+
+

सीके राउत दम्पतीले किन दिए एक अर्काविरुद्ध उजुरी ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १४:३३
जनमत पार्टीका अध्यक्ष सीके राउत ।

७ असोज, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनकी पत्नी सोनी सिन्धु रानीले शान्ति सुरक्षामा खतरा भएको भन्दै एक अर्काविरुद्ध प्रहरीसमक्ष निवेदन दिएका छन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शेखर खनालका अनुसार, राउतले प्रहरी प्रभाग इमाडोल र उनकी पत्नीले प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएका हुन् ।

सातदोबाटो प्रहरीका एक अधिकृतका अनुसार, राउतले इमाडोलमा श्रीमतीविरुद्ध शान्ति सुरक्षा माग गर्दै निवेदन दिएको केही दिनपछि गत शुक्रबार उनीविरुद्ध पनि रानीले उजुरी दिएकी हुन् ।

प्रहरीका अनुसार, राउतले आफ्नो निवेदनमा श्रीमतीका कारण बस्न सक्ने स्थिति नभएको विवरण निवेदनमा लेखेका छन् ।

‘कहिले आत्महत्या गर्छु भन्ने, कहिले तोडफोड गर्छे’, उनको निवेदनमा भएको व्यहोरा उल्लेख गर्दै प्रहरी स्रोतले भन्यो । दुवै जनाले ठाडो निवेदन दिएको स्रोतको भनाइ छ ।

पत्नी रानीले दिएको निवेदनमा भने श्रीमान् सके राउतले सम्बन्ध विच्छेद गर्न दबाब दिएको भन्दै नगरे जे पनि गर्न सक्छु भन्दै धम्की दिने गरेको उल्लेख गरेकी छन् ।

‘मेरो पहुँच माथिल्लो निकाय, सरकारसम्म छ, म चाहेको खण्डमा जे पनि गर्न सक्छु, तिमी मसँग नबस, हाडीगाउँको घरमा जाऊ भनी दबाब दिँदै ज्यान सम्बन्धी धाकधम्की दिएको हुँदा असुरक्षित महसुस गरेको छु’, उनले भनेकी छन् ।

प्रहरीका अनुसार, राउतले श्रीमतीसँग सम्बन्ध विच्छेदका लागि ललितपुर अदालतमा निवेदन दिइसकेका छन् । दुवै पक्षले निवेदन दिएपछि छलफल गराइदिनुपर्‍यो नभनेको जिल्ला प्रहरी परिसर, ललितपुरका अधिकृतहरु बताउँछन् ।

‘त्यही भएर उहाँहरुको हकमा थप केही गरेका छैनौं, सम्बन्धविच्छेद गराउने प्रहरीले पनि होइन’, एक अधिकृतले भने, ‘उहाँहरु आउनुभयो हामीले बरु छलफल गरेर मिलाउने हो ।’

अहिले राउत र उनकी पत्नी इमाडोलस्थित एउटै घरमा बस्दै आएका छन् । दुवैको निवेदनमाथि अहिले अध्ययन मात्र भएको प्रहरी अधिकृतहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?