+
+

सुनिल पौडेलको कर चुक्ता प्रमाणपत्र नै नक्कली, किर्तेमा दर्ता भयो मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १४:५४

८ असोज, काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका तत्कालीन प्रबन्धक निर्देशक सुनिल पौडेलविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रपछि अनुसन्धान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले पौडेलले कर चुक्ता प्रमाणपत्र कीर्ते गरेको निष्कर्ष निकाल्दै जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका न्यायाधीवक्ता बिना खड्का थापाले २ साउनमा पौडेलविरुद्ध लिखतसम्बन्धी कसुरमा २ असोजमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी उजुरी परेपछि अख्तियारले पौडेलविरुद्ध अनुसन्धान अघि बढाएको थियो । सो क्रममा पौडेलको शान्तिनगरस्थित घरमा १० माघ २०८० मा अख्तियारले छापा मारेरे विभिन्न कागजातहरु बरामद गरेको थियो । बरामद कागजातहरु मध्ये केही कागजातहरु आन्तरिक राजश्व कार्यालय पुतलीसडक काठमाडौंमा जारी भएका कर चुक्ता प्रमाणपत्रहरु थिए । पौडेलका नाममा जारी भएका कर चुक्ता प्रमाणपत्रहरु ती कार्यालयबाट जारी नभएको अनुसन्धानको क्रममा खुलेको थियो ।

यस विषयमा थप अनुसन्धान गरेर कारबाही अघि बढाउन भन्दै परिसर काठमाडौंलाई कागजातसहित पत्राचार गरेको थियो । अनुसन्धानका क्रममा कर चुक्ता प्रमाणपत्रहरु पौडेलले कीर्ते गरी तयार पारेको देखिएपछि सोही अनुसार अनुसन्धान प्रतिवेदन बुझाइएको परिसरको मुद्दा शाखाका डीएसपी हरि खतिवडाले बताए ।

उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २७६ को उपदफा ३ को खण्ड (ग) को कसुर अनुसार कारबाही गर्न माग गरिएको छ । जसअनुसार सरकारी कागजात कीर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

पौडलविरुद्ध यसअघि नै सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलेको थियो । उक्त आरोपमा पौडेललाई दोषी ठहर गर्दै विशेष अदालतले ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७ रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उनी अहिले डिल्लीबजार कारागारमा छन् ।

विकलविरुद्ध पनि अर्को मुद्दा

सुनिलका भाइ विकल पौडलविरुद्ध पनि अर्को मुद्दा दायर भएको छ । सुरक्षण मुद्रणका तत्कालीन कार्यकारी निर्देशक विकलले भ्रष्टाचार गरेर कमाएको रकम हुण्डीमार्फत बाहिरी देश लगेको आरोपमा अर्को मुद्दा दायर भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) विकलले हुण्डीमार्फत रकम बाहिर पठाएको कसुरमा अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा फाइल बुझाइएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए । सीआईबीको प्रतिवेदन अध्यनन गरेपछि सरकारी वकिल कार्यालयले सोमबार मात्रै काठमाडौं जिल्ला अदालतमा राष्ट्र बैंक अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको छ ।

भ्रष्टाचारको कसुरमा अख्तियारले अनुसन्धान गर्दा विकलले हुण्डीमार्फत रकम विदेश लाने गरेको पाइएको भन्दै यसबारे अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो । सीआईबीले अनुसन्धान गर्दा हुण्डीमार्फत रकम बाहिर गएको भेटिएपछि विकलका साथै उनकी श्रीमती एलिनाविरुद्ध पनि मुद्दा दायर भएको छ ।

एक करोड ४६ लाख ६६ हजार २७८ रुपैयाँ अमेरिकामा रहेकी श्रीमती एलिनामार्फत बाहिर लगेको सीआईबीले निष्कर्ष निकालेको थियो । उक्त रकमको तीन गुणासम्म जरिवाना र ७ वर्षसम्म कैदको माग दाबी गर्दै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ ।

८ जेठ २०८१ मा विकललाई विशेष अदालतले भ्रष्टाचारको कसुरमा दोषी ठहर गरेको थियो । टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख विगो भराउने फैसला गरेको थियो । विकल पनि अहिले कारागारमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?