
७ असोज, काठमाडौं। मानव बेचबिखन अनुसन्धान ब्यूरोको हिरासतमा अहिले मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका ६ जना छन् । मिर्गौला तस्करी गरेको आरोपमा ब्यूरोको टोलीले मिर्गौला किन्ने मान्छेसँग सम्पर्क गराइदिने होटल सञ्चालकदेखि बेचबिखनमा भूमिका खेल्ने र मिर्गौला किन्ने परिवारका सदस्यसम्म हिरासतमा छन् ।
हिरासतमा रहेका ६ जनामध्ये कसैको पेटको दायाँ भाग काटिएको छ, कसैको बायाँ भाग चिरिएको छ । कथा सबैको उस्तै छ, मात्रै तिथिमिति फरक । आर्थिक अवस्था कमजोर भएका ती युवाको पेट चिरिनुको कथा उही मिर्गौलाको बिक्रीसँग जोडिएको छ ।
अहिले हिरासतमा रहेका ६ जनामध्ये तीन जनाले यसअघि नै आफ्नो मिर्गौला बेचिसकेको खुलेको छ । आफ्नो मिर्गौला बेचेको समूह अन्य व्यक्तिको मिर्गौला तस्करीमा पनि संलग्न रहेको यो तथ्यले पुष्टि गरेको छ ।
गुजारा चलाउन भन्दै आफ्नो मिर्गौला बेचेका ती युवाहरू त्यतिले पनि नपुगेर अहिले संगठित रूपमै मिर्गौला तस्करीमा लागेका छन् । मिर्गौला किनबेच गर्ने ग्राहकको खोजीमा नेपालकै दूरदराजका कुनाकन्दरादेखि भारतको कोलकातासम्म उनीहरूको गिरोह संगठित रूपमा सक्रिय छ ।
ब्यूरोको अहिलेसम्मको अनुसन्धानले मिर्गौला तस्करीको मुख्य केन्द्रमा यसअघि आफ्नै मिर्गौला बेचेका व्यक्तिहरू रहेको यो तथ्यले पुष्टि गरेको छ ।
‘मिर्गौला तस्करीको जञ्जाल जेरी झैं जेलिएको छ । तस्करी आरोपमा एउटालाई पक्राउ गर्यो त्यसैको मिर्गौला हुँदैन । अनि त्यही व्यक्ति पनि पीडित जस्तो देखिन्छ । अनुसन्धान गर्दै गयो फेरि त्यसले अरूलाई कन्भिन्स गराएर मिर्गौला तस्करी गरेको देखिन्छ’ ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्र भन्छन्, ‘आफ्नो मिर्गौला बेचिसकेपछि पेशेवर रूपमै मिर्गौला तस्करीमा लागेको देखिन्छ ।’
कोही मिर्गौला बेच्ने व्यक्ति खोजी हिंड्ने, कोही किन्ने व्यक्ति खोजी हिँड्ने, आफ्नो चिरिएको पेट देखाउँदै कन्भिन्स बनाएर मिर्गौला बेच्न तयार बनाएको ब्यूरोको अनुसन्धानले देखाएको छ
ब्यूरोको टोलीले ९ भदौमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेँदी गाउँपालिका–२ घर भई काठमाडौं माछापोखरीमा खाजा घर चलाउँदै आएकी ४२ वर्षीया शान्तिमाया घलानलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।
एक महिनाको अनुसन्धानका क्रममा मिर्गौला तस्करी गरेको आरोपमा पक्राउ पर्नेको संख्या ६ पुगिसकेको छ । पक्राउ परेकी घलान एक युवकलाई मिर्गौला दिन उक्साउने व्यक्ति हुन् भने खत्रीले मिर्गौला दिने व्यक्ति मनिष (नाम परिवर्तन) लाई रकम दिने भूमिका निभाएका थिए । तर अहिले खत्री अर्को मिर्गौला तस्करीका मुख्य नाइके नै रहेको खुलेको छ ।
तीन जना फरार
मिर्गौला तस्करीको आरोपमा ९ भदौमा खत्री र घलान पक्राउ गरेपछि विभिन्न मितिमा गरेर अहिलेसम्म ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू पक्राउ परेपछि १८ भदौमा मात्रै ब्यूरोको टोलीले मिर्गौला तस्करीका मुख्य व्यक्ति काठमाडौंको नैकापका ५५ वर्षीय नारायण परियारलाई पक्राउ गरेको थियो ।
त्यसपछि धादिङबाट कृष्ण श्रेष्ठलाई पक्राउ गर्यो । केही दिनअघि मात्रै ब्यूरोले जनकपुरका अमन साहलाई पक्राउ गरेको छ । अमन साह भने मनिषको मिर्गौैला आफ्नी आमालाई प्रत्यारोपण गराउने व्यक्ति हुन् । उनले कोलकाताको अम्री अस्पतालमा पुर्याएर मिर्गौला प्रत्यारोपण गराएका थिए ।
