
८ असोज, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले गठन गरेको छानबिन समितिले दुई प्रहरी अधिकारीमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको छ ।
मुद्दा मिलाइदिने भन्दै लेनदेन गरेको आशंकामा छानबिन गर्दा कैफियत देखिएपछि गठित काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी नेतृत्वको समितिले मुद्दा शाखाका प्रहरी सहायक हवल्दार गणेश खड्का र प्रहरी जवान साजन शर्मामाथि प्रचलित कानुन अनुसार कारबाही अघि बढाउन सिफारिस गरेको छ ।
त्यसको आधारमा कारबाही प्रक्रिया अघि बढाएर जानकारी गराउन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई निर्देशन दिइएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेले जानकारी दिए ।
उनका अनुसार, समितिले प्रहरी निरीक्षक प्रतीक सिंहलाई पनि सचेत गराउन सिफारिस गरेको छ । ‘उहाँको कुनै गल्तीभन्दा पनि मानवीय त्रुटि भएकाले सचेत गराउने भन्ने उल्लेख छ’, उनले भने ।
काठमाडौंका एसएसपी वसन्त रजौरेका अनुसार, मुद्दा मिलाइदिन्छु भनेर ठगी गरेको भन्दै केही व्यक्तिविरुद्ध जाहेरी परेको थियो । ती व्यक्तिहरुसँग खड्काको सम्बन्ध भएको आशंकामा नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको थियो ।
प्रारम्भिक जाँचमा खड्काले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक जनालाई बोलाएर कम्तीमा ५० लाख रुपैयाँको लेनदेन गरेको हुनसक्ने देखिएको अधिकारीहरु बताउँछन् । ती व्यक्ति छुटेर विदेश पुगेपछि परिवारका सदस्यहरुले लेनदेनबारे सूचना दिँदा यो मामिला बाहिर आएको थियो ।
यो प्रकरणमा छानबिन गर्न काठमाडौंका एसपी अधिकारीको नेतृत्वमा डीएसपी प्रल्हाद कार्की, प्रहरी निरीक्षक सुरज खड्का र प्रहरी वरिष्ठ नायब निरीक्षक विष्णु खतिवडा सदस्य रहेको छानबिन समिति बनेको थियो ।
समितिले सोमबार अपराह्न प्रतिवेदन बुझाएपछि थप कारबाही प्रक्रिया अघि बढेको जनाइएको छ ।
प्रतिक्रिया 4