+
+

दुर्गा प्रसाईं किन समातिए, के हो आरोप ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १७:४५

६ असोज, काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको चार दिनपछि प्रहरीले उनलाई आइतबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ कमेरोटारस्थित घरबाट पक्राउ गरेको हो ।

प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको दुई युट्युबर बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल भने पक्राउ परेका छैनन् ।

भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई वीर अस्पतालमा ल्याएर स्वास्थ्य परीक्षण गराइएको ब्युरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए । स्वास्थ्य परीक्षणपछि उनलाई हिरासतमा राख्न आइतबार नै अदालतबाट अनुमति लिने प्रहरीको तयारी छ ।

एसपी अवस्थीका अनुुसार रास्वपाकी एक नेतृले उनीहरुविरुद्ध जाहेरी दिएकी थिइन् । व्यक्तिगत आक्षेप लगाउँदै गाली गलौज गरेपछि ती नेतृ प्रहरीको साइबर ब्युरोमा पुगेकी थिइन् ।

अहिले पक्राउ परेका प्रसाईंमाथि ब्युरोले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने ब्युरोको तयारी छ ।

‘अहिलेसम्मको प्रारम्भिक अनुसन्धानका क्रममा उहाँविरुद्ध दफा ४७ आकर्षित हुने देखिन्छ । अनुसन्धान गर्दै जाँदा थप केही खुलेमा सोही अनुसार प्रक्रिया अघि बढ्छ,’ एसपी अवस्थीले भने ।

दफा ४७ मा विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्नेविरुद्ध हुने कारबाहीबारे उल्लेख छ ।

‘कम्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीच सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ’ दफा ४७ मा उल्लेख छ ।

४७ को उपदफा २ अनुसार यो कसुर पटक पटक गरेमा त्यस्तो कसुर वापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुने छ ।

प्रसाईं पक्राउ परेसँगै अब २५ दिनसम्म हिरासतमा राखेर उनीमाथि अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको छ ।

अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउनेछ । त्यसपछि सरकारी वकिल कार्यालयले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने छ ।

यो प्रक्रिया पूरा भएपछि साधारण तारेख वा धरौटीमा रिहा तथा पुर्पक्षका लागि उनी कारागार चलान हुन सक्छन् । दोषी ठहर भए प्रसाईंलाई पाँच वर्षसम्म कैद हुन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?