+
+

पूर्व डीआईजी जाेशीलाई साेमबार कास्की अदालतमा उपस्थित गराइने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते २२:०४

६ असाेज, पाेखरा । विभिन्न सहकारीबाट गाेर्खा मिडिया प्रालिमा गएकाे रकम अपचलन गरेकाे अभियाेगमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जाेशीलाई पाेखरा ल्याइएकाे छ । जाेशीलाई हवाई जहाजबाट आइतबार बेलुकी पाेखरा ल्याइएकाे हाे । उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराइने कास्की प्रहरीले जनाएको छ ।

६५ कराेडभन्दा धेरै सहकारीकाे रकम गाेर्खा मिडियाबाट अपचलन गरिएकाे अभियाेगमा पूर्व सञ्चालक जाेशीलाई प्रहरीले आइतबार दिउँसाे काठमाडौंबाट पक्राउ गरेकाे थियाे ।

पाेखराकाे सूर्यदर्शन सहकारीका पीडितले गाेर्खा मिडिया, रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने, दिपेश पुनसहित ४ व्यक्ति र १४ संस्थालाई विपक्षी बनाएर गत साल माघ २२ गते जाहेरी दिएका थिए । सूर्यदर्शनकाे मुद्दा अदालतमा पुगिसकेकाले प्रहरीले त्यसलाई पुरक जाहेरीका रूपमा राखेकाे थियाे ।

सूर्यदर्शनलगायत विभिन्न सहकारीकाे अपचलनमा लामिछानेकाे पनि संलग्नता रहेकाे भन्दै चाैतर्फी विराेध, नेपाली कांग्रेसकाे संसद अवराेधपछि एमाले सांसद सूर्य थापाकाे संयाेजकत्वमा संसदीय छानबिन समिति गठन भएकाे थियाे । त्यही सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानून अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

समितिकाे प्रतिवेदनलाई कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएसँगै जाेशी पक्राउ परेका हुन् । पाेखराकाे सूर्यदर्शनबाट गाेर्खा मिडियामा ५ कराेड रूपैयाँ गएकाे देखिएकाे छ ।

त्यही गाेर्खा मिडियाविरूद्ध कास्कीमा जाहेरी परेकाले जाेशीलाई पाेखरा ल्याइएकाे हाे । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरेर उनलाई प्रहरी हिरासतमा राखिने कास्की प्रहरी प्रमुख एसपी माेहन थापाले जानकारी दिए । जाेशीलाई साेमबार नै अदालतमा उपस्थित गराइने छ ।

संसदीय कारबाही सिफारिस गरेका राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी छ भने रम्तेल पुर्पक्षका लागि थुनामा छन् । गाेर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक लामिछाने पनि पक्राउ पर्न सक्ने भन्दै नेता कार्यकर्तासँगै सिंगाे रास्वपा सशंकित देखिएकाे छ । रविविरूद्ध पनि कास्कीमा जाहेरी परेकाले उनी पनि पक्राउ परे पाेखरा नै ल्याइने प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?