+
+

छविलालको बयानपछि सहकारी ठगी प्रकरणमा के गर्दैछ प्रहरी ?

संसदीय प्रतिवेदन कार्यान्वयनकै क्रममा गोर्खा मिडियाका एक सन्चालक जोशी समातिइसकेका छन् । समितिले मिडियाका अरु सञ्चालक जीबी राई, रवि लामिछानेलाई समेत कारबाही सिफारिस गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते २०:५७

८ असोज, काठमाडौं । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनपछि सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

जिल्ला प्रहरी कास्कीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न १० दिनको म्याद माग गरे पनि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।

छविलाई हिरासतमा लिएर अनुसन्धान गर्न म्याद पाएसँगै प्रहरीलाई अब छविविरुद्धको अनुसन्धान प्रक्रिया अघि बढाउने बाटो खुल्ला भएको छ । तर छविसँगै कारबाही सिफारिस भएका रवि लामिछानेविरुद्ध भने प्रहरीले अहिलेसम्म कुनै प्रक्रिया अघि बढाएको छैन । सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले छवि रविसहित गोर्खा मिडिया प्रालिका सञ्चालक चार जनालाई कारबाही गर्न सिफारिस गरेको थियो ।

समितिको उक्त प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेपछि आइतबार मात्रै गृहमन्त्री रमेश लेखकले प्रतिवेदन कार्यान्वयनका लागि भन्दै प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई निर्देशन दिएका थिए । लगत्तै छविलाई शंखमुलबाट काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले जरुरी पक्राउ पूर्जी थमाउँदै पक्राउ गरेको थियो ।

उनै छविविरुद्ध कारबाही सिफारिस भएकामध्ये पोखराको सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल २५ भदौ २०८० मा काठमाडौंबाट पक्राउ परेका थिए । उनी अहिले पुर्पक्षमा कास्की कारागारमा छन् । उनीबाहेक तीन जना भने कारबाहीको दायरामा आएका छैनन् ।

सहकारीका अध्यक्ष तथा गोर्खा मिडियाका सञ्चालक जीबी (गितेन्द्रबाबु) विरुद्ध मुद्दा दर्ता भए पनि उनी फरार छन् ।

यसबाहेक समितिले पूर्वडीआईजी तथा गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालकमध्ये छवि र गोर्खा मिडियाकै पूर्वशेयर सदस्य तथा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने समेत कारबाही गर्न समितिले सिफारिस गरेको थियो ।

छवि पक्राउ परेपछि नै रवि पक्राउ गर्न लागिएको भन्दै रास्वपाका कार्यकर्तालाई आइतबार साँझ पार्टी कार्यालय आउन भनिएको थियो ।

रास्वापाले रवि पक्राउ परे त्यसको प्रतिवाद गर्ने समेत जनाएको छ । रविले मंगलबार भिडियो लाइभ गर्दै आफूले छानबिन समितिको सिफारिस कार्यान्वयन गर्न तयार भएको भन्दै आफूविरुद्ध राजनीतिक षड्यन्त्र भएको आशय व्यक्त गरेका छन् । उनले कानुनी दायरालाई घुमाउरो ढंगले चुनौती दिनेगरी प्रस्तुत हुँदा सफाइको मौका लिन अदालत वा अर्को विधिवत बाटो भने अपनाएका छैनन् ।

रवि अहिले नै पक्राउ परिहाल्ने अवस्था नभएको प्रहरी अधिकारीहरु बताउँछन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले भने अहिले कुनै प्रक्रिया अघि नबढेको बताउँछन् । ‘पहिलो कुरा त औपचारिक रुपमा हामी कहाँ प्रतिवेदन आइसकेको छैन ।

प्रतिवेदन आएपछि अध्ययन गरेर अनुसन्धानको क्रममा केही खुलेमा प्रक्रिया अघि बढ्ने हो’, डीआईजी कार्कीले अनलाइखबरसँग भने ।

प्रतिवेदन अध्ययन नगरे पनि डीआईजी जोशीको हकमा भने विदेश भाग्न लागेको भन्दै प्रहरीले जरुरी पक्राउ पूर्जी दिएर पक्राउ गरेको थियो ।
यता अनुसन्धान गरिरहेको प्रहरीले पनि अहिले ने रविलाई पक्राउ गरिहाल्ने तयारी गरेको छैन ।

कास्की प्रहरीका प्रमुख तथा एसपी मोहन थापाका अनुसार रविविरुद्ध पक्राउ पूर्जी जारी भएको छैन । उनी भन्छन्, ‘प्रतिवेदनका आधारमा जोशीबाहेक थप व्यक्तिविरुद्ध अहिलेसम्म पक्राउ पूर्जी लिइएको छैन ।’ कास्की प्रहरीले रविविरुद्ध अहिले नै पक्राउ पूर्जी नलिए पनि छविको बयानको पछि भने रविको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

‘रवि लामिछाने सेयर होल्डर र म्यानेजिङ डाइरेक्टर भएर ग्यालेक्सी फोरके टेलिभिजनमा सर्वेसर्वा हुनुभयो । यो रकम कुन प्रयोजनका लागि कसरी आयो भन्ने विषय बोर्डको मिटिङ, माइन्युट र सरसल्लाह केही भएन,’ जोशीले बयानमा भनेका थिए ।

