+
+

विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते ११:५८

८ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन् । असंलग्न राष्ट्रहरुको संगठन, नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा. राणाले जोशीको रिहाइका लागि विश्व समुदायसँग पहलका लागि आग्रह गरेकी हुन् ।

उनले नेपाल विपीन जोशीको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गरेकी हुन् । गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतंककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए । उक्त हिंसात्मक आक्रमणमा परी अरु पनि कैयौं मानिस मारिएका थिए ।

सो बैठकमा मन्त्री डा राणाले नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको बताइन् । सम्बोधनका क्रममा मन्त्री डा राणाले विश्वमा हाल शान्ति स्थापनाको लागि सामूहिक पहलको खाँचो रहेको पनि औंल्याइन् ।

विभिन्न नाम र बहानामा विश्वका कैयौँ ठाउँमा अहिले पनि युद्ध, विद्रोह तथा हिंसाजन्य कार्यहरु भइरहेकाले हत्या हिंसाको अन्त्य र शान्तिको स्थापनाका लागि विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

‘मलाई लाग्छ दोस्रो विश्वयुद्धपछि अहिले विश्वका धेरै स्थानमा द्वन्द्व बढेको छ । त्यसैले इतिहासकै अत्यन्त जटिल मोडमा हामी उभिएका छौँ र सशस्त्र द्वन्द्वबाट नागरिकहरुको रक्षाको लागि उच्च प्राथमिकताका साथ काम गर्नु परिरहेको छ,’ उनले भनिन् ।

मन्त्री डा राणाले अहिले पनि विश्वका देशहरु निरन्तर रुपमा जारी रहेका यस्ता द्वन्द्व रोक्न, युद्धबाट सृजित समस्याहरुको समाधान खोज्न र नागरिकमा शान्ति र अमनचयन कायम गर्न चुकेको अवस्था देखिएको पनि बताइन् ।

‘हामीहरु जेनेभा कन्भेन्सनको ७५ औँ वर्षमा छौँ तर पनि नागरिकहरुको रक्षाका लागि सो कन्भेन्सनले आत्मसात गरेका सिद्धान्तहरुलाई नदेखेझैँ गरी बेवास्ता गरिरहेका छौँ या कतै गलत व्याख्याका प्रयास पनि गरिरहेका छौँ । यस्तो अवस्थाको छिट्टै अन्त्य हुनुपर्छ र हामीहरु सबै शान्तिपूर्ण सहअस्तित्वका साथ अघि बढ्नुपर्छ,’ उनले सम्बोधनमा भनिन् ।

परराष्ट्रमन्त्री डा राणाले गाजामा नागरिकहरुको मृत्यु र यसको संख्या सुन्दा र देख्दा बडो हृदयविदारक रहेको तथा रुस युक्रेन युद्धमा नागरिकहरुले पाइरहेको दुःख पनि त्यस्तै रहेको भन्दै यस्ता हिंसाजन्य कार्यहरु तत्कालै रोकी समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गरिन् । यस्ता कार्यले कसैलाई पनि न्याय गर्न नसकेकोतर्फ सबै सचेत हुनुपर्ने उनको भनाइ थियो ।

‘नेपाल गाजामा नागरिक, पत्रकार, राष्ट्रसंघीय कर्मचारी, स्वास्थ्यकर्मी तथा सबै सर्वसाधारण नागरिकको हत्या, पूर्वाधारहरुमाथिको आक्रमणको निन्दा गर्दछ,’ उनले भनिन्, ‘त्यहाँ अस्पताल, निजी घरहरु, विद्यालय आदिको क्षतिले मानिसहरुलाई डर र त्रासमा बस्न बाध्य पारिएकाले यस्ता कार्य तत्कालै रोक्नुपर्छ ।’

मन्त्री राणाले इजरायल र प्यालेष्टिन, रुस युक्रेन होस् या अन्य यस्ता प्रकारका द्वन्द्वहरुको समाधान रचनात्मक तरिकाबाट खोज्न र हिंसा अन्त्यका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध पनि गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?