
काठमाडौं । बाढीले सेट बगाउँदा मुस्ताङको कागबेनी क्षेत्रमा भइरहेको फिल्म ‘एक्लो’को छायांकन रोकिएको छ । कार्यकारी निर्माता विनोद सुवेदीका अनुसार बाढीले सेटमा क्षति पुर्याउँदा आर्थिक नोक्सान पनि पुगेको छ ।
अहिले त्यहाँ ४० लाख रुपैयाँ मूल्य बराबरको सेट बनाएर फिल्म छायांकन भइरहेको जनाइएको छ । एक साता रोकिएको सुटिङ सेटको पुननिर्माणपछि पुनः सुरु भएको सुवेदीले जनाए ।
लोमान्थाङ गाउँपालिकामा छायांकनपछि अहिले कागबेनी क्षेत्रमा छायांकन भइरहेको हो । प्रदीप शाहीले निर्देशन गरिरहेको यो फिल्ममा प्रदीप खड्का, जेमी बेकन, वेनिशा हमाल, विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, कविता नेपाली लगायतको अभिनय छ ।
यो साइन्स-फिक्सन फिल्ममा बेलायती अभिनेता बेकनले अन्तरिक्षयात्रीको भूमिका निर्वाह गरिरहेका छन् । खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरिक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास–ल्यान्डिङ गर्छन् ।
तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाडबीचमा रहेको गुफाभित्र लुकेको सहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो ।
मुस्ताङमा यो फिल्मको ६० प्रतिशत छायांकन सकिएको छ । जसमध्ये १० प्रतिशत छायांकन काठमाडौंमा गर्ने तयारी छ ।
प्रतिक्रिया 4