गत बिहीबार मात्रै काभ्रेका कृष्ण कामीलाई ब्यूरोले पक्राउ गरेको छ । कृष्ण कामी भने काभ्रेकै अर्का युवाको मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका हुन् । अहिले पक्राउ परेका मध्ये कृष्ण कामी, नारायण परियार र कृष्ण श्रेष्ठले यसअघि नै आफ्नो मिर्गौला बेचिसकेको पाइएको ब्यूरोका एसपी मिश्रले बताए ।
प्रहरीका अनुसार मनिषको मिर्गौला निकालिएको घटनामा एक जना र काभ्रेका युवाको मिर्गौला निकालिएको घटनामा दुई जना गरी ३ जना पक्राउ पर्न बाँकी छन् । फरार तीनै जनाले यसअघि नै मिर्गौला बेचिसकेको सूचना रहेको ब्यूरो स्रोत बताउँछ ।
१० लाखमा डिल, ४ लाख मात्र पाएपछि बाहिरियो प्रकरण
काठमाडौंकै एक १८ वर्षीय युवक मनिषलाई कोलकाता पुर्याएर मिर्गौला तस्करी गरेको आरोपमा ब्यूरोको टोलीले ९ भदौदेखि अनुसन्धान अघि बढाएको थियो । उनलाई १० लाख दिने भन्दै गत माघ अन्तिम साता कोलकाता पुर्याएर मिर्गौला तस्करी गरिएको थियो । पछि ती युवकले ४ लाख ७० हजार मात्रै पाएपछि यो विषय बाहिरिएको थियो ।
सोही अनुसन्धानको सुरुवातमै पक्राउ परेका ललितपुरको महालक्ष्मी नगरपालिका–८ का शंकर खत्री नै अहिले अर्को युवकको मिर्गौला तस्करीमा पनि जोडिएका छन् ।
काभ्रेका सुमन (नाम परिवर्तन) लाई १२ लाख रुपैयाँ दिएर कोलकाताकै अम्री अस्पताल पुर्याएर शंकरले मिर्गौला तस्करी गरेको पाइएको छ ।
शंकरले गत फागुनमा सुमनलाई कोलकाता पुर्याएका थिए । त्यसपछि सुमनबाट मिर्गौला निकालेर खत्रीले आफ्नै श्रीमतीमा प्रत्यारोपण गराएको अनुसन्धानबाट खुलेको छ । एउटा मिर्गौलाको अनुसन्धान गर्दा उनी अर्को मिर्गौला तस्करीमा पनि जोडिएको पाइएको ब्यूरोका एसपी गौतम मिश्र बताउँछन् ।
सुमनलाई मिर्गौला दिने उनकै नातेदार कृष्ण कामी थिए । कृष्ण हाल प्रहरी हिरासतमा छन् । ‘कृष्णले यसअघि नै आफ्नो मिर्गौैला बेचिसकेका थिए । उनैले सुमनलाई मिर्गौला बेच्न मनाएका थिए,’ व्युरो स्रोतले भन्यो ।
‘भगवानले दुःख परेका बेला बेचेर खानु भनेर हामीलाई दुई वटा मिर्गौला दिएका हुन् । मैले पनि एउटा बेचिसकेको छु । केही फरक पर्दैन’, भन्दै कृष्णले आफूलाई कन्भिन्स गराएको सुमनले प्रहरीसमक्ष बताएका छन् । त्यसपछि आफू मिर्गौला दिन तयार भएको सुमनको भनाइ छ । सुमनले श्रीमतीको उपचार खर्च नभएपछि १२ लाख रुपैयाँ लिएर खत्रीकी श्रीमतीलाई मिर्गौला दिन तयार भएको बताएका छन् ।
प्रहरीका अनुसार सुमनलाई कोलकातासम्म पुर्याएर मिर्गौला किनबेच गर्ने कार्यमा संलग्न २ जना भने फरार छन् ।
मिर्गौला प्रत्यारोपण गरिएकाको मृत्यु
अहिले हिरासतमा रहेकामध्ये अमन साहकी आमाको र शंकर खत्रीकी श्रीमतीको मृत्यु भइसकेको छ । उनीहरू दुवै जनामा मिर्गौैला प्रत्यारोपण गरिएको थियो । शंकरले आफ्नी श्रीमतीलाई काभ्रेका सुमनबाट र अमनले काठमाडौंकै मनिषबाट आफ्नी आमालाई मिर्गौला प्रत्यारोपण गराएका थिए ।
प्रहरी स्रोतका अनुसार सुमनकी आमाको मिर्गौला प्रत्यारोपण गरिएको दुई महिनापछि र शंकरकी श्रीमतीको तीन महिनापछि मृत्यु भएको थियो । मृत्युको कारणबारे भने आफूहरू जानकार नभएको प्रहरी अधिकारीहरू बताउँछन् ।
यो घटनामा मिर्गौला लिने व्यक्ति समेत दोषी हुने भएकाले उनीहरूमाथि अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउन खोज्दा दुवै जनाको मृत्यु भएको पाइएको ब्यूरोका एसपी मिश्रले बताए ।
पक्राउ परेकाहरू विरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत अनुसन्धान अघि बढाइएको छ । उक्त ऐनअनुसार मानिसको कुनै अंग झिक्नेलाई १० वर्ष कैद तथा २ देखि ५ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।
प्रतिक्रिया 4