+
+

डेंगुका बिरामीले भरिन थाल्यो टेकु अस्पताल

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ असोज ७ गते १९:०८

७ असोज, काठमाडौं । पछिल्लो एक हप्तादेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा डेंगुका बिरामीको चाप बढ्दो छ ।

आइतबार मात्रै आकस्मिक कक्षमा १७ जना डेंगुका बिरामी भर्ना भए । ‘हिजो बेलुका आकस्मिक कक्षको सबै बेड भरियो । प्यासेजमा राखेर उपचार गनुपर्‍यो’, आकस्मिक कक्षका इन्चार्ज भालेश्वर यादवले अनलाइनखबरसँग भने ।

पछिल्लो १० दिनयता डेंगु संक्रमितको संख्या ह्वातै बढेको छ । टेकु अस्पतालको तथ्यांक अनुसार असोज १ गते– ११, २ गते –३ , ३ गते –२३, ४ गते –२८, ५ गते – १९ र ६ गते १७ जना आकस्मिक कक्षमा भर्ना भए । जबकी साउन ११ र भदौ महिनाभर ५३ जना मात्रै डेंगुका संक्रमित भर्ना भएका थिए ।

अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार पछिल्लो हप्ता डेंगु संक्रमित भर्ना हुने दर ह्वातै बढेको छ । ‘आइतबार मात्रै २० जनाभन्दा बढीलाई डिस्चार्ज गयौं । त्यसको साथ–साथ भर्ना हुने दर र प्रयोगशालामा परीक्षण गर्न आउने संख्या बढ्दो छ,’ डा. चालिसेले भने ।

उनका अनुसार आकस्मिक कक्षमा आएका अधिकांश मानिस जटिल अवस्थामा मात्रै आइपुगेका छन् । उनीहरुमध्ये कतिपयलाई आईसीयूमा राखेर उपचार गर्नुपरेको छ ।

विगतका वर्षमा डेंगु संक्रमितहरु धेरै गाह्रो नहुँदै अस्पताल आउने गर्थे । तर यसवर्ष भने निकै गाह्रो र जटिल बनिसकेपछि मात्रै बिरामी आउने गरेको चिकित्सक बताउँछन् । ‘विगतको वर्षमा जस्तो डेंगु भएर केही गाह्रो हुँदा बिरामी आत्तिएर अस्पताल आउर्थे । तर अहिले सकेसम्म अस्पताल जान नपरोस भनेर घरमै आराम गरिरहेको देखिन्छ’,  डा. चालिसेले भने, ‘डेंगुको जटिलता र खतराको चिन्ह देखिएका बिरामी मात्रै अस्पताल आइरहेका छन् ।’

किन ह्वातै बढ्यो संक्रमण ?

डेंगुको संक्रमण देशभर फैलिएको छ । अस्पताल पुगेका बिरामीको संख्या मात्र हेर्दा गत पुसदेखि हालसम्म ११ हजार ५४५ जनामा डेंगु भएको छ भने ६ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी गण्डकी प्रदेशमा ५ हजार ४८२ जना संक्रमित भएका छन् । कास्की, तनहुँमा संक्रमण फैलिरहेको छ । त्यस्तै बागमती प्रदेशमा भने ३ हजार १७८ जनामा संक्रमण भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी‌) का अनुसार उच्च जोखिममा कास्की, तनहुँ, काठमाडौं, पर्वत, चितवन, गोरखा, ललितपुर जिल्ला छन् । पछिल्लो हप्ता पानी पर्न रोकिएसँगै डेंगुका लार्भा सक्रिय हुन थालेका छन् । जसका कारण डेंगु संक्रमण बढ्दो छ ।

‘मनसुन सक्रिय हुँदा डेंगुका लार्भा जमेर बसेको ठाँउबाट बगाएर जाँदा लामखुट्टेको वृद्धि विकास कम भएको थियो’, डा. चालिसेले भने, ‘अहिले लार्भाले वयस्क हुन पाउँदा डेंगुको सक्रियता बढ्दै गएको छ ।’

दोहोरो संक्रमण, जटिलता बढ्दो

टेकु अस्पतालमा भर्ना कतिपय बिरामीलाई भने दोहोरो संक्रमण भएका कारणले जटिलता देखिएको छ । डा. चालिसेका अनुसार दोहोरो संक्रणण भएका बिरामीलाई आईसीयूमा समेत राखेर उपचार गर्नुपरेको छ ।

डेंगुका १, २, ३ र ४ गरी चार प्रकारका सेरोटाइप हुन्छन । सबै सेरोटाइप नेपालमा देखिसकेका छन् ।

पहिलो पटकभन्दा फरक प्रकार (सेरोटाइप) को डेंगु संक्रमण भए स्वास्थ्यमा जटिलता निम्तने जोखिम बढी हुने उपचारमा चिकित्सक बताउँछन् ।

फरक सेरोटाइपको संक्रमण भएमा जटिलता बढी हुने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

पहिलो पटक डेंगुको जुन सेरोटाइपले संक्रमण गरेको छ, अर्को पटक पुनः त्यही सेरोटाइपले संक्रमण गरेमा स्वास्थ्य जटिलता न्यून हुन्छ । तर दोस्रो पटक फरक खालको सेरोटाइपले संक्रमण गर्दा जटिलता बढी हुन्छ ।

डा. पुनका अनुसार अहिले अस्पताल आएका अधिंकाश डेंगु संक्रमितले अत्याधिक पीडा महसुस गर्ने गरेका छन् ।

‘डेंगु अप्रत्यासित रूपमा बढिरहेको छ । अत्याधिक पीडा लिएर गम्भीर प्रकृतिका बिरामी अस्पताल आइरहेका छन्,’ डा. पुनले भने, ‘डेंगुका बिरामी जति बढ्छन्, मृत्यु हुने सम्भावना उति नै बढ्दै जान्छ ।’

उपचारमा संलग्न चिकित्सकका अनुसार अत्याधिक उल्टी हुने, फोक्सो, पेटमा पानी जमेका, गिजा, पिसाबबाट रक्तस्राव भएर बिरामी अस्पतालमा भर्ना भइरहेका छन् ।

‘चार प्रकारका सेरोटाइपमध्ये पहिले जुन प्रकारले संक्रमण गर्‍यो, पुनः त्यही सेरोटाइपले संक्रमण गर्दा जटिलता हुने सम्भावना न्यून हुन्छ । तर फरक सेरोटाइपले संक्रमण गर्दा भने जटिलता हुनसक्छ,’ डा. पुनले भने, ‘अघिल्ला वर्षभन्दा यसवर्ष धेरै बिरामी पीडादायी भएको पाइएको छ ।’

अझै तीन हप्ता डेंगु संक्रमण तीव्र रूपमा फैलिने हुँदा सतर्कता अपनाउनुपर्ने महाशाखाका किटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् । ‘विगतका वर्षमा पनि उच्च डेंगु संक्रमण फैलिने भनेकै भदौ र असोज महिना हो, त्यसैले अझै तीन हप्ता जोखिमै छ’, डा. दाहालले भने ।

तर यसवर्ष कुनै पनि क्षेत्रमा ‘हटस्पट’ रुपमा डेंगु नफैलिएको कारणले संक्रमणदर त्यति उच्च नहुने डा. दाहालको अनुमान छ ।

चिकित्सकका अनुसार डेंगु संक्रमण भएका अधिकांश बिरामीलाई घरमै बसेर आराम गरेमा सञ्चो हुन्छ । तर जटिल लक्षण देखिए तुरून्तै अस्पताल जानुपर्छ र संक्रमितलाई भर्ना गरेर उपचार गर्न जरूरी हुन्छ ।

डेंगु संक्रमित बिरामीलाई २ देखि ७ दिनसम्म ज्वरो आउने गर्छ । ज्वरो घटेर गएका बेला २४ देखि ४८ घण्टासम्मको समयमा क्रिटिकल फेज हुन्छ । ‘यस्तो बेलामा कतिपय व्यक्तिको शरीरबाट रक्तस्राव हुने र केहीमा रक्तचाप घटेर सकमा जान सक्ने सम्भावना हुन्छ’,  डा. चालिसे भन्छन् ।

संक्रमित व्यक्तिलाई श्वासप्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगेजस्तो हुने, कालो दिसा आउने, थकान महसुस हुने, उल्टी हुँदा रगत देखिने, बिरामी बेहोस हुने, नाकबाट रगत आउने लगायत लक्षण देखिएमा डेंगु संक्रमण जटिल भयो भनेर बुझुपर्ने चिकित्सक बताउँछन् ।

व्यवहार परिवर्तन गरौं

डेंगु लामखुट्टेबाट सर्ने रोग हो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल मानिन्छ ।

कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।

एक्कासी उच्च ज्वरो आउनु डेंगु मुख्य लक्षण हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरूप बिरामी व्यक्ति सिकिस्त हुने गर्छन् ।

जनस्वास्थ्यविद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण हुन् ।

डेंगु लामखुट्टेको वृद्धि, विकास सबभन्दा बढी फालिएका टायरमा तथा फलाम र प्लास्टिकका ड्रमहरू हुन् । डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्दछ ।

ट्यांकी, ड्रम, बाटा, बाल्टिन जस्ता पानी राख्ने भाँडाहरू पनि लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । पानी जम्नसक्ने ठाउँमा नियमित सफा गर्नुपर्छ । साथै समुदायस्तरमै लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पार्नुपर्छ । बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाएर निस्कने, घरका झ्याल, ढोकामा जाली हाल्ने, दिउँसो सुत्दा झुल हाल्नेजस्ता पक्षलाई व्यवहारमा उतार्नुपर्छ ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?