+
+

वैदेशिक रोजगारीमा हुने ठगीबाट बच्न के गर्ने, के नगर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते ९:४३

काठमाडौंं । नेपालबाट बर्सेनि ७ लाख जना वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्यांक छ । तर, वैदेशिक रोजगारमा जानुअघि आवश्यक पर्ने सूचना, कानुनी प्रक्रिया थाहा नपाउँदा नेपाली श्रमिकहरु मारमा परिरहेका हुन्छन् ।

वैदेशिक रोजगार विभाग र प्रहरीमा आएको उजुरी केलाउँदा वैदेशिक रोजगारीका सिलसिलामा ठगीमा पर्नेको संख्या ठूलो छ । वैदेशिक रोजगार विभागका अनुसार वार्षिक ७ हजार ठगीका मात्रै उजुरी पर्ने गरेका छन् ।

जसमा अधिकांश श्रमिकहरु एजेन्ट, म्यानपावर कम्पनी र व्यक्तिबाट ठगीको शिकार बन्न पुगेको देखिएको विभागको भनाइ छ ।

वैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउने ?

वैदेशिक रोजगारीमा जादा नेपाली श्रमिकहरूले पहिलो म्यानपावर कम्पनी छनोट गर्न विशेष ध्यान दिनपर्छ । सरकारले स्वीकृति दिएका म्यानपावर कम्पनीहरूबाट मात्र वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउनुपर्छ ।

वैदेशिक रोजगार विभागको आधिकारिक वेबसाइट मा सूचीकृत म्यानपावर कम्पनीहरूको सूची प्रकाशित गरिएको हुन्छ । जहाँ म्यानपावर कम्पनीहरुले वार्षिक र मासिक रुपमा श्रमिकहरु पठाएको विवरणहरु राखिएको हुन्छ । सोही आधारमा वर्षमा सबैभन्दा धेरै श्रमिकहरु पठाउन सफल म्यानपावर कम्पनीहरु छनोट गर्नु उपयुक्त हुन्छ ।

त्यसपछि श्रमिकले विदेश जाने बेला म्यानपावर कम्पनीले दिएको रोजगार सम्झौता पत्रमा पनि ख्याल गर्नुपर्छ । सम्झौता पत्रमा स्पष्ट रूपमा पारिश्रमिक, भिसा अवधि, काम गर्ने समय, सेवा सुविधा, आवास र खाना व्यवस्थाको बारेमा स्पष्ट उल्लेख गरिएको हुनु पर्दछ ।

कतिपय अवस्थामा श्रमिकहरुलाई म्यानपावर कम्पनी वा एजेन्टहरुले यस्ता शर्तबारे जानकारी नदिने र विदेश पुगेपछि मात्र थाहा पाउने हुन पुग्छ । यस्ता समस्याबाट जोगिन विदेश जानु पूर्व नै सम्झौता पत्रमा उल्लेखित बुँदा र सेवा सुविधाहरु राम्रोसँग हेर्नपर्दछ । सबै शर्तहरू बुझेर मात्र सम्झौता गर्नुपर्दछ ।

त्यसमा पनि वैदेशिक रोजगारीमा हुने सबैभन्दा ठूलो ठगी एजेन्ट, म्यानपावर कम्पनी र व्यक्तिगत रुपमा हुने गर्दछ । व्यक्तिगत रुपमा हुने ठगी सबैभन्दा ठूलो ठगी हो । धेरैजसो नेपाली श्रमिकहरू दलालहरूको छिट्टै प्रलोभनमा पर्ने गर्दछन् । एजेन्ट वा दलालहरु सजिलो काम, उच्च तलब, चाँडो काम पाइने जस्ता झूठा प्रलोभन श्रमिकहरूलाई देखाउँछन् ।

वैदेशिक रोजगार विभाग र प्रहरीमा आएका ठगीका घटनाहरु केलाउँदा अहिले धेरैजसो घटनाहरु व्यक्तिगत ठगीबाट भइरहेको छ । सामाजिक सञ्जालमा विभिन्न विज्ञापन राखेर प्रलोलन देखाउने र विदेश पठाइदिने भनेर रकम असुलिरहेको देखिन्छ ।

त्यसमा पनि युरोपका मुलुकहरु, क्यानडा, अस्ट्रेलिया, जापान, अमेरिका लगायतका देशहरु पठाउने भन्दै व्यक्तिगत रुपमा लाखौं रकम ठगी गरेको पाइन्छ । विभागमा परेका उजुरीहरु हेर्दा प्रतिव्यक्ति १ लाखदेखि ७०, ८० लाखसम्म ठगिएको देखिन्छ ।

त्यसैले कुनै पनि व्यक्तिको प्रलोभनमा परेर वैदेशिक रोजगारीमा जाने तयारी गर्नु हँुदैन । वैदेशिक रोजगारीमा जादा सिधा म्यानपावर कम्पनीमार्फत नै जानुपर्दछ । माथि भनिएझैं वैदेशिक रोजगारीमा जादा वैदेशिक रोजगार विभागबाट स्वीकृति प्राप्त म्यानपावर कम्पनीमार्फत नै जानु पर्दछ ।

पूर्वअभिमुखीकरण तालिम अनिवार्य

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरूका लागि विदेश जानुअघि श्रमिकलाई अभिमुखीकरण तालिम लिन अनिवार्य गरेको छ । उक्त तालिममा श्रमिकहरूलाई सम्बन्धित देशको आधारभूत भाषा, नियम कानुन, त्यहाँ हुन सक्ने सम्भावित ठगी, कानुनी प्रक्रिया, श्रमिकका अधिकार, कार्य स्थलमा काम गर्दा अपाउनुपर्ने सुरक्षाका उपायबारे जानकारी दिइन्छ ।

