+
+

मधेश सरकारको १०० दिनको उपलब्धि : १ लाख ५० हजार टन मल वितरण, क्रिकेट रंगशालाको डीपीआर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १२:५२

९ असोज, जनकपुरधाम । मधेश प्रदेश सरकारले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ ।

बुधबार बिहान पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सतिशकुमार सिंहले आफू मुख्यमन्त्री बनेको १०० दिनमा प्रदेशको आर्थिक, सामाजिक, खेलकुद, शिक्षा, कृषि, स्वास्थ्य र श्रम बजार जस्ता क्षेत्रमा सुधार भएको दाबी गरेका छन् ।

मधेश सरकारले श्रम बजार सुधारका लागि दुई सय कम्पनीलाई लक्षित गरी व्यापक सर्वेक्षण गरेको र बेरोजगार जनशक्तिलाई आवश्यक तालिम दिएर रोजगारी सिर्जना गर्न पहल थालेको जनाएको छ ।

यातायात क्षेत्रमा सुधार, सवारीचालक अनुमतिपत्र समस्याहरू समाधान गरेको, सवारी साधन अभिलेखको डिजिटलाइजेसनले सेवा छरितो र प्रभावकारी भएको पनि मधेश सरकारले आफ्नो उपलब्धिमा उल्लेख गरेको छ ।

कमला नदीको बाढीका कारण बगर बनेका १५ हजार बिघा जमिनलाई कृषिमा उपयोग गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी भइरहेको मुख्यमन्त्री सिंहले बताए ।

१ लाख ५० हजार मेट्रिक टन रासायनिक मलको समयमै वितरण गरिएको, भेटेरीनरी सेवा र मत्स्य उत्पादनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याइपछि ५० हजारभन्दा बढी किसान लाभान्वित भएको उनको भनाइ छ ।

जनकपुरधाममा अन्तर्राष्ट्रिय  क्रिकेट रंगशालाको डीपीआर, खेलाडी र प्रशिक्षकहरूको प्रोफाइल तयार पार्दै खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउने योजना अघि सारिएको दाबी गरिएको छ ।

मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानमा ३ सय बेड थप गरिएको र एमबिबिएस कार्यक्रमका लागि ५० सिट आरक्षित गरिएको पनि सरकारको उपलब्धिमा उल्लेख छ ।

विभिन्न अस्पतालहरूमा उपकरणहरू वितरण र स्तरोन्नति गर्दै स्वास्थ्य सेवा सुधारका लागि ४ सयभन्दा बढी दरबन्दी सिर्जना गरिएको पनि मुख्यमन्त्री सिंहले बताए ।

प्रदेश सरकारले व्यापार व्यवसाय सम्बन्धी विद्येयक, २०८० पेश गर्ने तयारी गरेको र बजार अनुगमन निर्देशिका निर्माण गरी उपभोक्ता हितलाई सुनिश्चित गर्दै घरेलु तथा साना उद्योगलाई प्रोत्साहन दिन सीप विकास तालिम सञ्चालन गरिएको छ। सिमेन्ट उद्योगहरूको कर अनुगमन गर्दै राजस्व वृद्धि गर्ने योजना अघि सारिएको उपलब्धिमा समावेश गरिएको छ ।

लागुऔषध दुर्व्यसनमुक्त अभियानअन्तर्गत सुधार केन्द्रको स्थापना गरिएको र सुरक्षासम्बन्धी निकायहरूलाई सबलीकरण गर्न आवश्यक सामग्रीहरू प्रदान गर्दै, अपराध नियन्त्रणमा योगदान पुर्‍याइएको उल्लेख छ ।

यस्तै भौतिक पूर्वाधार तर्फ एक निर्वाचन क्षेत्र एक पक्की पुल निर्माणको लागि ठेक्का प्रक्रिया अघि बढाइएको उपलब्धिमा छ ।

यस्तै प्रदेशको विभिन्न सार्वजनिक स्थलमा स्थलमा ८७५ हेक्टरमा वृक्षरोपण गरिएको पनि उपलब्धिमा समावेश गरिएको छ ।

हेर्नुहोस् उपलब्धिको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?