+

कसरी आउँछ ज्वरो, पानीपट्टी कस्तो अवस्थामा लगाउने ?

२०८१ असोज  ८ गते १६:१५ २०८१ असोज ८ गते १६:१५
कसरी आउँछ ज्वरो, पानीपट्टी कस्तो अवस्थामा लगाउने ?

सामान्यतया शरीरमा भाइरस वा ब्याक्टेरिया प्रवेश गर्दा शरीरले प्रतिक्रिया दिन्छ र शरीर तातो हुन्छ । त्यसलाई ज्वरो भनिन्छ । सामान्य ज्वरोबाट डराउनु पर्दैन, किनकि ज्वरो आउनु भनेको यसले रोगप्रतिरोधात्मक क्षमताले काम गरिरहेको र सक्रिय रहेको देखाएको बुझिन्छ । जसले बाह्य सङ्क्रमणसँग जुध्न शरीर तयार छ भन्ने देखाउँछ ।

१०० डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आएमा पारासिटामोल आवश्यक हुन्छ । यदि बच्चामा ज्वरो आएको छ र बच्चा सुस्त छ, खाना खाइरहेको छैन, लगातार पखाला लागेको छ भने चिकित्सकको सल्लाह लिनुपर्छ । साथै, यदि कसैलाई केही स्वास्थ्य समस्या छ भने उसलाई ज्वरो आउँदा पनि गम्भीरतापूर्वक लिनुपर्छ ।

कसरी आउँछ ज्वरो ?

ज्वरोको अवस्था तब हुन्छ, जब शरीरमा रहेका एन्टिबडीहरू बाहिरबाट आउने एन्टिजेन अर्थात् भाइरस, ब्याक्टेरिया वा अन्य संक्रमणसँग लड्न असफल हुन्छन् । शरीरका लागि त्यस्ता एन्टिजेनको संख्यालाई नियन्त्रण गर्ने एक मात्र तरिका शरीरको तापक्रम बढाउनु हो । जब शरीरको तापक्रम बढ्छ, हाम्रो शरीरमा हुने हर्मोन र इन्जाइमको गतिविधि सुस्त हुन थाल्छ र हामी सुस्त हुन थाल्छौं ।  यस्तो अवस्थामा ज्वरो १०२ डिग्री फरेनहाइट भन्दा माथि जाँदा सबैभन्दा पहिले बिरामीको शरीरको तापक्रम घटाउनु जरुरी हुन्छ ।

ज्वरो रोग हैन लक्षण हो

ज्वरो कुनै रोग होइन, तर यो रोगको लक्षण हो । ज्वरो आउनुको केही कारण हुन्छ, कुनै कारण विना ज्वरो आउँदैन । जति ठूलो कारण अर्थात् रोग जति ठूलो हुन्छ, ज्वरो त्यति नै जिद्दी हुन्छ । मानौं कसैलाई सामान्य फ्लु छ भने यसको प्रभाव सामान्यतया तीनदेखि पाँच दिनसम्म रहन्छ, त्यसपछि यो कम हुन थाल्छ । यदि कसैको रोगप्रतिरोधात्मक क्षमता धेरै कमजोर छ भने ज्वरो लामो समयसम्म रहन्छ ।

फ्लु ज्वरोका लक्षण र उपचार

बदलिंदो मौसम र वर्षाका कारण लामखुट्टेले बढ्ने अवसर पाएको छ । फलस्वरूप औलो र डेंगुसँगै टाइफाइड जस्ता समस्या पनि देखा परिरहेका छन् । त्यसैले अहिले धेरै वयस्क र बच्चालाई ज्वरोले सताएको छ । रुघाखोकीसँगै कम वा बढी ज्वरो आउन सक्छ । ज्वरो आएपछि केही दिनमै निको हुन्छ तर यसको प्रभाव दुईदेखि तीन हप्तासम्म वा कहिलेकाहीं चार हप्तासम्म रहन्छ । ज्वरोका कारण चरम कमजोरी हुन्छ । त्यसैले खानपानमा उचित ध्यान दिनुका साथै अन्य कुरामा पनि ध्यान दिनुपर्छ । डाक्टरहरूले सामान्यतया फ्लुका लागि परीक्षण गर्ने सल्लाह दिंदैनन् । धेरै अवस्थामा लक्षणको आधारमा उपचार गरिन्छ ।

ज्वरो आउँदा कतिपयको स्वाद र गन्ध पनि प्रभावित हुन्छ । हाच्छ्युँ आउँछ र टाउको दुखाइ हुनसक्छ । रुघाखोकी लाग्छ र यो तीन हप्तासम्म रहन सक्छ । ज्वरोसँगै चिसो पनि लाग्न सक्छ । नाक बन्द हुने उच्च जोखिम हुन्छ । उच्च ज्वरो आउँदा थकान महसुस हुन्छ । कतिपयलाई हल्का ज्वरोसँगै टाउको दुख्ने समस्या पनि हुन सक्छ । कतिपयलाई पखाला पनि लाग्न सक्छ ।

ज्वरो आउँदा के गर्ने ?

यदि ज्वरो १०० डिग्री भन्दा माथि छ भने चिकित्सकलाई सोधेर पारासिटामोलको एउटा ट्याब्लेट (क्रोसिन वा क्याल्पोल – ६५० एमजी वयस्कका लागि) प्रत्येक ६ देखि ८ घण्टामा लिन सकिन्छ ।

हरेक दिन २ देखि २.५ लिटर पानी पिउनुपर्छ । शरीरमा पानीको कमी हुनु हुँदैन । एक गिलास पानीमा एक चौथाइ कागती र एक चुट्की नुन वा एक चम्चा जीवनजल मिसाएर पिउन पनि सकिन्छ ।

चाँडै पच्ने खाना खानुपर्छ । जस्तै- खिचडी, भात र मुङ्गको दालको झोल आदि ।

बाहिरको प्याकेट बन्द खाना खानु हुँदैन र जङ्क फुड पनि खानु हुँदैन ।

यदि मधुमेह वा मिर्गौलाको समस्या छैन भने दिनमा तीनवटा नरिवल पानी पिउन सकिन्छ । यसले ऊर्जा दिनुका साथै पानीको अभाव पनि हुँदैन ।

ज्वरो आएको बेला पर्याप्त आराम पनि गर्नुपर्छ । समयमा सुत्ने र उठ्ने समय तय गर्नुपर्छ ।

फ्लुको खोप लगाउने

फ्लु शब्द इन्फ्लुएन्जाबाट आएको हो । कोरोना होस्, फ्लु होस् वा स्वाइन फ्लु सबै इन्फ्लुएन्जा परिवारका भाइरस हुन् । यस परिवारका भाइरसहरूसँग उत्परिवर्तनका लागि ठूलो क्षमता हुन्छ (उनीहरूको प्रोटिन र आनुवंशिक चेनहरूमा अचानक परिवर्तनहरू) । फ्लु भाइरसले पनि उत्परिवर्तनद्वारा प्रत्येक वर्ष आफ्नो रूप परिवर्तन गर्छ । तसर्थ, चिकित्सकहरूले फ्लुको खोप प्रत्येक वर्ष लगाउनुपर्ने सुझाव दिन्छन् ।

विशेष गरी ती व्यक्ति जसलाई मधुमेह, मिर्गौलाको वा क्यान्सरको समस्या छ । क्षयरोग, दम आदि जस्ता फोक्सोसँग सम्बन्धित समस्या भएका व्यक्तिले फ्लुको खोप लगाउनुपर्छ ।

खोपले केही प्रकारका सङ्क्रमणहरूबाट जोगाउँछ, सबैबाट होइन । प्रत्येक व्यक्तिलाई जीवनको कुनै न कुनै समयमा फ्लुको संक्रमण हुन्छ । त्यसैले शरीरले पनि यसको विरुद्धमा एन्टिबडी बनाउँछ । फ्लुमा पनि धेरै उत्परिवर्तनहरू हुन्छन् । जब व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता अन्य रोगका कारण कमजोर हुन्छ, तब फ्लु उसको लागि खतरनाक हुनसक्छ ।

बच्चालाई ज्वरो आए के गर्ने ?

बालबालिकाको ज्वरो र वयस्कको ज्वरोमा खासै फरक छैन । फरक यति मात्रै हो कि बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता वयस्कको जस्तो विकसित हुँदैन । त्यसैले उनीहरूमा संक्रमण बढी हुन्छ र ज्वरो आउने गर्छ । बालबालिकाले आफ्ना समस्या सही र पूर्ण रूपमा बुझाउन नसक्ने भएकाले ज्वरो आएमा अभिभावकको भूमिका महत्त्वपूर्ण हुन्छ । ज्वरो आएमा आमाबाबुले केही कुरामा विशेष ध्यान दिनुपर्छ किनभने चिकित्सकले यी प्रश्नहरू अभिभावकलाई सोध्छन् ।

– बालबालिकाको आहारमा कत्ति असर परेको छ ?

– के बच्चाले  खाना कम गरेको छ ?

– उसलाई के खान मन लाग्छ ?

– के खाना खाएपछि पेट दुख्ने, ग्यासको समस्या हुन्छ ?

– बच्चालाई कति पटक दिसा हुन्छ, त्यसको रङ कस्तो छ ?

– बच्चा कति समय सुत्छन् ?

– के बच्चाको शरीरमा कुनै दाग देखा परेको छ ?

– रुघाखोकीको अवस्था कस्तो छ ?

– खोकीमा खकार देखिन्छ र यसको रङ कस्तो हुन्छ ?

अभिभावकले यी प्रश्नको उत्तर खोज्नुपर्छ । यीमध्ये कुनै समस्या छ भने चिकित्सकलाई भन्नुपर्छ । बालबालिकालाई ज्वरो आएमा पारासिटामोल सिरप दिन सकिन्छ तर यसका लागि पनि चिकित्सकको सल्लाह लिनुपर्छ ।

डेंगुको ज्वरो

डेंगु पोथी जातको एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । एडिस लामखुट्टे शरीरमा चितुवा जस्तो धार हुने भएकाले धेरै माथि उड्न सक्दैन । यो लामखुट्टेले सामान्यतया दिउँसो र बिहान टोक्ने गर्छ । डेंगुको ज्वरो ५ देखि १० दिनसम्म आउने गर्छ । डेंगु ज्वरो तीन प्रकारको हुन्छ शास्त्रीय (सरल) डेंगु ज्वरो, डेंगु हेमोरेजिक ज्वरो (डीएफएच) र  डेंगु शक सिन्ड्रोम (डीएसएस) ।

लक्षण : एक्कासि उच्च ज्वरो आउने, कडा टाउको दुख्ने, आँखा पछाडि दुख्ने, कमजोरी हुने, बान्ता हुने, पेट दुख्ने, चक्कर लाग्ने हुन्छ ।

डेंगु हेमोरेजिक ज्वरोमा यी लक्षणसँगै नाक र गिजाबाट रगत बग्नु, दिसा लाग्ने वा बान्ता हुनु, छालामा गाढा निलो-कालो दाग देखापर्ने हुनसक्छ । रक्तचाप पूर्ण रूपमा कम हुने र उच्च ज्वरो भए पनि छालामा चिसो महसुस हुन्छ ।

परीक्षण : एन्टिजेन रगत परीक्षण (एनएसवान) र डेंगु सेरोलोजी परीक्षण गरिन्छ । एनएसवान पहिलो दिनमा नै सकारात्मक हुन्छ तर बिस्तारै कम हुन थाल्छ । त्यसैले ज्वरो आएको ४-५ दिनपछि एन्टिबडी परीक्षण (डेंगु सेरोलोजी) गराउनु राम्रो हुन्छ ।

उपचार : डेंगु ज्वरोको सरल उपचार घरमै गर्न सकिन्छ । बिरामीलाई पूर्ण आराम गर्न दिनुपर्छ । यस्तो अवस्थामा आरामले औषधिको काम गर्छ ।

बिरामीलाई हरेक ६ घण्टामा पारासिटामोल खुवाउनुपर्छ । रगत गाढा नहोस् र जम्न नपरोस् भनेर प्रशस्त पानी र तरल पदार्थ (कागती पानी, छत, नरिवलको पानी आदि) बारम्बार पिउन दिनुपर्छ । जटिल डेंगु अर्थात् डीएसएच वा डीएसइसको लक्षण देखिएमा जतिसक्दो चाँडो चिकित्सककहाँ लैजानुपर्छ ।

ज्वरो आएमा रगत परीक्षण कहिले आवश्यक हुन्छ ?

सामान्य ज्वरो अर्थात् चिसो भएमा तीन दिनमा निको हुन्छ । तर दोस्रो, तेस्रो दिनमा चिकित्सकलाई भेटेर सल्लाह लिन सकिन्छ । यस्तोमा चिकित्सकले रगत परीक्षण गर्ने सल्लाह दिए परीक्षण गर्नुपर्छ । यदि ज्वरोसँगै अन्य लक्षणहरू पनि देखा पर्छन् भने रगत परीक्षण गराउनु राम्रो हुन्छ ।

ज्वरो आए पानीपट्ट कहिले र कसरी लगाउने ?

ज्वरो १०२ वा १०३ डिग्री फरेनहाइट भन्दा माथि पुगेमा चिसो पानीमा भिजाएर टाउकोमा पट्टी लगाउनुपर्छ । यदि बिरामीलाई ज्वरो कम गर्ने औषधि दिएमा त्यसले प्रभाव पार्न एक घण्टासम्म लाग्न सक्छ र तापक्रम बढेर शरीरमा हुने हर्मोनले पनि आफ्नो पूर्ण क्षमताले काम गर्न सक्दैन । यस्तोमा तापक्रम नियन्त्रण गर्न पानीपट्टीले सहयोग गर्छ ।

पानीपट्टी कसरी लगाउने ?

ज्वरो १०३ डिग्रीको हाराहारीमा छ र बिरामीलाई खासै समस्या छैन भने सादा पानीमा भिजाएर टाउकोमा पट्टी लगाउने । एक पटकमा दुईदेखि तीन मिनेटसम्म राख्ने, यसलाई फेरि भिजाउने र निधारमा फैलाउने । १० देखि १५ मिनेट यो प्रक्रियालाई दोहोर्‍याउने । ज्वरो १०३ भन्दा बढी भएमा अर्थात् १०४ पुगेको छ र यदि रोगीलाई चिसो महसुस भइरहेको छैन भने सामान्य वा चिसो पानीमा ठूलो तौलिया भिजाएर, हल्का निचोरेर ढाड, छाती र पैतालामा पनि राख्न सकिन्छ ।

ज्वरो नाप्न थर्मामिटर प्रयोग गर्ने तरिका

हरेक घरमा थर्मामिटर हुनुपर्छ । हिजोआज डिजिटल थर्मामिटरहरू उपलब्ध छन्, जसमा ज्वरोको अवस्था स्पष्ट रूपमा थाहा हुन्छ । यदि थर्मामिटर वयस्क वा १५ वर्षभन्दा माथिको बच्चामा राख्ने हो भने यसलाई जिब्रोमुनि राख्न सकिन्छ, बजेपछि बाहिर निकालेर हेर्ने ।

यो भन्दा सानो बच्चाको काखीमा राख्नुपर्छ । यदि घरमा फ्लुका बिरामी छन् भने पनि तापक्रम नाप्न काखीमा थर्मामिटर राख्नुपर्छ । तापक्रम जाँच गरिसकेपछि हरेक पटक स्यानिटाइजरले यसको अगाडिको भाग सफा गर्नुपर्छ ।

ज्वरो आउँदा नुहाउ हुन्छ कि हुँदैन ?

ज्वरो आएमा नुहाउन निषेध छैन, तर कसैलाई ज्वरो आएमा काँप्ने र चिसो लाग्ने भएकाले नुहाउन गाह्रो हुन्छ । ज्वरो कम हुँदा शरीरमा धेरै पसिना आउँछ । यस्तो अवस्थामा ज्वरो कम भएपछि वा पूर्णतया कम भएपछि मनतातो वा सामान्य पानीमा तौलिया भिजाएर त्यसले शरीरलाई राम्ररी पुछ्न सकिन्छ । यसपछि यसलाई सुक्खा तौलियाले पनि पुछ्न सकिन्छ । यसो नगर्दा शरीरमा चिलाउने र फंगल इन्फेक्सन हुने खतरा रहन्छ र त्यसपछि उपचार पनि आवश्यक हुनसक्छ ।

ज्वरो आउँदा कस्तो खाना खाने ?

एलोप्याथीका अनुसार ज्वरो आएमा सदा झैं खाना खान सकिन्छ । शरीरलाई थप ऊर्जा चाहिन्छ, त्यसैले खानामा कुनै कमी हुनुहुँदैन, नत्र कमजोरी बढ्छ । पानीको अभाव हुनुहुँदैन । सामान्य वा मनतातो पानी पिउनु राम्रो हुन्छ ।

दिनभरिमा सातदेखि आठ गिलास पानी पिउनुपर्छ । जहाँसम्म खानेकुराको कुरा छ जे खान मन लाग्छ त्यही खानुपर्छ । तर सजिलै पचाउन सकिने खाना खानुपर्छ कम तेल र मसलाको साथ । जस्तै- खिचडी, भात र मुङ वा दालको झोल आदि । खिचडी वा दाल बनाउँदा मौसमी तरकारी वा सागसब्जी राम्ररी धोएर मिसाउन सकिन्छ ।

ज्वरोसँगै रुघाखोकी लागेमा आइसक्रिम, फ्रिजको पानी आदि चिसो चीज खानु हुँदैन । साथै मौसमी फलफूल सुन्तला, अम्बा, मेवा आदि खानुपर्छ । चिकित्सकसँग पनि खाने-पिउने विषयमा राम्ररी बुझ्न सकिन्छ ।

ज्वरो पानीपट्टी संक्रामक रोग
डा. प्रमोदकुमार साह
लेखक
डा. प्रमोदकुमार साह
रेसिडेन्ट चिकित्सक

डा. साह रेसिडेन्ट चिकित्सक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय