+
+

दशैंमा सुनचाँदी बजारले किन तान्न सकिरहेको छैन ग्राहक ?

एक वर्ष अघिसम्म दैनिक १० किलोका दरले सुनको माग धान्न नसकेको भन्दै व्यवसायीले कोटा बढाउन राष्ट्र बैंकलाई दबाब दिएका थिए । असोज २०८० देखि राष्ट्र बैंकले पनि कोटा बढाएर दैनिक २० किलो सीमा निर्धारण गरिदियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १९:१९
फाइल तस्वीर

६ असोज, काठमाडौं । दशैं नजिकिँदै गर्दा काठमाडौंका मुख्य बजार न्युरोड, असन, इन्द्रचोकमा सर्वसाधारणको भीड बढ्दो छ । शनिबार तथा सार्वजनिक बिदाका दिन पनि सबै किसिमका पसल खुल्न थालेका छन् ।

इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण, लत्ताकपडा किन्नेको भीडभाड देखिन्छ । सुनचाँदीका गरगहना पसलमा पनि अरू बेलाभन्दा राम्रै भीड देखिन्छ । तर, पोहोर दशैंको तुलनामा कारोबार घटेको व्यवसायी बताउँछन् ।

‘मूल्य असाध्यै बढ्यो, त्यसले गर्दा अहिले सुनका गरगहना किन्ने ग्राहक धेरै कम भए,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य भन्छन् ।

यतिबेला कतिपय ग्राहक पुरानो गरगहना नै तोडमरोड गरेर नयाँ डिजाइन बनाउन आउने गरेको त कतिपयले भएको गहना पनि बेच्न आउने उनले बताए ।

‘अहिले किन्नेहरू नै कम छन्, १ तोलाभन्दा माथिको गरगहना बनाउने त झनै कम छन्,’ उनले भने । पोहोर दशैंका बेला १ लाख १० हजार हाराहारी रहेको सुन एक वर्षमै ४३ प्रतिशतले महँगिएको हो ।

‘एउटा गहना बेच्न आउँदा अरू दुई/तीन जना सँगै आउने भएकाले पसलमा भीड बढेको जस्तो देखिन्छ, तर वास्तवमा हामीले गर्ने कारोबार पहिलेका दशैंभन्दा घटेको छ,’ शाक्यले भने ।

पहिले–पहिले दुई तोलाका तिलहरी धेरै बिक्री हुने गरेकोमा अहिले आधा तोलाका तिलहरी मात्र बिक्री हुने गरेको उनी सुनाउँछन् । दशैंमा मात्र होइन, तिजमा पनि सुनको धेरै कारोबार हुन नसकेको व्यापारी बताउँछन् ।

‘तिजको सिजनमा पनि दैनिक औसत १० किलोभन्दा धेरै सुन कारोबार भएन,’ महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य भन्छन् ।

एक वर्ष अघिसम्म दैनिक १० किलोका दरले सुनको माग धान्न नसकेको भन्दै व्यवसायीले कोटा बढाउन राष्ट्र बैंकलाई दबाब दिएका थिए । गत वर्ष असोजदेखि राष्ट्र बैंकले पनि कोटा बढाएर दैनिक २० किलो सीमा निर्धारण ग‍र्‍यो ।

व्यवसायीले भारतबाट अवैध कारोबार बढेको शंका गरेका छन् । नेपालभन्दा भारतमा सुन सस्तो भएकाले पनि नेपाली बजारमा सुन कारोबार घटेको महासंघका पदाधिकारी बताउँछन् ।

नेपालभन्दा भारतमा सुन तोलाकै करिब २० हजार सस्तो पर्ने गरेको बज्राचार्यले बताए । ‘भारतले बजेटमार्फत सुनको भन्सार दर घटायो, नेपालले बढायो, यही कारण अहिले नेपालभन्दा भारतमा सुन सस्तो पर्ने गरेको छ,’ उनले भने ।

यसै वर्ष भारतले सुनको भन्सार दर १५ बाट ६ प्रतिशतमा झार्‍यो भने नेपालले १५ बाट २० प्रतिशत पुर्‍यायो । यही कारण सुनको मूल्यान्तर धेरै हुन गएको हो । खुला सीमा रहेकाले नेपालतिर भारतबाट सुन आइरहेको व्यापारी बताउँछन् ।

‘अहिले कतिपयले त यहाँ डिजाइन तयार गरेर भारतमा पठाउने र त्यतैबाट गरगहना नै ल्याउने गरेका छन्,’ एक व्यापारीले भने, ‘त्यता कालिगढ पनि सस्तो, सुन पनि सस्तो भएकाले यो अवस्था आएको हो । त्यतिमात्र होइन, भारतबाट काठमाडौंमै सुन ल्याइदिने भरिया समेत सक्रिय रहेको सुनेका छौं ।’

सीमा क्षेत्रका सुनचाँदी पसल बन्द हुने अवस्थामा पुगेको उनले बताए । ‘एउटा साडी ५/७ सय रुपैयाँ फरक पर्दा त सीमापारि नै सपिङ गर्न जाने चलन बसिसकेको छ भने सुनमा त तोलामै करिब २० हजार मूल्यअन्तर देखिन्छ,’ उनले भने ।

अवैध सुन कारोबार फस्टाउँदा राज्यले पाउने राजस्व पनि गुमाउँदै जान्छ । जब वैधानिक रूपमा सुन आयात घट्न जान्छ, मुलुकले ठूलो मात्रामा राजस्व गुमाउँछ । राजस्व बढाउने लक्ष्यसाथ सरकारले बजेट मार्फत भन्सार दर बढाएको थियो, त्यसको नतिजा भने प्रत्युत्पादक हुने जोखिम रहेको व्यवसायीको भनाइ छ ।

सरकारले तत्कालै भन्सार दर पुनरावलोकन नगरे यसले नेपालको सुनचाँदी बजारमा ठूलो समस्या ल्याउने व्यवसायी बताउँछन् ।

‘नाफा धेरै भएपछि कतिपय व्यवसायीले तस्करीको सुन कारोबार गरेका छन्, सीमा क्षेत्रका स्थानीय नाफा देखेर सुन तस्करीतिर लाग्न सक्छन्,’ उनले भने, ‘त्यसकारण भारत र नेपालको खुद्रा बजार मूल्य करिब उस्तै हुने गरी भन्सार दर कायम गर्नुपर्छ ।’

साउनपछि बैंकहरूसँग भएको सुन पनि बिक्री नभएको अवस्था रहेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए । ‘दशैंका कारण अहिले केही मात्रामा बिक्री भएको छ, तर पहिलेजस्तो डिमान्ड देखिँदैन,’ उनले भने ।

किन बढिरहेको छ भाउ ?

सुनको भाउ बढ्नुमा अन्तर्राष्ट्रिय कारण छन् । युक्रेनमाथि रुसको हमला र त्यसपछिको अन्तर्राष्ट्रिय द्वन्द्व, इरान र इजरायल द्वन्द्व, अमेरिका सहित विश्वका धेरै देशको अर्थतन्त्र शिथिल हुनु लगायत कारण सुनको भाउ बढ्दै गयो ।

‘अन्तर्राष्ट्रिय स्तरमा द्वन्द्व बढ्दा सुनको मूल्य बढ्दै गयो, ती द्वन्द्व अहिले पनि कायमै छन्,’ महासंघ पूर्वअध्यक्ष शाक्यले भने, ‘त्यसमा पनि विश्वका केन्द्रीय बैंकहरूले सुन भण्डारण बढाए, अहिले अमेरिकाले ब्याजदर घटाउँदा फेरि लगानी पनि सुनतिरै मोडियो ।’

अमेरिकी केन्द्रीय बैंकले हालै ब्याजदर ०.५० प्रतिशत बिन्दुले घटायो । ब्याजदर घटाउँदा नै बैंक अध्यक्ष जेरोम एच पावेलले मूल्यवृद्धिमा थप चाप नदेखिए ब्याजदर अरू थप घट्ने आशय जनाए । यही कारण डिसेम्बरमा फेरि ब्याजदर घट्ने चर्चा चलेको छ । ब्याजदर घट्दा सुनसँगै, स्टक मार्केट समेत बढ्न जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?