+
+

कैलालीमा २ महिनामा लागुऔषध मुद्दामा ८१ जना पक्राउ, डेढ करोडको अवैध सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते ७:२०

७ भदौ, धनगढी । कैलालीमा दुई महिनाको अवधिमा लागुऔषधसम्बन्धी मुद्दामा ८१ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा लागुऔषधसम्बन्धीका ५३ मुद्दामा ८१ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले लागुऔषधको कारोबार तथा सेवनमा संलग्न ८१ जनालाई पक्राउ गरी मुद्दा चलाइएको जानकारी दिए । बिष्टले पक्राउ पर्नेमा दुई जना महिला र ७९ जना पुरुष रहेको बताए ।

उनकाअनुसार साउनमा दर्ता भएका ३३ वटा मुद्दामा ४७ जना र भदौमा दर्ता भएका २० मुद्दामा ३४ जनालाई पक्राउ गरिएको थियो । उनीहरुको साथबाट विभिन्न खालका लागुऔषध समेत बरामद गरिएको छ ।

भदौमा मात्र २० किलो ८९९ ग्राम चरेस, साढे १५ ग्राम खैरो हेरोइन, १९ क्याप्सुल ट्रमाडोल बरामद गरिएको एसपी बिष्टले बताए ।

उनकाअनुसार साउनमा ३८ ग्राम ३७० मिलीग्राम चरेस, १९ ग्राम ९३० मिलीग्राम खैरो हेरोईन, १२ वटा फेनागन एम्पुल, ५ ट्यावलेट नाइट्रोभेटलगायतका लागुऔषध बरामद गरिएको छ ।

दुई महिनामा झण्डै डेढ करोड बराबरको भन्सार छलीको अवैध सामान बरामद गरिएको छ । साउनमा ६५ लाख ७४ हजार र भदौमा ६६ लाख ४७ हजार गरेर एक करोड ३२ लाख २१ हजार बराबरको भन्सार छलीको सामान बरामद गरिएको प्रमुख बिष्टले बताए ।

यो अवधिमा ४३ मुद्दाका फैसला कार्यान्वयन गर्दै तीन वर्ष दुई महिना २० दिन कैद र एक लाख ७४ हजार १४४ रुपैयाँ जरिवाना समेत असुल गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध दुव्र्यशनी, चोरी तस्करी नियन्त्रण तथा फरार प्रतिवादीलाई कारबाहीको दायरामा ल्याउने गरी काम गर्ने प्रतिबद्धताअनुसार नै कार्यसम्पादन गरिरहेको एसपी बिष्टले बताए ।

गत आर्थिक वर्षसम्म एक हजार ८३५ जना विभिन्न मुद्दामा फरार प्रतिवादी रहेकोमा ४५८ जनालाई पक्राउ गरिएको उनले बताए ।

उनकाअनुसार उनीहरुबाट १५४ वर्ष ८ महिना कैद र ५५ लाख ८८८ रुपैयाँ जरिवाना असुल गरिएको छ ।

गत वर्ष भन्सार छलीको अवैध सामानबाट दुई करोड १८ लाखको राजश्व संकलन गर्ने लक्ष्य राखिएको ३६१ प्रतिशत बढी आठ करोड ३५ लाख असुली गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बिष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?