+

पुलिसको जितले बढाएको नेपाली महिला भलिबल उचाइ

२०८१ असोज  ७ गते १७:४० २०८१ असोज ७ गते १७:४०
पुलिसको जितले बढाएको नेपाली महिला भलिबल उचाइ

७ असोज, काठमाडौं । सोमबार नेपाल पुलिस क्लबका महिला भलिबल खेलाडी त्रिभुवन विमानस्थलबाट बाहिरिँदै गर्दा ठूलो संख्यामा प्रहरी कर्मचारी र समर्थक उनीहरुको स्वागतमा भेला भएका थिए ।

नेपाल प्रहरीको वाद्यवादन टोली पनि तयारी अवस्थामा थियो । जब उनीहरु विमानस्थलबाट बाहिर निस्किए प्रहरी अधिकारी, खेल पदाधिकारी र सर्वसाधारणले माला, खादा र अबिर लगाएर सम्मान गरे । प्रहरीको वाद्यवादन टोलीले बाजागाजाले स्वागत गर्‍यो । उनीहरुलाई गाडीमा राखेर नगर परिक्रमा पनि गराइयो ।

माल्दिभ्समा भएको काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा नेपालले शनिबार उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । उज्वेकिस्तान, श्रीलंका, ताजकिस्तान र नेपालका १/१ तथा माल्दिभ्सका दुई गरी ६ टोली सहभागी प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जितेको थियो ।

उपाधि जितेर फर्किँदा विमानस्थलमा पाएको स्वागत र सम्मानले पुलिस क्लबकी कप्तान कमला पुन भावुक बनिन् ।

‘हामीले त सोचेकै थिएनौं यस्तो होला भनेर, आफन्तहरु आउनुहुन्छ होला अनि विभागबाट अलिअलि आउनुहुन्छ होला भन्ने सोचेको, बाजागाजासहित यस्तो सम्मान पाउँदा निकै खुसी छौं’, उनले भने ।

नेपाली महिला भलिबलको लागि यो उपाधि निकै महत्वपूर्ण रहेको कमलाले बताइन् । ‘हामी विभागबाट गएको भए पनि देशको नाम जोडिएको थियो । माल्दिभ्समा पनि समर्थकहरुबाट एकदमै धेरै माया पायौं । हामीले खेलिरहँदा नेपाल–नेपाल भनेर हुटिङ गर्नु हुन्थ्यो’, कमलाले भनिन् ।

नेपालको प्रतिनिधित्व गर्दै काभा वुमन्स क्लब लिग च्याम्पियनसिप खेलेको पुलिस क्लबले पहिलो सहभागितामा नै उपाधि जित्न सफल भएको हो । यो उपाधिले नेपाली भलिबलको उचाइ बढेको पुष्टि हुने भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले बताए ।

‘पहिलो पटक काभा महिला भलिबल क्लब लिग च्याम्पियनसिपमा च्याम्पियन बनेर आयो । पहिलो सहभागितामा नै नेपालले उपाधि ल्याउनु भनेको नेपाली भलिबल निकै बलियो दिशातिर अघि बढिरहेको संकेत हो’, उनले भने ।

घरेलु भलिबल प्रतियोगिता एनभीए च्याम्पियनको हैसियतमा नेपालले काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिप खेल्न पाएको थियो । ‘पहिलो पटक जिम्मेवारी र अवसर पाएका थियौं । म आफ्नो लागि पनि मेरो संगठनले निकै ठूलो जिम्मेवारी दिएको थियो । त्यो पूरा गर्न पाउँदा म निकै खुसी छु ।’

प्रतियोगितामा नेपाली महिला भलिबल टिमकी सदस्य उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट आउट साइड हिटर चुनिइन् । ‘हामीले उपाधि जितेर आफूलाई प्रमाणित गयौं । यो उपाधिले मलाई थप जिम्मेवार बनाएको छ’, उषाले भनिन् ।

नेपाल भलिबल संघले यसअघिको क्लब च्याम्पियनसिप खेल्न नेपाली टिम पठाउन सकेको थिएन । आठौं संस्करणमा नेपाल पुलिस क्लब क्लब च्याम्पियनसिप खेल्न गएको थियो ।

‘हाम्रो खेलाडीलाई पहिलो पटक प्रतिस्पर्धामा पठाउँदा नै उपाधि लिएर आए । यसले गर्दा नेपालको भलिबल नै माथि उठेको छ’, खेलाडीको स्वागतमा विमानस्थल पुगेका नेपाली महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदिश भट्टले भने ।

उज्वेकिस्तान, ताजकिस्तान जस्ता बलिया देश सहभागी प्रतियोगितामा उपाधि जित्नुले नेपाली भलिबलको स्तर बढेको पुष्टि हुने उनको भनाइ छ ।

खेलकुदलाई माथि लाने हो भने व्यवसायिक क्लबहरु नै बलियो भएर आउनुपर्ने उनको भनाइ छ । ‘खेलकुदको विकास नै क्लबको अवधारणाबाट माथि आएको पाइन्छ । क्लबहरु थप व्यवसायिक भएको खण्डमा नेपालको भलिबल पनि माथि जान सक्छ’, भट्टले भने ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

नेपाल पुलिस क्लब भलिबल
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय