+

मखाना वास्तवमै ‘सुपर फुड’ हो ?

२०८१ असोज  ७ गते १६:१५ २०८१ असोज ७ गते १६:१५
मखाना वास्तवमै ‘सुपर फुड’ हो ?

काठमाडौं । भारतीय अभिनेत्री रविना टण्डनले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘आजभोलि मखाना ट्रेन्डिङमा छ । तर म त तीन दशकदेखि खाजाको रुपमा मखाना खान्थें । कम क्यालोरी र धेरै पोषक तत्व भएको मखाना म अझै खाजाको रुपमा खान्छु ।’

अहिले नेपाली बजारमा पनि मखाना छ्यापछ्याप्ती भेटिन्छ । ठूला मार्टदेखि किराना पसलसम्म मखाना उपलब्ध छन् । खासगरी स्वास्थ्यप्रति सचेत व्यक्तिले यसलाई बढी रुचाइएको पाइन्छ । आखिर नेपाली भान्सामा उति प्रयोग नहुने मखानाको चर्चा पोषणवृत्तमा एकाएक कसरी चल्यो ?

जानकारहरु भन्छन्, ‘मखाना अहिले चर्चामा छ । तर यसको प्रयोग भने हाम्रो समाजमा वर्षौंदेखि हुँदै आएको छ । खासगरी तिहारको भाइमसलामा मखाना सामेल गरिन्छ ।’

अहिले भने मखानालाई स्वादिष्ट र पौष्टिक खाजाको रुपमा दैनिक खान थालिएको छ । कतिले यसलाई ‘सुपर फुड’को संज्ञा पनि दिएको छ ।

के हो मखाना ?

मखानालाई फक्स नट, लोटस सीड र केही अन्य नामले पनि चिनिन्छ । यो कमलको फूलको बीउ हो ।  यो वाटर लिलीबाट पनि निकालिन्छ । भारत बिहारमा मखाना सबैभन्दा बढी उत्पादन गरिन्छ । लगभग ९० प्रतिशत मखानाको उत्पादन बिहारमा हुन्छ । मखाना संकलन गर्ने सुकाउने र भण्डारण गर्ने प्रक्रिया निकै लामो हुन्छ ।

मखानालाई ‘अर्गानिक खाद्य’ भने पनि हुन्छ किनभने यसलाई रासायनिक मल वा कीटनाशकको उपयोगविनै उमारिन्छ । यसलाई आफ्नो आहारामा नियमित रूपमा सामेल गर्न सके स्वास्थ्यसम्बन्धी थुप्रै फाइदा पाउन सकिन्छ ।

के पाइन्छ मखानामा ?

मखाना पोषक तत्वले भरिपूर्ण हुन्छ । यसमा पाइने पोषक तत्वका कारण यसलाई सुपर फुड पनि भनिन्छ । मखानामा सोडियम र फ्याट कम हुन्छ । साथै यसमा प्रोटिन र फाइबरको मात्रा राम्रो हुन्छ । मखानामा भिटामिन सी, क्याल्सियम, आइरन, जिंक, म्याग्नेसियम, पोटासियम र फस्फोरस प्रशस्त मात्रामा पाइने पोषणविद् अनुश्री आचार्य बताउँछिन् ।

‘१०० ग्राम मखानामा करिब १०.७१ ग्राम प्रोटिन र चार ग्राम फाइबर पाइन्छ । १०० ग्राम मखानामा लगभग ७१ ग्राम कार्बोहाइड्रेट हुन्छ’ उनी भन्छिन् ।

पोषणविद् अनुश्री आचार्य

तिहारमा आफ्ना दानुभाइलाई दिइने भाइमसलामा मखाना अनिवार्य हुनुको अर्थ छ । मखानालाई पोषक तत्त्वहरूको राम्रो स्रोत मानिन्छ । जसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यस्तोमा दाजुभाइलाई मखाना दिंदा उनीहरु त्यो खाएर रोगप्रतिरोधात्मक क्षमता बढोस् र उनीहरु बलियो होउन् भन्ने हिसाबले भाइमसलामा मखाना र अन्य ड्राइफ्रुट्स समावेश गरिने गरिएको पोषणविद् आचार्य बताउँछिन् ।

पोषणविद् आस्था कार्की भन्छिन्, ‘नेपालमा मखानाको उपभोग एकदमै कम हुन्छ । वर्षमा एकचोटि भाइटीकाको मसलाको रुपमा मात्र मखानाको उपभोग गरिन्छ । तर पोषणको हिसाबले मखाना एकदमै राम्रो खानेकुरा हो । यसको सेवनले पाचन तन्त्रलाई स्वस्थ बनाउनुका साथै शरीरको कमजोरी पनि हटाउँछ । मखानामा धेरै कम क्यालोरी हुन्छ ।

यसलाई स्वस्थकर खाजाको रूपमा सजिलै खान सकिन्छ । मखाना बालबालिका र घरका ठूलालाई पनि दिन सकिन्छ । तौल घटाउन खोजिरहेका व्यक्तिले पनि यसको सेवन गर्न सकिने कार्की बताउँछिन् ।

पोषणयुक्त खानेकुराको रुपमा पछिल्लो समय विश्वरि नै मखानाको चर्चा भइरहेको छ । यसो हुनुमा बजारीकरणको मुख्य भूमिका भएको पोषणविद् सुशीला खतिवडा बताउँछिन् ।

‘मखाना लामो समयदेखि उपभोग हुँदै आएको खानेकुरा हो तर पछिल्लो समय यसको बजारीकरण गर्न यसमा भएको पोषक तत्वहरुको बारेमा चर्चा गरियो । त्यसैले सुपर फुड भनेर विश्वभर यसको चर्चा भएको’ उनी भन्छिन् ।

पोषणविद् खतिवडाका अनुसार मखाना पहिलेदेखि नै पोषक तत्वले भरिपूर्ण खानेकुरा हो । पछिल्लो समय यसमा पोषक तत्व थप भएको होइन । ‘तर सम्पूर्ण पोषक तत्वको लागि मखाना सर्वश्रेष्ठ नै हो भन्न चाहिं मिल्दैन । सबै खानेकुराको आ–आफ्नै पोषण मात्रा हुन्छ’ खतिवडा भन्छिन् ।

पोषणविद् सुशीला खतिवडा

के हुन्छ मखना खाँदा ?

मखाना सबै व्यक्तिका लागि स्वस्थ खाजाको विकल्प हो । त्यस्तै मधुमेहको समस्या भएकाहरुलाई पनि यो खाजाको रुपमा राम्रो विकल्प हुनसक्ने पोषणविद् आस्था कार्की बताउँछिन् ।

‘यसको ग्लाइसेमिक इन्डेक्स धेरै कम हुन्छ, जसकारण यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ । खाजामा १५० किलो क्यालोरीदेखि २५० किलो क्यालोरी खानुपर्छ । यस्तोमा एक कचौरा मखाना खाजा खाँदा यसमा क्यालोरी, प्रोटिन, फ्याट लगायत विभिन्न पोषक तत्व पाइन्छ’ उनी भन्छिन् ।

मखानामा प्रशस्त एन्टिअक्सिडेन्ट हुन्छ, जुन सबै उमेर समूहका लागि सजिलै पच्ने खालको हुन्छ । मखानामा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन सम्बन्धी समस्यालाई कम गर्छ । मखानाको सेवनले पेट सफा राख्नुका साथै कब्जियतको समस्याबाट पनि बचाउने पोषणविद् अनुश्री आचार्य बताउँछिन् ।

‘लामो समयदेखि तौल घटाउने सोचमा भएकाहरुले पनि मखानालाई स्वस्थकर खाजाको रुपमा समावेश गर्न सक्छन् । मखानामा धेरै कम क्यालोरी हुन्छ । यस्तो अवस्थामा यसको सेवन गर्नाले तौल नियन्त्रण हुन्छ’ उनी भन्छिन् ।

यसरी खान सकिन्छ मखाना

मखानालाई दूधमा उमालेर वा सुक्खा भुटेर खानु राम्रो हुन्छ । यसलाई त्यत्तिकै पनि खान सकिन्छ । घिउमा भुटेर तथा खीर बनाएर पनि यसलाई खान सकिन्छ । तर कसै–कसैलाई तेलमा भुटेर मखाना खान मनपर्छ, जसले शरीरलाई फाइदाको सट्टा हानि गर्छ । यसलाई भुटेपछि खाँदा शरीरको तौल बढ्नुका साथै पाचन सम्बन्धी समस्या पनि निम्त्याउन सक्छ । त्यसैले यसलाई कसरी खाने भन्ने कुरामा पनि ध्यान दिनुपर्ने पोषणविद् आचार्य बताउँछिन् ।

शरीरलाई बलियो बनाउन र रोगप्रतिरोधात्मक क्षमता बढाउन हर्लिक्स, भिभा र प्रोटिन ड्रिंक खाने गरिन्छ । शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन यस्ता प्रशोधित खानेकुरा खानु भन्दा मखाना खान सकिन्छ । बच्चालाई लिटो बनाउँदा होस् वा सातु बताउँदा मखानालाई मिसाउन सकिने पोषणविद् कार्की बताउँछिन् ।

पोषणविद् आस्था कार्की

‘मखाना जुनसुकै बेला पनि खान सकिन्छ । यसलाई खाली पेटमा खानु स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ’ उनी भन्छिन्, ‘तौल कम गर्न मखानाको सेवन गर्ने हो भने बिहान वा बेलुकाको खानाको रुपमा खान सकिन्छ ।’

आहार तथा पोषण खानेकुरा मखाना
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अकुपञ्चरले ‘खेलकुद इन्जुरी’का कस्ता चोटपटक निको पार्छ ?

अकुपञ्चरले ‘खेलकुद इन्जुरी’का कस्ता चोटपटक निको पार्छ ?

युवामा हृदयघातको समस्या बढ्दो, जोगिन के गर्ने ?

युवामा हृदयघातको समस्या बढ्दो, जोगिन के गर्ने ?

अल्जाइमर्समा परिवारको भूमिका कस्तो हुनुपर्छ ?

अल्जाइमर्समा परिवारको भूमिका कस्तो हुनुपर्छ ?

किन आउँछ छालामा दाद ?

किन आउँछ छालामा दाद ?

काठमाडौं ‘डेंगुमय’ हुँदैछ ?

काठमाडौं ‘डेंगुमय’ हुँदैछ ?

स्ट्रोकको प्राथमिक उपचार कसरी गर्ने ?

स्ट्रोकको प्राथमिक उपचार कसरी गर्ने ?