+
+

एक महिनाभित्र नयाँ प्रणालीबाट सिंहदरबारमा ई-पास

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते ११:२१

८ असोज, काठमाडौं । सरकारले सिंहदरबार प्रवेश गर्दा जारी हुने क्यूआरसहितको अनलाइन पाससमेत झन्झटिलो भएपछि नयाँ प्रविधिको ई-पास जारी गर्न तयारी थालेको छ ।

सोमबार मुख्यसचिव एक नारायण अर्यालको अध्यक्षतामा भएको सचिव बैठकले गृह मन्त्रालयले सहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा एक महिनाभित्र सिंहदरबार प्रवेश गर्नेका लागि ई-पास दिने प्रणाली कार्यन्वयनमा ल्याउने निर्णय गरेको छ ।

स्रोतका अनुसार अहिलेको अनलाइन प्रणालीबाट पनि सिंदरबार छिर्न लामो प्रक्रिया पूरा गर्नुपर्ने भएपछि यस्तो निर्णय भएको हो ।

६ असारमा बसेको सचिवस्तरको बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पासहरू खारेज गरेर ई-गेटपास प्रणाली प्रयोगमा ल्याउने गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको थियो ।

ई–गेटपास प्रणाली अनलाइनबाट सिंहदरबार छिर्ने गेट पास लिने प्रणाली हो । यसअनुसार अहिले फोन गरेर पनि माग्न सकिने सिंहदरबारको पास साउनदेखि अनलाइनबाटै लिन सकिने भएको छ ।

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा सर्वसाधारणहरू प्रवेश गर्न सम्बन्धित निकायले गेट पासको अनुमति दिनुपर्ने अवस्था छ । अहिले गृह मन्त्रालयले क्यूआर कोडसहितको गेट पासको व्यवस्था गरेको छ ।

‘सिंहदरबार पास’ वेबसाइटमा गएर अकाउन्ट बनाउने र युजर आईडी र पासवर्ड राखेर पासका लागि अनलाइनबाट अनुरोध गर्ने प्रणाली बनाइएको छ ।

अहिले गेट पास पाउन आधारभूत विवरण भर्नुपर्ने हुन्छ । आफू जाने निकायको नाम, मिति, समय लगायतकाको विवरण भरेर ‘सबमिट’ गरेपछि एक दिन, तीन महिना वा अस्थायी ई-गेटपासका अनुरोध गर्न सकिने व्यवस्था छ । ड्यासबोर्डमा आफूले अनुरोध गरेको पासको अवस्थाबारे जानकारी पाउन सकिन्छ ।

सम्बन्धित मन्त्रालयले पास स्वीकृत गरेपछि क्यूआर कोड पाइन्छ । सोही क्यूआर कोड सिंहदरबार गेटमा प्रवेश गर्दा देखाउनुपर्ने व्यवस्था छ । अब योभन्दा सरल व्यवस्था गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?