+
+

नेपालतिर सोहोरियो पानी पार्ने प्रणाली, विपत्तिको जोखिम

केही स्थानमा २४ घण्टाको अवधिमा चार सय मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ । यसले दशैंको मुखमा बाढी, पहिरो र डुबानको समस्या ल्याउने खतरा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते ८:१८

९ असोज, काठमाडौं । मौसमविदले नेपालभर जारी मनसुन अवधिकै भीषण वर्षाको सम्भावना औंल्याएका छन् । त्यसैले विहीबारदेखि आइतबारसम्म उच्चसतर्कता अपनाउनुपर्ने उनीहरुको सुझाव छ ।

वरिष्ठ मौसमविद् एवम् त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक डा. विनोद पोखरेलका अनुसार नेपालका केही स्थानमा चार सय मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ । यसले दशैंको मुखमा बाढी, पहिरो र डुबानको समस्या ल्याउने खतरा छ ।

बंगालको खाडी र अरब सागर दुवैतर्फबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले अत्यधिक वर्षाका लागि अनुकूल वातावरण बनेको छ । साथै यस वर्ष अत्यधिक गर्मी भएकाले वायुमण्डलमा न्युनचापीय क्षेत्र विकास भएको छ ।

न्युन चापीय क्षेत्र भन्नाले हावाको चाप कम भएको र वर्षा गराउने बादल बनेको क्षेत्र भनेर बुझिन्छ । अहिले यो क्षेत्र अधिक गहिरो (जमिनको सतहदेखि वायुमण्डलको मध्यक्षेत्रसम्म फैलिएको) छ । त्यसैले मौसमविदले भिषण वर्षाको प्रक्षेपण गरेका हुन् ।

‘बंगालको खाडी र अरब सागर दुवैतर्फबाट जलवाष्पयुक्त वायु नेपाल आइरहेको छ,’ मौसमविद पोखरेलले अनलाइनखबरसँग भने, ‘अर्कोतर्फ यस वर्षको मनसुन अवधिमै तापक्रम अधिक छ, जसलाई सामान्य मान्न सकिँदैन । त्यसैले मौसम पूर्वानुमानका तीनवटै मोडेलले अत्यधिक वर्षाका लागि अनुकूल वातावरण बनेको देखाएको छ ।’

उनका अनुसार नेपालका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । केही स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना छ । उनले भने, ‘नेपालभरि यो मनसुन अवधिकै भिषण वर्षाको सम्भावना रहेकाले बिहीबारदेखि आइतबारसम्म सचेत रहनुपर्छ ।’

२७ जिल्ला उच्च जोखिमको सूचीमा

जल तथा मौसम विज्ञान विभागले असोज ७ गते विशेष बुलेटिन जारी गरेर असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कताका लागि सूचना जारी गरेको थियो ।

प्रक्षेपण अनुसार नै नेपालका धेरै स्थानमा वर्षा भइरहेको छ । यो वर्षाको मात्रा र क्षेत्र दुवै थप बढ्दै जाने छ ।

महाशाखाका मौसमविद गोविन्द झाले यो वर्षाले विपदको जोखिम निम्त्याउने सम्भावना भएकाले उच्च सतर्कता आवश्यक रहेको बताए । ‘जलवाष्पयुक्त वायुको बहाव हेर्दा अरब सागर र बंगालको खाडी दुवैतिरको हावा नेपालतिर सोझिएको छ । यसले गर्दा बुष्टअप भइरहेको छ,’ मौसमविद झाले भने, ‘त्यसैले अहिलेको वर्षाले कृषिकर्म, यातायात र पर्यटन क्षेत्र बढी प्रभावित हुने सम्भावना रहेकाले उच्च सतर्कता आवश्यक छ ।’

महाशाखाले यो वर्षाबाट अत्यधिक प्रभावित हुनसक्ने भनेर २७ जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ । यसैगरी ४२ जिल्ला मध्यम जोखिमको सूचीमा छन् ।

महाशाखाले कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीलाई रातो रङ्गले संकेत गरेर उच्च जोखिमको राखेको छ ।

यस्तै लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ ।

कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी जिल्ला पनि उच्च जोखिमको रेड जोनमा छन् ।

हेर्नुहोस् उच्च, मध्यम र न्यून जोखिमको सूची-

मौसमविदहरुका अनुसार आज कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विहीबार कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ ।

मध्यपहाड र तराई क्षेत्रमा भारी वर्षा हुने सम्भावना देखिन्छ । शनिबार र आइतबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बढी प्रभाव पर्ने सम्भावना छ ।

शुक्रबार कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । शुक्रबार नै कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अती भारी वर्षा हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?