+

बद्रीलाल नेपाली बने राष्ट्रिय भेट्रान चेस च्याम्पियन

२०८१ असोज  ७ गते १९:५२ २०८१ असोज ७ गते १९:५२
बद्रीलाल नेपाली बने राष्ट्रिय भेट्रान चेस च्याम्पियन

७ असोज, धादिङ। बद्रिलाल नेपालीले धादिङमा सम्पन्न छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । उपाधिसँगै उनले ४० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजना तथा धादिङको थांक्रे गाउँपालिकाले प्रायोजन गरेको प्रतियोगितामा तिन पटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले ७ चरणको खेलबाट ६ अंक जोडेर भेट्रान च्याम्पियन बनेका हुन् । बद्रीले २१२४ रेटिङ परफर्म गर्दै व्यक्तिगत २८ रेटिङ समेत वृद्धि गर्न सफल भएका छन् ।

१९३७ रेटेड बद्रीलालले आफ्ना पाँच जना प्रतिद्वन्द्वी विरुद्ध जित हासिल गरेका थिए भने पूर्व नेपाल च्याम्पियन द्वय सिएम नवीन तण्डुकार, एफएम बिलमलाल श्रेष्ठसँग बराबरी खेलेका थिए ।

होटल महादेववेसि धादिङमा सम्पन्न प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारले ५.५ अंक जोडेर दवस्रो भए । १८६६ रेटेड सिएम नविनले पाँच खेलमा जित र एक बराबर खेलेका थिए । काठमाडौंका नविनले नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

लामो समय पछि चेस खेलमा पुनरागमन गरेका पूर्व नेपाल च्याम्पियन एफएम बिलमलाल श्रेष्ठ तेश्रो स्थानमा रहे । ललितपुरका १९८७ रेटेड एफएम बिलमलाल श्रेष्ठले डाइरेक्ट इन्काउन्टर, बुचोल्ज टाइब्रेक गेमप्वाइण्ट कट वान र कट टु, मोष्ट वीन ब्लाकका आधारमा ५ अंक जोडेर तेश्रो भएका हुन् । उनले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

भेट्रान राष्ट्रिय प्रतियोगितामा समान ५ अंक बनाएर पनि भक्तपुरका जगन्नाथ ताम्राकार चौथो र ताप्लेजुङका हर्क बहादुर चोङ्वाङ पाँचौ स्थानमा रहे । १८१२ रेटेड जगन्नाथले नगद १० हजार नगद प्राप्त गरेका छन् भने १७२० रेटेड हर्क बहादुरले नगद ८ हजार हात पारेका छन् ।

यस्तै काठमाडौंका १८४३ रेटेड सिएम भगवती प्रसाद शर्माले ४.५ अंक बजाएर छैटौं स्थानमा रहे । शर्माले नगद ५ हजार प्राप्त गरेका छन् भने भक्तपुरका १८४५ रेटेड गणेशमान दुवाल सातौं स्थानमा रहदै नगद ५ हजार हात पार्न सफल भए ।

नेपाल बुद्धिचाल महासंघले २०६६ साल देखि राष्ट्रिय भेट्रान च्याम्पियनसिप आयोजना गर्न थालेको थियो ।

पहिलो संस्करणमा ललितपुरका जगत बहादुर शाक्य, २०६८ सालमा भएको दोस्रो संस्करणमा ललितपुरका रविन्द्र शाक्य, २०७० सालमा भएको तेश्रो संस्करणमा काठमाडौंका जनार्दन श्रेष्ठ, २०७४ सालमा भएको चौथो संस्करणमा ललितपुरका रविन्द्र शाक्य र २०७९ सालमा भएको पाँचौ संस्करणमा काठमाडौंका बद्रीलाल नेपाली विजयी बनेका थिए ।

धादिङ जिल्ला बुद्धिचाल संघले यसै अवसरमा ७ चरणको खेल खेलाउदै जिल्ला च्याम्पियन प्रतियोगिता सम्पन्न गरेका छन् । प्रतियोगितामा निराजु लामा ६ अंक सहित पहिलो, मनिष कोइराला ५.५ अंक जोडेर दोस्रो तथा रमेश हमाल ५ अंक जोडेर तेस्रो भए । जिल्ला विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुनेले ५ हजार नगद प्राप्त गरेका छन् ।

विजेता खेलाडीहरुलाई धादिङ जिल्ला थांक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार कार्की र धादिङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष बिकास कार्कीले पुरस्कार वितरण गरेका थिए । आयोजकले खेलाडीहरुको लागि बसोबास र यातायातको व्यवस्था गरेको जानकारी दिए ।

 

बद्रीलाल नेपाली राष्ट्रिय भेट्रान चेस च्याम्पियन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय