+
+

सकियो ‘एसिक’ सम्मेलन, नवप्रवर्तन र हरित वित्तमा जोड

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १९:४९

७ असोज, काठमाडौं । नवप्रवर्तन र हरित वित्तमा जोड दिँदै एसियाली क्रेडिट सपोर्ट एन्ड इनोभेसन कन्फरेन्स (एसिक) को ३६औं सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।

नवप्रवर्तन, हरित वित्तमार्फत साना तथा मझौला उद्यम प्रवर्द्धन गर्दै दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धता सहित सम्मेलन सोमबार सकिएको हो ।

सम्मेलनको १०औं तथा अन्तिम सत्रका सहभागीले ‘इनोभेटिभ सोलुसन्स : फाइनान्सिङ फर नेचर’ विषयमा छलफलमा गरे । छलफलमा कृषि विकास बैंकका नायब महाप्रबन्धक बाबुकाजी थापाले हरित वित्त र पर्यावरण संरक्षण आर्थिक लाभको नयाँ एकीकृत वित्तीय ढाँचा भएको बताए ।

नेपालका बैंक तथा वित्तीय संस्थाले कृषि र वनमा आधारित उद्यममा केन्द्रित रही हरित वित्तलाई बढावा दिने उपायमा काम गर्नुपर्ने उनको भनाइ थियो ।

अक्सिजनका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले नेपालमा साना तथा मझौला उद्योगको वृद्धिले नेपाली जनताको जीविकोपार्जनमा परिवर्तन ल्याएको र राष्ट्रिय अर्थतन्त्रको बलियो खम्बा बनेको उल्लेख गरे । उनले ‘ब्लेन्डेड फाइनान्स टुल्स’ लागु गरेर लगानीमा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

अन्य क्षेत्रमा लगानी गर्नुभन्दा यस्ता क्षेत्रमा फाइनान्सिङमा जोखिम मोल्न लगानीकर्ता बढी तयार हुने भएकाले ब्लेन्डेड फाइनान्स आवश्यक रहेको पाण्डेको तर्क थियो । उनले नेपालमा ‘भायबिलिटी ग्याप फन्डिङ’ (भीजीएफ) को प्रावधान उचित रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

विश्व बैंकका निजी क्षेत्रका प्रमुख विशेषज्ञ नताशा कपिलले साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् । उर्जा किफायती प्रविधि अपनाउनुपर्नेमा उनको जोड थियो ।

‘साना तथा मझौला उद्योगहरूले राष्ट्रिय इकोसिस्टममा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्,’ उनले भनिन्, ’आधुनिक प्रविधि प्रयोगले उनीहरूको उत्पादकत्व बढाउन सक्छ ।’

शुक्रबारदेखि राजधानीमा सुरु भएको एसिक सम्मेलनमा १६ देशका कर्जा तथा निक्षेप सुरक्षण संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

आर्थिक विकासका लागि नवप्रवर्तन भन्ने नारासाथ सुरु गरिएको सम्मेलनमा विभिन्न १० विषयमा छलफल भएको थियो । नेपालले ३० वर्षपछि यो सम्मेलन आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?