+
+

प्रचण्ड-रवीन्द्र संवादप्रति बाबुरामको टिप्पणी- बिरालो म्याउ गरिछाड्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते २२:१६

८ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीचको संवाद बारे टिप्पणी गरेका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत् डा. भट्टराईले आफ्ना पूर्वसहकर्मी प्रचण्डले राजतन्त्रप्रति नरम अभिव्यक्ति दिएको रवीन्द्र मिश्रको दाबीलाई लिएर प्रतिक्रिया दिएका हुन् । ‘माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखिजान्ने सबैलाई थाहा छ अहिले बिरालो म्याँउ गरेकै हो, किनकि प्रचण्डको वास्तविकता त्यही हो,’ उनले भनेका छन् ।

युद्धताका माओादीभित्र प्रचण्ड र बाबुराम भट्टराईबीच राजतन्त्रसँग सहकार्य गर्ने कि संसदवादी दलसँग सहकार्य गर्ने भन्ने बारेमा चर्को विवाद थियो । भट्टराईले संसदवादी दलसँग मिलेर राजतन्त्रविरुद्ध संघर्ष केन्द्रित गर्नुपर्ने र प्रचण्डले राजतन्त्रसँग मिलेर संसदवादीविरुद्ध संघर्ष केन्द्रित गर्नुपर्ने लाइनका पक्षमा वकालत गरेको माओवादीकै कतिपय शीर्ष नेताहरूले बताउँदै आएका छन् । यहीक्रममा तत्कालीन संस्थापन अर्थात् प्रचण्ड पक्षलाई राजापरस्तको आरोप लाग्ने गरेको थियो ।

मंगलबार बिहानको भेटमा मिश्रले प्रचण्डको भनाइ उद्धृत गर्दै भनेका छन्, ‘द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पूरै नकारात्मक थिए, म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।’

भट्टराईले ‘गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट नभएर नेपाली शोषितपीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको’ उल्लेख गरेका छन् । उनले चेतावनीको शैलीमा भनेका छन्, ‘केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धीहरू खोसिन सक्दैनन्, खोस्न दिनु हुँदैन !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?