ने गर्दा पनि युवाहरुमा हृदयघातको सम्भावना बढिरहेको छ । त्यसैले युवाहरू पनि हृदयघातबारे सचेत हुनुपर्ने डा. जिसी बताउँछन् ।

हृदयघातको लक्षण

मुटुरोग विशेषज्ञ डा. जिसीका अनुसार छाती भारी हुने वा दुख्ने, चिटचिट पसिना आउने, धड्कन बढ्ने, आत्तिने, कहिलेकाहीं दुखाइ हाततिर तथा घाँटीतिर सर्दै जाने, छिटो छिटो हिंड्दा र भर्‍याङ मात्र चढ्दा पनि स्वाँस्वाँ आउने, भारी सामान उचाल्दा असजिलो महसुस हुने, छाती पोल्ने समस्या हृदयघात हुनुअघि देखिने लक्षण हुन् ।

हृदयघातको जोखिमबाट बच्ने उपाय

हृदयघातको जोखिमबाट बच्न डा. जिसी यसरी सुझाउँछन् ।

– धुम्रपान, मद्यपान नगर्ने

– दैनिक ३० मिनेट नियमित व्यायाम गर्ने

– रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्ने

– उच्च रक्तचाप र मधुमेहको समस्या छ भने त्यसलाई नियन्त्रणमा राख्ने

– आफ्नो स्वास्थ्यमा आएको परिवर्तनलाई बेवास्ता नगर्ने

– तनाव लिने बानी हटाउने

– खानामा हरियो सागसब्जी तथा फलफूलको मात्रा बढाउने

– हरेक वर्ष मुटुको जाँच गर्ने ।

युवा स्वास्थ्य समस्या हृदयघात
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय