+
+

भुपेन्द्र बडुवाल हत्याको फैसलामा ढिलाइ, ६ महिनादेखि पेशी सरेको सर्‍यै

जनक विष्ट जनक विष्ट
२०८१ असोज ८ गते १४:०४

८ भदौ, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल हत्या घटनामा जिल्ला अदालत कैलालीले दुई वर्षसम्म फैसला सुनाउन सकेको छैन ।

बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएपछि प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो ।

पटक–पटकको सुनवाइपछि २६ चैत २०८० मा जिल्ला अदालतका तत्कालीन न्यायाधिश विष्णुप्रसाद अवस्थीको इजलासले प्रतिवादीको बयान लिने र वादी पक्षको बकपत्र गराउने काम सकिसकेको छ ।

त्यसपछि अन्तिम सुनवाइका लागि जिल्ला अदालतले पेशी तोकेपनि कहिले जिल्ला सरकारी वकिलको कार्यालय र कहिले प्रतिवादीका कानुन व्यवसायीबाट पेशी सार्दै आएको पाइएको छ ।

जिल्ला अदालतका सूचना अधिकारी कमल घलेले तत्कालीन न्यायाधीश अवस्थीको इजलासले गत २६ चैतमा टिपोट तयार गरेर पेश गर्न आदेश दिएको तर अहिलेसम्म सुनवाइको प्रक्रियामा जान नसकेको बताए ।

उनका अनुसार पछिल्लो पटक ३० साउनमा पेशी तोकिएको थियो तर जिल्ला सरकारी वकिलको कार्यालयले स्थगित गराएको थियो । ६ महिनाको अवधिमा सरकारी वकिलको कार्यालयकाबाट तीन र प्रतिवादीका कानुन व्यवसायीको तर्फबाट चारपटक पेशी स्थगित गरेको देखिएको शाखा अधिकृत घलेले बताए ।

सरकारी वकिल कार्यालय र प्रतिवादी पक्षका कानुन व्यवसायीले पटक–पटक मुद्दाको पेशी सारेपछि मुद्दालाई कमजोर पार्ने चलखेल भइरहेको आशंका पीडित पक्षले गरेको छ । मृतकका ठूलो बुवा भगत बडुवालले प्रतिवादी पक्षले कानुन व्यवसायीमार्फत प्रशासन र अदालतलाई प्रभावित पार्ने उद्देश्यले अन्तिम फैसलामा ढिलाइ भइरहेको हुनसक्ने बताए ।

‘वकिलमार्फत चलखेल गरेर प्रशासन र अदालतलाई प्रभावित गर्न सकिन्छ कि भन्ने उद्देश्यले अन्तिम फैसला गर्न तोकिएको पेशी सार्ने काम हुँदैछ भन्ने सुनिएको छ’, बडुवालले अनलाइनखबरसँग भने, ‘तर अदालतले छिटो फैसला गरेर भुपेन्द्रको हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो ।’

तर सरकारी वकिलको कार्यालयले भने मुद्दा ठूलो भएकाले विभिन्न कारणले पेशी सार्नपर्ने अवस्था आएको बताएको छ । सहायक जिल्ला न्यायाधिवक्ता एवं सूचना अधिकारी प्रयागदत्त जैसीले ठूलो मुद्दा भएकाले कहिले अध्ययन नपुगेको त कहिले सरकारी वकिलको समय नभ्याउने जस्ता कारणले पेशी सारेको बताए ।

‘यो ठूलो मुद्दा छ, अध्ययन गरेर मात्र बहस गर्नुपर्ने हुन्छ तर कहिले अध्ययन गर्न पाइएको हुँदैन । न्यायाधीश पनि नयाँ आएका कारण कहिले उहाँहरुले अध्ययन पुगेको छैन भन्नुहुन्छ’, जैसीले अनलाइनखबरसँग भने, ‘त्यसैले पेशी सार्ने हो । अन्य कुनै कारण छैन ।’

अर्को पेशी १३ असोजमा तोकिएको छ । भइपरी आउने विशेष अवस्थाबाहेक दुवै पक्षले पेशी सार्न निवेदन दिनसक्ने अवस्था नदेखिएकाले उक्त दिन अन्तिम फैसला हुनसक्ने जिल्ला अदालतले जनाएको छ ।

बडुवालको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । उनीहरुमध्ये १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरु पुर्पक्षका लागि थुनामा छन् भने अरु फरार छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?