+
+

‘रोयल ट्युलिप’ नेपाल भित्रिँदै, २ अर्ब लगानीमा बूढानीलकण्ठमा बन्दैछ रिसोर्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १५:२०

७ असोज, काठमाडौं । युरोपेली चेन होटल ब्रान्ड लुभ्र होटल्स ग्रुप अन्तर्गतको लक्जरी ब्रान्ड ‘रोयल ट्युलिप’ ले नेपालमा पहिलो सेवा विस्तार गर्ने भएको छ ।

क्लासिक भ्यु रिसोर्ट लिमिटेडले काठमाडौं बूढानीलकण्ठमा निर्माण गरिरहेको रिसोर्ट व्यवस्थापन सरोवर होटल्सले गर्ने भएको हो ।

दक्षिण एसियामा रोयल ट्युलिपको व्यवस्थापन सरोवर होटल्सले गर्ने गर्छ । यसले नेपाललाई विश्व लक्जरी बजारमा महत्त्वपूर्ण योगदान दिने कम्पनीले जनाएको छ ।

यो परियोजनाको नेतृत्व ग्लोबल इक्विटी फन्ड लिमिटेड अध्यक्ष मुकुन्दराज कुँवर र निर्देशक आशिष ढकालले गरेका छन् । रोयल ट्युलिपले नेपालमा नयाँ लक्जरी मापदण्ड स्थापना गर्ने दाबी कम्पनीको छ ।

बूढानीलकण्ठको शान्त वातावरणमा अवस्थित यो लक्जरी रिसोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० मिनेट यात्रामा पुगिने छ ।

२६ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ७५ कोठा रहने छन् । आधुनिक सुविधा र नेपालको प्राकृतिक सौन्दर्य एकीकृत गर्ने गरी कोठा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

यहाँ एकैपटक ५ सय जनालाई सेवा दिने ब्यांक्वेट हल, विश्वस्तरीय स्पा, स्टिम रुम, निजी ज्याकुजी र अन्य वेलनेस सुविधा उपलब्ध हुनेछन् । स्वदेशी तथा विदेशी पाहुनाका लागि शान्त र अद्वितीय ‘होलिडे’ अनुभव दिलाउने विश्वास लगानीकर्ताको छ ।

सरोवर होटल्सका प्रबन्ध निर्देशक अजय बाकायाले नेपालको लक्जरी बजारमा रोयल ट्युलिप ब्रान्ड प्रवेशले उत्साह थप्ने बताए ।

‘नेपाल भारतीय र अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्य बन्दैछ, र हामी यस जीवन्त बजारमा सेवा विस्तार गर्न पाउँदा खुसी छौं,’ उनले भने ।

यस होटलमा १ अर्ब ८० करोड लगानी हुने भएको छ । रोयल ट्युलिप सरोवर होटल्सको औपचारिक हस्ताक्षर कार्यक्रम मंगलबार नयाँदिल्लीमा गर्ने योजना छ ।

कम्पनी अध्यक्ष कुँवरले रोयल ट्युलिपलाई नेपाल ल्याउन पाउँदा गर्व महसुस भएको बताए । उनले यस रिसोर्टले देशमा लक्जरी आतिथ्यको नयाँ स्तर स्थापित गर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?