प्रहरी स्रोतका अनुसार डीआईजी जोशीको बयान लिएपछि रविमाथिको अनुसन्धानमा थप सहजता हुने र अनुसन्धानमा सहयोग गर्न उनी स्वयं दबाबमा पर्ने बुझाई प्रहरीको छ । अर्कोतर्फ भने एउटै आरोपमा आफू पक्राउ गर्दा अर्का व्यक्तिलाई उन्मुक्ति दिएको भन्दै छविले समेत यसको विरोध गर्ने वा बयानमा लामिछानेको कुनै संलग्नता रहे खुलाउन सक्ने भएकाले छविको बयानपछि मात्रै रविको कारबाही प्रक्रिया अघि बढाउने तयारी प्रहरीको छ ।

त्यसो छविले प्रारम्भिक बयानका क्रममा सहकारी अपचलन र गोर्खा मिडियामा आएको रकमबारे जीबी र रवि नै जानकार रहेको बताएका थिए । प्रहरी स्रोतका अनुसार भन्छ, ‘उहाँले गोर्खा मिडियामा आएको रकमबारे आफूलाई कुनै जानकारी नै नभएको दाबी गर्नु भएको छ । जीबी र रविलाई सबै थाहा भएको उहाँको भनाइ छ ।’

प्रहरीको प्रारम्भिक सोधपुछको क्रममा छविले उक्त कुरा बताए पनि सरकारी वकिल समक्ष बयान नगराई त्यसलाई प्रमाणको रुपमा लिन मिल्दैन । जसकारण सरकारी वकिलसमक्ष छविको बयान गराएपछि मात्रै त्यसका आधारमा रविमाथिको प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।

त्यसो त छविले यसअघि संसदीय छानबिन समितिमा समेत गोर्खा मिडियाबारे सम्पूर्ण जानकारी रविलाई नै भएको दाबी गर्दै बयान दिएका थिए ।

‘रवि लामिछाने सेयर होल्डर र म्यानेजिङ डाइरेक्टर भएर ग्यालेक्सी फोरके टेलिभिजनमा सर्वेसर्वा हुनुभयो । यो रकम कुन प्रयोजनका लागि कसरी आयो भन्ने विषय बोर्डको मिटिङ, माइन्युट र सरसल्लाह केही भएन,’ जोशीले बयानमा भनेका थिए ।

बयानपछि मात्रै कारबाही अघि बढाउने तयारी गर्नुले थप प्रमाण जुटाउने र बलियो भएपछि मात्रै कारबाही अघि बढाउने प्रहरीको तयारी हुनसक्ने पूर्वडीआईजी हेमन्त मल्लको बुझाई छ । यो सँगसँगै राजनीतिक बार्गेनिङ पनि हुनसक्ने सम्भावनालाई उत्तिकै संकाको रुपमा हेर्नुपर्ने उनी बताउँछन् ।

मल्लले भनेझैं मंगलबार फेसबुक लाइभमा बोल्ने क्रममा रविले आफू गोर्खा मिडियाको व्यवस्थापनमा छँदाको जिम्मेवारीबाट भाग्न नमिल्ने भन्दै आफूले गरेको गलत निर्णयहरुको स्वीकारोक्ति पनि गरेका छन् ।

‘थप म्याचुअर्ड भएर बलियो भएपछि प्रक्रिया अघि बढाउने रणनीति हुन पनि सक्छ’ पूर्वडीआईजी मल्लले भने, ‘अथवा यसमा कतै राजनीतिक बार्गेनिङ त भइरहेको छैन भनेर पनि संका गर्नुपर्ने हुन्छ ।’

के छ रविविरुद्ध आरोप ?

रवि गोर्खा मिडिया प्रालिको प्रबन्ध निर्देशक भएको १४ महिना अवधिमा सूर्यदर्शनसहितका ५ वटा सहकारीको ६५ करोड रकम गोर्खा मिडियामा अपचलन भएको प्रतिवेदनमा उल्लेख छ । सहकारीको ६५ करोड रुपैयाँ लयाउनमा लामिछाने प्रत्यक्ष संलग्न नदेखिए पनि गैरकानुनी रुपमा आएको रकम खर्च गर्नमा भने लामिछाने संलग्न रहेको, उनले त्यसको स्रोतबारे कुनै जिम्मेवारीसमेत नदेखाएको समितिको निष्कर्ष छ ।

‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तबरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रुपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अहिले कारबाही सिफारिस भएकाहरु मध्ये जीबी फरार छन् । रम्तेल कारागारमा छन् भने रवि र छविमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले यसअघि नै बयान लिइसकेको थियो । ८ भदौमा छविसँग बयान लिएको कास्की प्रहरीले १० भदौमा रविसँग बयान लिएको थियो ।

त्यतिबेला गोर्खा मिडिया नेटवर्कको कार्यालय र नेचर नेक्स्ट र नेचर हबको कार्यालयमा समेत खानतलासी कास्की प्रहरीले गरेको थियो ।

कास्की प्रहरीका डीएसपी वसन्तकुमार शर्माको टोलीले उनीहरुसँग बयान लिएर गएको थियो । तर त्यतिबेला कास्की प्रहरीले संसदीय छानबिन समितिको प्रतिवेदन नआई केही गर्न नमिल्ने भन्दै बाँकी प्रक्रिया अघि बढाएको थियो ।

अहिले प्रतिवेदन कार्यान्वयका लागि निर्देशन आए पनि छविको बयानपछि मात्रै रविमाथि अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?