+
+

सुर्खेतको वीरेन्द्रनगरमा अब डाक्टरले गर्नेछन् गर्भवतीलाई फोन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १६:३६
‘हेलो गर्भवती आमा’ कार्यक्रम शुभारम्भ कार्यक्रममा मेयर मोहनमाया ढकाल ।

८ असोज, सुर्खेत । गर्भवती तथा सुत्केरीलाई घरबाटै स्वास्थ्य सेवा दिन सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ‘हेलो गर्भवती आमा’ कार्यक्रम सुरु गरेको छ ।

यो कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरीलाई दक्ष स्वास्थ्यकर्मीद्वारा फोनमार्फत आवश्यक सल्लाह, सुझाव र परामर्श दिइने मेयर मोहनमाया ढकालले बताइन् ।

यो कार्यक्रमले पहिलो पटक आमा बन्न लागेका महिलालाई आत्मबल दिने मेयर ढकालको भनाइ छ । ‘पहिलो पटक गर्भवती हुँदा महिलाहरूमा धेरै दुविधा हुन्छ । मनमा धेरै प्रकारका खुल्दुली हुन्छन्’, उनले भनिन्, ‘दक्ष स्वास्थ्यकर्मीहरुले आमाहरूमा देखिएको खुल्दुली मेटाउनुहुनेछ । आमाहरूलाई आत्मबल बढाउने काम गर्नुहुनेछ ।’

गर्भवती अवस्थामा गर्नुपर्ने नियमित स्वास्थ्य जाँचबाट छुट्न सक्ने सम्भावित महिलाको बच्चाको स्वास्थ्यमा समस्या नहोस् भन्ने हेतुले ‘हेलो गर्भवती आमा’ कार्यक्रम मार्फत उनीहरूलाई सम्पर्क गरिने मेयर ढकालको भनाइ छ ।

नगरपालिकाले यसअघि चार पटकसम्म गरिने गर्भवती जाँचमा आउने महिलालाई प्रोत्साहन स्वरूप १ हजार र निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको थियो । तर, सरकारी नियम अनुसार हाल गर्भावस्थामा आठ पटक स्वास्थ्य जाँच गर्नुपर्नेमा अधिकांश गर्भवती नआएपछि नयाँ कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

यो कार्यक्रमबाट आर्थिक रूपमा विपन्न महिलाले आवश्यकताका आधारमा घरबाटै सेवा लिन सहज हुने अपेक्षा राखेको मेयर ढकालले बताइन् ।

गर्भवतीले नियमित गर्भजाँच, रगत जाँच, भिडियो एक्सरे, पिसाब तथा आवश्यक जाँच, खोप, पोषण तथा सरसफाइका बारेमा चिकित्सकले टेलिफोन मार्फत दिनेछन् । गर्भवती अवस्थामा देखापर्ने खतराका चिह्नहरू, प्रसूतिपूर्वको तयारी र अन्य स्वास्थ्य सेवाहरू पनि अब उनीहरुलाई टेलिफोनबाटै दिइने मेयर ढकालले बताइन् ।

‘हेलो गर्भवती आमा’ कार्यक्रम सोमबार वीरेन्द्रनगर–२ स्थित शहरी स्वास्थ्य केन्द्र दौलतपुरबाट सेवारम्भ गरिएको छ । यो सेवा अब वीरेन्द्रनगरका १६ वटै वडाका स्वास्थ्य केन्द्रमा पनि सुरु हुनेछ ।

१६ वटै वडामा रहेका गर्भवतीको पूर्ण विवरण स्वास्थ्य स्वयंसेविकाको माध्यमबाट स्वास्थ्य केन्द्रहरूमा राखिएको छ । सोही विवरण हेरेर प्रत्येक हप्ता दक्ष स्वास्थ्यकर्मीले गर्भवतीहरुलाई टेलिफोन गर्नेछन् ।

वीरेन्द्रनगर नगरपालिकामा हाल करिब ५ हजार गर्भवती रहेको अनुमान छ । नगरपालिकाका १६ वटा वडामा २० वटा स्वास्थ्य केन्द्रहरू छन् । सुत्केरी हुनका लागि बर्थिङ सेन्टरसम्म जान नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिएको वीरेन्द्रनगर नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख भूपेन्द्रदेव गिरी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?