धेरैजसो विदेशमा हुने ठगी, कानुनी झमेला, दुर्घटना, मृत्युजस्ता कारणहरु आफ्नो माथि उल्लेखित विषयहरु थाहा नपाउँदा हुने गर्दछ । यस तालिमले श्रमिकलाई विदेशमा काम गर्दा ध्यान दिनुपर्ने कुराहरुदेखि हुन सक्ने सम्भावित दुर्घटनाबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्दछ ।

यस्तो तालिम वैदेशिक रोजगार विभागले मान्यता दिएको तालिम केन्द्रबाट मात्र लिनुपर्ने व्यवस्था छ । ती तालिम केन्द्रहरुबाट तादिम लिइसकेपछि प्रमाणपत्र प्राप्त गर्नुपर्छ ।

तर कतिपय तालिम केन्द्रहरुले आवश्यक अभ्यास नै नगराई प्रमाणपत्र दिने गर्दछन् । त्यसैले राम्रोसँग पूर्व अभिमुखीकरण तालिम लिएरमात्र वैदेशिक रोजगारीको यात्रा तय गर्नुपर्दछ ।

श्रम स्वीकृति अनिवार्य

वैदेशिक रोजगारीमा जाने कामदारहरूको लागि सरकारले वैदेशिक रोजगार बीमा अनिवार्य गरेको छ । वैदेशिक रोजगारीमा जानु अघि श्रमिकहरूले बीमा गर्नुपर्छ, यसले भविष्यमा हुन सक्ने आकस्मिक दुर्घटना, स्वास्थ्य समस्या, वा मृत्यु, घाइते जस्ता अवस्थामा आर्थिक सहयोय गर्दछ । बिमा गरेर वैदेशिक रोजगारीमा गएपछि पनि कुनै आकस्मिक अवस्थामा आर्थिक सुरक्षाको प्रत्याभूति हुन्छ ।

अर्काे महत्वपूर्ण कुरा के हो भने, वैदेशिक रोजगारीमा जाँदा अनिवार्य श्रम स्वीकृति लिएरमात्र जानुपर्दछ । सरकारले पनि श्रम स्वीकृति लिएर विदेश जान अनिवार्य गरेको छ । यो श्रम स्विकृति वैदेशिक रोजगार विभागबाट लिनुपर्दछ ।

अनलाइन फारम भरेर वा वैदेशिक रोजगार विभागको कार्यालय पुगेर श्रम स्विकृति लिन सकिन्छ । श्रम स्वीकृति लिएर विदेश जानुलाई सुरक्षित मानिन्छ । श्रम स्विकृति लिएर गएमा विदेशमा हुने ठगी, दुर्घटना र समस्यामा पर्दा श्रमिकहरुले कानुनी संरक्षण र राज्यबाट राहत तथा क्षतिपूर्ति समेत पाउँछन् ।

तर श्रम स्वीकृति नलिई विदेश जाने कामदारहरू ठगीमा पर्ने जोखिम हुन्छ भने सम्बन्धित देशको कानुनी झमेलामा पर्ने सम्भावना बढी हुन्छ । गैरकानुनी बसाइका कारण नेपाल सरकारबाट पाउने सेवा, सुविधाबाट समेत बञ्चित हुन्छन् भने समस्यमा परेकाहरुको उद्धारमा पनि कठिनाइ हुन्छ । श्रम स्वीकृति बेगर गैरकानुनी रुपमा प्रवेश गरेका श्रमिकहरुले जेल वा डिटेन्सनमा समेत पर्ने जोखिम रहन्छ ।

खास गरी अहिले एजेन्टहरुले श्रम स्वीकृति बेगर भिजिट भिसामा विभिन्न मुलुक हुँदै वैदेशिक रोजगारीमा पठाउने गर्दछन् । यसरी भिजिट भिसामा जाने कार्यलाई गैरकानुनी मानिन्छ ।

तसर्थ वैदेशिक रोजगारीमा जानु पूर्व भिजिट भिसा हो की श्रम स्वीकृति लिएर जान लागेको भनेर बुझ्नु पर्दछ । यसले भविष्यमा हुने ठूलो खतराबाट जोगाउँछ । श्रम स्वीकृति लिए/नलिएको विवरण वैदेशिक रोजगार विभागको बेवसाइटबाट चेक गरेर थाहा पाउन सकिन्छ ।

यसरी गर्न सकिन्छ गुनासो

वैदेशिक रोजगारीका लागि विदेश जान लागेका वा गएका श्रमिकहरुको हकमा हेल्प लाइनको व्यवस्था गरेको छ । देश तथा विदेशमा रहेका श्रमिकको समस्या समाधानका लागि श्रम कल सेन्टरलाई ‘श्रमाधान’ भनेर नामाकरण गरिएको छ ।

श्रमिकहरूले कुनै समस्या परेमा श्रमाधानको कल सेन्टरमा फोन गरेर आफ्नो समस्या तथा गुनासोहरु सरकारलाई सुनाउन सक्दछन् । वैदेशिक रोजगारीमा भएका श्रमिकहरुले वेबसाइट मार्फत आफ्नो गुनासो तथा समस्याहरु सुनाउन सक्दछन् ।

ठगिएका तथा समस्यामा परेका श्रमिकहरूको सहयोगका लागि २४ सै घण्टा सञ्चालनको व्यवस्था गरको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?